‘बले’बाट बलात्कृत भएको बताउने युवतीमाथि नै तुच्छ र घृणास्पद लान्छना सहित साइबर बुलिङ
चैत २२, २०८२ १८:१
काठमाडौँ । सामाजिक सञ्जाल प्रयोगकर्ता उल्टै कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाउने युवती विरुद्ध खनिएका छन् । शुक्रबार फेसबुकमा एक लामो स्टाटस लेख्दै सङ्गम विष्टले एक वर्षअघि अमेरिकामा लम्सालले आफूमाथि बलात्कार गरेको दाबी गरेकी थिइन् । उक्त आरोप सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विष्टको तस्बिर प्रयोग गर्दै उनीमाथि विभिन्न लाञ्छना लगाउने र गालीगलौज गर्ने क्रम बढेको हो ।
केही प्रयोगकर्ताले एक वर्ष अघि बलात्कारको घटना भएमा यति ढिला किन सार्वजनिक गरेको भन्दै प्रश्न समेत गरेका छन् । फेसबुकमा ‘श्री राधा’ नाम गरेको फेसबुक अकाउन्टबाट ‘हाम्रो सहयात्री’ नाम गरेको फेसबुक ग्रुपमा सागर लम्साल र सङ्गम विष्टको तस्बिरहरू राखेर ५ अप्रिलको बिहान ४:३८ मा एक पोस्ट गरिएको छ ।
उक्त पोस्टमा बलात्कार हुने बित्तिकै नआएको आँट एक/ दुई वर्षपछि कसरी आउँछ भनेर प्रश्नसँगै अनेक लान्छना लगाइएका छन् ।
त्यस्तै Ghanshyam Xettri नामक प्रयोगकर्ताले त झन् उल्टै आफू बलात्कृत भएको बताउने सङ्गम विस्टलाई नै कैद सजाय हुनुपर्ने माग राखेका छन् । अर्का प्रयोगकर्ता 'Uniq Xetrii'ले अपाच्य शब्द प्रयोग गर्दै यातना दिनुपर्ने भनाई राखेका छन् ।
एक वर्ष पछि बलात्कारको आरोप लगाएको, पैसाको लोभमा शारीरिक सम्बन्ध राखेको आरोप लगाउनेहरू पनि उत्तिकै छन् । 'Sailung Khabar Media' को नामक फेसबुक पेजबाट '१ बर्ष अघिकोको कुरा अहिले ल्याएर हुन्छ भनेको पदम रोकाया' शीर्षकमा एक भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओमा रोकायाले “एक दिन, पाँच दिन डराइन् होलिन्, एक वर्षसम्म डराएर बस्छन् ?” भन्दै आफूमाथि बलात्कार भयो भनेर पीडितले लगाएको आरोपमाथि शंका व्यक्त गरेका छन् ।
पीडित भनिएकी विष्टमाथि आरोप र लान्छना लागाउनेमा पुरुष प्रयोगकर्ता मात्रै छैनन् । महिला प्रयोगकर्ताले समेत अनेक प्रश्न तेर्छ्याएका छन् ।
भिडिओमा कमेन्ट गर्दै ‘राधा श्रेष्ठ’ नामक फेसबुक प्रयोगकर्ताले पनि एक वर्षसम्म पनि के हेरेर बसेको भन्दै प्रश्न गरेकी छिन् । उनले लेखेकी छिन्, “छोरी मान्छे भएर छोरी मान्छेको विरोध गर्यो भन्लान्, कुनै कुनैले । तर छोरी मान्छे पनि गतिला चाँहि पक्कै हुँदैनन् है एक वर्ष सम्म के हेरेर बसेको थियो कि बेहोस मै थियो कि हिजो बल्ल होस् मा आको होकी दुई चार महिना भएँ पनि ठिकै थियो । एक एक वर्ष सम्म के हेरेर बसेको अनि अहिले चाहिँ कसरी भन्न सकेको बलात्कार भयो भनेर की बार्गेनिङ मिलेन की मन मिल्दा चमत्कार मन नमिल्दा बलात्कार यस्तै चल्दैछ आज भोलि नेपाल मा अनि निर्दोष केटा हरु फस्छन् दुई चार जना खराब केटी हरु पनि हाम्रो समाज मा छन् नी”
पीडित भनिएकी विष्टको सामाजिक सञ्जाल पोस्ट र पुराना फोटोहरूमा पनि अपशब्द र गालीगलौजपूर्ण कमेन्टहरू ओइरिएका छन् ।


सामाजिक सञ्जालमा पीडितले ढिला बोलेको, पैसाको लागि बलात्कारको आरोप लगाएको जस्ता टिप्पणी भइरहँदा कतिपयले भने पीडितमाथि थप पीडा दिन नहुने भन्दै पोस्ट समेत गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आरोपित दोषी ठहर नभएसम्म कानुनलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता साबित्रा ढकालले आरोपितले पाउने ‘शंकाको लाभ’ लाई बहाना बनाएर न्यायको आवाज दबाउन नहुने तर्क गरेकी छिन् । छोरीहरूको लागि योग्य समाज बनाउनुपर्ने बताउँदै उनले लेखेकी छिन्, “ आरोपित व्यक्ति दोषी प्रमाणित नभएसम्म अपराधी होइन; यो आरोपितले पाउने शंकाको लाभ हो। जब कुनै महिलाले आफू बलात्कृत भएको सार्वजनिक गर्छिन्, यदि हामी साँच्चै हाम्रा छोरीहरूका लागि योग्य समाज चाहन्छौँ भने, हाम्रो पहिलो जिम्मेवारी प्रभावितको कुरा सुन्ने र गम्भीरतापूर्वक लिने हो, न कि प्रभावितमाथि नै शंका गर्ने, दोष लगाउने वा चरित्र हत्या गर्ने।!
