close

नेपाल भित्रियो जेडटीईको गेमिङ फोन ब्रान्ड रेड म्याजिक, १ लाख ६५ हजार पर्ने ११ प्रो सार्वजनिक

टेकपाना टेकपाना

चैत १९, २०८२ ११:४९

नेपाल भित्रियो जेडटीईको गेमिङ फोन ब्रान्ड रेड म्याजिक, १ लाख ६५ हजार पर्ने ११ प्रो सार्वजनिक

काठमाडौँ । जेडटीईले आफ्नो नयाँ गेमिङ फ्ल्यागशिप स्मार्टफोन 'जेडटीई रेड म्याजिक ११ प्रो' नेपाली बजारमा सार्वजनिक गरेको छ । जेडटीईको नुबिया लाइन-अप अन्तर्गतको प्रिमियम गेमिङ सब-ब्रान्ड 'रेड म्याजिक' ले यही फोनमार्फत नेपालमा पहिलो पटक आधिकारिक रूपमा प्रवेश गरेको हो ।

यो फोनलाई अहिलेसम्मकै हाएस्ट रेटेड गेमिङ फोनको रूपमा प्रस्तुत गरिएको छ । नेपालमा तीव्र रूपमा बढ्दै गएको मोबाइल गेमर तथा पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी डिजाइन गरिएको यो फोनमा अत्याधुनिक 'स्न्यापड्रागन ८ एलीट जेन ५' प्रोसेसर प्रयोग गरिएको छ ।

१६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेजसहितको यो स्मार्टफोनले हेभी मल्टिटास्किङ र अत्यन्त 'स्मुथ गेम प्ले' सुनिश्चित गर्दछ । जस्तोसुकै कडा गेमहरू खेल्दा पनि उत्कृष्ट नतिजा दिन यसमा हार्डवेयर र सफ्टवेयरको शक्तिशाली संयोजन गरिएको छ ।

डिस्प्ले र गेमिङ अनुभव

फ्लुइड भिजुअल र उच्च रेस्पोन्सिभनेसका लागि यसमा १४४ हर्ज रिफ्रेश रेटसहितको ६.८५ इन्च एमोलेड डिस्प्ले रहेको छ । ९५.३% स्क्रिन-टु-बडी रेसियो भएको यो फोनले 'इमर्सिभ एज-टु-एज' अनुभव प्रदान गर्दछ । २३० ग्राम तौल भएको यो फोनमा सुरक्षाका लागि थ्रि-डी अल्ट्रासोनिक इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र धुलो तथा पानीबाट जोगाउन आईपी ६८ (IP68) वाटर रेसिस्टेन्स रेटिङ रहेको छ ।

अत्याधुनिक कुलिङ प्रविधि

गेमिङका बेला फोन तातिने समस्या समाधान गर्न यसमा 'लिक्विड इन्जेक्टेड कुलिङ मास्टर' प्रविधि प्रयोग गरिएको छ । यसको एडभान्स्ड कुलिङ आर्किटेक्चरमा १३११६ mm² को विशाल भेपर च्याम्बर समावेश छ । साथै डबल साइडेड हिट कन्डक्सनले फोनको ५०% ताप बाहिर निकाल्ने हुँदा जतिसुकै लामो समय गेम खेल्दा पनि फोन तात्ने समस्या नहुने कम्पनीको दाबी छ ।

ब्याट्री र कनेक्टिभिटी

प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै यसमा ७५०० एमएएचको शक्तिशाली ब्याट्री र ८० वाटको अल्ट्रा-फास्ट चार्जिङ सुविधा दिइएको छ । यसले गर्दा बारम्बार चार्ज गरिरहनु पर्ने झन्झट हुँदैन । कनेक्टिभिटीका लागि ब्लुटुथ ५.४ सपोर्ट र अप्टिमाइज्ड सुविधाहरू पनि यसमा उपलब्ध छन् ।

क्यामेरा सेटअफ

फोनमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सरसहितको ट्रिपल रियर क्यामेरा सेटअप छ । सेल्फी र भिडिओ कलका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । जसले कन्टेन्ट क्रियटर र दैनिक प्रयोगकर्ता दुवैको आवश्यकतालाई सम्बोधन गर्ने बताइएको छ ।

मूल्य र उपलब्धता

नेपाली बजारमा रेड म्याजिक ११ प्रो (१६ जिबी/५१२ जिबी) को मूल्य १,६४,९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो फोन शङ्कगर ग्रुप तथा जगदम्बा मोबाइल्समार्फत नेपालभर उपलब्ध हुनेछ । ग्राहकहरूका लागि शून्य प्रतिशत किस्ता योजना (ईएमआई) को सुविधा पनि रहेको छ ।

आकर्षक लन्च अफर

कम्पनीले विशेष लन्च अफर अन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूलाई ५,००० रुपैयाँ क्याश ब्याक र २०,००० रुपैयाँ बराबरको 'रेड म्याजिक गेमिङ कन्सोल' निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

लन्च कार्यक्रममा बोल्दै जेडटीई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले रेड म्याजिकको आगमन नेपाली गेमिङ इको-सिस्टमको विकासका लागि महत्त्वपूर्ण कदम भएको बताए । त्यस्तै शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जटियाले विश्वव्यापी रूपमा परिचित प्रविधिलाई नेपाली बजारमा ल्याउन पाउँदा उत्साह व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ ११:४९