हर्क साम्पाङको स्पष्टोक्ति-डेढ वर्षदेखि नधोएको कोट लाएर जाँदाम बेलायती झण्डाको पिन हटाउनै भुलेछु
चैत १३, २०८२ ९:३४
काठमाडौँ । नवनिर्वाचित सांसद एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले बिहीबारको शपथ ग्रहण समारोहमा लगाएको ‘नेपाल-बेलायत क्रस झण्डा’को पिनलाई लिएर भएको आलोचनाबारे स्पष्टीकरण दिएका छन् । निर्वाचनअघि आफ्ना विपक्षीलाई ‘विदेशी दलाल’को संज्ञा दिँदै आएका साम्पाङले शपथ ग्रहणकै दिन आफ्नै कोटमा बेलायती र नेपाली झण्डा क्रस भएको ब्याच (पिन) लगाएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।
आलोचना बढेपछि शुक्रबार एक भिडिओ सन्देशमार्फत साम्पाङले आफूले लगाएको कोट डेढ वर्षदेखि सफा नगरेको (ड्राई क्लिनमा नदिएको) र बेलायत भ्रमणका क्रममा गोर्खा सैनिकले लगाइदिएको पिन फुकाल्न बिर्सिएर त्यही कोट लगाएर गएको प्रस्टिकरण दिएका छन् ।
“म त कहिले पनि कोट, टाई, सुट लगाएर हिँड्ने मान्छे होइन । तर, शपथ ग्रहणको दिन समारोहको गरिमालाई इज्जत गर्नुपर्छ भनेर कोट लगाएर गएको हुँ,” साम्पाङले भिडिओमा भनेका छन्, “यो कोट मैले डेढ वर्षभन्दा बढी भयो ड्राई क्लिनर्समा नदिएको । पहिला यूके जाँदा त्यहाँ रहनुभएका गोर्खा सैनिक दाजुभाइहरूले सम्मानस्वरूप यो झण्डा र ‘पप्पी डे’ को फूल लगाइदिनुभएको थियो । मलाई कसले के लगाइदिन्छ भन्ने त्यति वास्ता पनि हुँदैन । मैले फुकालेको थिइनँ । जे थियो त्यही लगाएर गएँ ।”
आफू बनावटी मान्छे नभएको र जीवन नै सार्वजनिक सेवामा समर्पण गरेको उल्लेख गर्दै उनले स-साना र अनावश्यक कुरामा मिडिया र आलोचकले इस्यु बनाएको भन्दै असन्तुष्टि पोखेका छन् । पत्रकारप्रति लक्षित गर्दै उनले भनेका छन्, “बडो हाँसो उठ्छ । साना-साना कुराहरू पनि चियाएर हेरिराख्ने रहेछन् । म हलभित्र बस्दा मोबाइल हेर्यो भनेर समाचार आयो । तर बालेनजी र रविजीको कारणले गर्दा खेरि शपथ ग्रहण १२ मिनेट ४६ सेकेन्ड ढिलो भएको कुरा कसैले लेखेनन् ।”
उनले लुगा र पहिरनभन्दा पनि आफूले संसदमा उठाउने मुद्दालाई प्राथमिकतामा राखेर हेर्न आग्रह गरेका छन् ।
“सदनमा थोत्रो लुगा लाएर गयो कि नयाँ, निलो लगाएर गयो कि रातो भन्ने कुरामा भुल्ने होइन,” साम्पाङले अगाडि भनेका छन्, “भोलि हामीले त्यहाँ कस्ता कुराहरू उठाउँछौँ ? राष्ट्रियताको सवालमा, स्वाधीनताको सवालमा, विकास र सुशासनको सवालमा, त्यो पो हेर्ने हो त ! हामी सबै बराबर हौँ, कसैले कसैलाई भक्तिभाव गर्दै राजा-महाराजालाई जस्तो दाम चढाउनु पर्दैन ।”
आफू शपथ ग्रहण लगत्तै टोखास्थित सुकुम्वासी बस्तीको निरीक्षणमा गएको तर त्यसको समाचार नबनेकोमा उनले गुनासो गरे । पत्रकारहरू फटाहा र बिकाउ हुन नहुने भन्दै उनले सबैलाई अनावश्यक भ्रममा नपरी रचनात्मक काममा लाग्न सुझाव समेत दिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८२ ९:३४
