close

यसरी बढाउनुहोस् फेसबुक मनिटाइजेसनबाट हुने आम्दानी

टेकपाना टेकपाना

चैत १७, २०८२ ११:१५

यसरी बढाउनुहोस् फेसबुक मनिटाइजेसनबाट हुने आम्दानी

काठमाडौँ । मेटाले फेसबुकमा केन्टेन्ट क्रियटरहरूलाई आफ्नो आम्दानी र इङ्गेजमेन्ट बढाउन नयाँ टिप्स सार्वजनिक गरेको छ । मेटाले आफ्नो कन्टेन्ट मनिटाइजेसन कार्यक्रममार्फत क्रियटरहरूलाई थप प्रोत्साहन गर्ने लक्ष्यका साथ मार्गदर्शन ल्याएको छ ।

मेटाको कन्टेन्ट मनेटाइजेसन कार्यक्रम हाल इन्भाइट-अन्ली आधारित (Invite-only) छ । यद्यपि जोसुकैले पनि फेसबुक मोबाइल एपमा रहेको प्रोफेसनल ड्याशबोर्ड (Professional Dashboard) मार्फत यस कार्यक्रममा सामेल हुन आफ्नो रुचि जाहेर गर्न सक्छन् । यो कार्यक्रमले रिल्स, स्टोरी, तस्बिर र टेक्स्ट पोस्टहरू शेयर गर्ने मौलिक क्रियटरहरूलाई पुरस्कृत गर्ने लक्ष्य राखेको छ ।

यसैगरी अन्य प्लेटफर्ममा स्थापित भइसकेका तर फेसबुकमा नयाँ रहेका क्रियटरहरूका लागि मेटाले Creator Fast Track कार्यक्रम ल्याएको छ । जसले उनीहरूलाई फेसबुकमा छिटो स्थापित हुन र आम्दानी सुरु गर्न मद्दत गर्नेछ ।

अहिलेको समयमा मेटाको मुख्य केन्द्रविन्दु रिल्स बनेको छ । तथ्याङ्क अनुसार सन् २०२५ मा फेसबुकले क्रियटरहरूलाई भुक्तानी गरेको करिब ३ अर्ब डलरमध्ये ६० प्रतिशत हिस्सा रिल्स सामग्रीले मात्र ओगटेको छ । त्यसैले फेसबुकबाट आम्दानी गर्न चाहनेहरूका लागि रिल्स सबैभन्दा बलियो माध्यम भएको देखिन्छ ।

विभिन्न प्रकारका सामग्री परीक्षण गर्नुहोस्

क्रियटरहरूले रिल्स, स्टोरी, फोटो र टेक्स्ट पोस्टहरू पोस्ट गरेर आफ्ना भ्युअरलाई कुन कुराले बढी आकर्षित गर्छ भन्ने परीक्षण गर्नुपर्ने हुन्छ । यद्यपि रिल्स बढी प्रभावकारी देखिए पनि अन्य फर्म्याटहरू पनि पछ्याइ रहन मेटाको सुझाव छ ।

मौलिक सामग्री निर्माणमा ध्यान दिनुहोस्

मेटाको सिस्टमले मौलिक सामग्रीलाई प्राथमिकता दिन्छ । विशेष गरी क्रियटरहरूको आफ्नै दृष्टिकोण र मौलिकता झल्किने सामग्रीले बढी रिच पाउँछन् ।

इङ्गेजमेन्ट बेटबाट बच्नुहोस्

'भिडिओ अन्तिमसम्म हेर्नुहोस्' जस्ता प्रलोभन देखाउने वाक्यांशहरू प्रयोग नगर्न मेटाले सचेत गराएको छ । यदि भिडिओको अन्त्यमा साँच्चिकै कुनै अर्थपूर्ण कुरा छैन भने यस्ता शब्दहरूको प्रयोगले नकारात्मक असर पार्न सक्छ ।

फेसबुकका दर्शक अनुसारको सामग्री बनाउनुहोस्

आफ्ना दर्शकहरूले के भनिरहेका छन् र कस्ता सामग्रीले राम्रो प्रदर्शन गरिरहेका छन् भन्ने कुरा कमेन्ट र एनालिटिक्समार्फत नियाल्नुपर्छ ।

