close

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, प्रयोगकर्तालाई फोरजीमा अपग्रेड हुन आग्रह

टेकपाना टेकपाना

चैत १८, २०८२ १६:१९

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, प्रयोगकर्तालाई फोरजीमा अपग्रेड हुन आग्रह

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्नेगरी क्रमशः फोरजीमा रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै थ्रीजी सिम प्रयोग गरिरहेका आफ्ना ग्राहकलाई समयमै सिम परिवर्तनका लागि आग्रह गरेको हो ।

टेलिकमका अनुसार ग्राहकलाई भ्वाइस कल तथा एसएमएस मार्फत समेत यस सम्बन्धमा जानकारी गराइएको छ । सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्छन ।

यसका लागि ग्राहकले पायक पर्ने नजिकैको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्र देखाएर नयाँ फोरजी सिम लिन सक्ने कम्पनीले जनाएको छ ।

थ्रीजीभन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ । यसका साथै आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने कुरा ग्राहक आफैले चेक गर्न सक्छन् ।

यसका लागि *444# डायल गर्न गर्नुपर्ने हुन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टे (VoLTE) सेवा समेत सहजै सक्रिय गर्न सक्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १६:१९