योग्य भ्युज (Qualified Views) र वाचटाइम बढाउने कुरा ख्याल गर्नुहोस्

सबै भ्युजलाई मनिटाइजेसनमा गणना गरिँदैन । मेटाले 'रिपिट भ्युज' अर्थात् एकै व्यक्तिले एउटै सेसनमा बारम्बार हेरेको र ५ सेकेन्डभन्दा छोटा भ्युजलाई गणना गर्दैन । त्यसैले क्रियटरले भिडिओको लम्बाइमा परीक्षण गर्दै धेरै दर्शकलाई लामो समयसम्म अड्याइराख्ने प्रयास गर्नुपर्छ ।

कन्टेन्टको कूल लम्बाइ १० सेकेन्डभन्दा कम छ भने पनि उक्त कन्टेन्ट आम्दानीका लागि योग्य मानिँदैन । यसैगरी पब्लिक नगरिएका वा प्राइभेट सेटिङमा रहेका कन्टेन्टमा आएको भ्युजको पैसा फेसबुकले दिँदैन ।

आफूले स्वामित्व नलिएको अर्को फेसबुक पेजबाट क्रसपोस्ट गरिएका कन्टेन्टको भ्युज पनि मनिटाइजेसनमा गणना हुँदैन । यद्यपि इन्स्टाग्रामबाट क्रसपोस्ट गरिएका आफ्नै सामग्रीमा यो नियम लागु नहुने मेटाले जनाएको छ ।

यदि तपाईंको कन्टेन्टमा कसैले कपीराइट दाबी गरेमा रिभ्युमा रहेको त्यस्तो कन्टेन्टको आम्दानी प्रक्रिया टुङ्गो नलागेसम्म रोकिन्छ । फेसबुकको 'पार्टनर मनिटाइजेसन पोलिसी वा कन्टेन्ट पोलिसी उल्लङ्घन गर्ने सामग्रीका भ्युजमा पनि आम्दानी हुँदैन । पेजको मनिटाइजेसनमा कुनै समस्या भएमा वा प्रतिबन्ध लागेको अवस्थामा आएका भ्युज यसका लागि गणना हुँदैनन् । यस बाहेक अन्य प्राविधिक वा सुरक्षाका कारणहरूले गर्दा पनि भ्युज अयोग्य हुन सक्छन् ।

 

इङ्गेजमेन्टको विश्लेषण गर्नुहोस्

दर्शकले दिने रियाक्सन (Reactions), कमेन्ट र शेयरहरू कन्टेन्टको इङ्गेजमेन्ट मापन गर्ने महत्त्वपूर्ण आधार हुन् । तिनै आधारमा क्रियटरले आफ्नो आगामी रणनीति तय गर्नुपर्छ । रिल्स वा स्टोरीमा प्रयोगकर्ताले जति धेरै समय बिताउँछन्, क्रियटरको आम्दानी त्यति नै बढ्दै जान्छ । कन्टेन्ट कुन क्षेत्र वा देशबाट हेरिएको हो भन्ने कुराले पनि भुक्तानीको दरमा भिन्नता ल्याउँछ ।

क्रियटरहरूलाई यी पक्षहरूमा मद्दत गर्न मेटाले प्रोफेसनल ड्याशबोर्डमा नयाँ मेट्रिक्स पनि थपेको छ । अब क्रियटरहरूले आफ्नो ड्याशबोर्डमा Qualified Views (योग्य भ्यूज) र Earnings rates (आम्दानीको दर) स्पष्ट रूपमा देख्न सक्नेछन् । Earning rates भनेको प्रति १,००० Qualified Views बराबर हुने सम्भावित आम्दानी हो ।

मेटाले यी नयाँ सुझाव र विस्तृत डेटामार्फत धेरैभन्दा धेरै क्रियटरलाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न र फेसबुक प्रयोगकर्ताहरूलाई रोचक सामग्रीका साथ व्यस्त राख्न खोजेको छ । यसबाट फेसबुकमा गुणस्तरीय र मौलिक कन्टेन्टको मात्रा बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०८२ ११:१५