न्यायिक छानबिनलाई सहयोग गर्नु र आवश्यक परे पारदर्शिता र निष्पक्षता बढाउन दबाब दिनुको सट्टा, केही कथित इन्फ्लुएन्सरहरू जनमतलाई नै गलत दिशामा मोडेर प्रभावितको आवाज खारेज गर्न खोजिरहेका छन्। प्रभावितलाई सुन्नु, विश्वास गर्नु भनेको आरोपितलाई तुरुन्त दोषी ठहर गर्नु होइन, यो त हरेक मुद्दाले कानुनी उपचार पाओस् र प्रभावितहरुको न्याय प्रणालीप्रति विश्वास नटुटोस् भन्नका लागि हो । निष्पक्ष र न्यायिक छानबिन आरोपित र प्रभावित दुवैको आबस्यकता हो। तर प्रभावितलाई सुरक्षा, साथ, सहयोग र डर–दबाब रहित वातावरण पनि चाहिन्छ, ताकि कानुनी प्रक्रियामा उनीहरू थप पीडित नबनुन्, अझ होस्टाइल नबनुन् ! आरोपितलाई दिइने शंकाको लाभलाई बहाना बनाएर न्यायका लागि उठेका आवाज खारेज गर्नेहरु प्रति खबरदारी गरौं !”
‘Bigyan Maharjan’ नामका फेसबुक प्रयोगकर्ताले एक भिडिओ नै शेयर गरेका छन् । जसमा समाज, परिवारको डरले गर्दा आफैँ उक्त घटनाबाट ‘मुभ अन’ हुन कोसिस गरेपछि नसकेर भित्र भित्रै ट्रमाका कारण आफूलाई निकै असर गरेपछि ‘मर्नु भन्दा बहुलाउनु’ भनेर बोलेकोमा साहस देखाएको भन्दै साथ दिनुपर्नेमा उल्टै दोषारोपण गरेको भिडिओमा एक महिलाले बताएकी छन् । आरोपीमाथि निष्पक्ष छानबिन गर्नुपर्ने र गलत आरोप लगाएको ठहर युवतीमाथि पनि कारबाही हुनुपर्ने उनले बताएकी छिन् । तर, दोषि ठहर नभएसम्ममा पीडितलाई ढिलो किन बोलेको भन्दै आरोप लगाउनु भन्दा पनि साथ दिनुपर्ने उनले बताएकी छिन् ।
त्यस्तै, गायक शिव परियारले ‘चमत्कार र बलात्कार’ भन्दै नकारात्मकता नफैलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, “सो कल्ड सामाजिक इफ्ल्युएन्सर ज्यूहरु ! देशमा नयाँ सरकार गठन भए पस्चात हाल अपराधिहरुप्रति सरकारको काम कारवाही प्रकृया हेर्दा यति कुरामा बिश्वस्त बन्न सकिन्छ कि, पिडितद्वारा घटनाको जिकर भैसकेको परिस्थितिमा नेपाल सरकार र यसको सम्बन्धित निकायले प्रत्यक्ष रुपमा घटनाको सत्य तथ्य छानबिन गरि, अनुसन्धान गरि दोषी ठहर भए अवश्य कारवाहि गर्नेछ। निर्दोष भए अवश्य सफाई दिनेछ। तब सम्मका लागि अनुसन्धानलाई नकारात्मक रुपमा प्रभावित नपार्न, नगर्न यहाँहरुले “चमत्कार र बलात्कार” भनेर कृपया सामाजिक संजालमा नकारात्मकता नफैलाई दिने पो हो कि ???? धैर्य गर्ने पो हो कि ? आफ्नो टाउँकोमा रहेको गिदि पिछवाडामा पेस्ट गरेको जस्तो आभाष सामाजिक संजालमा नदिने पो हो की ? कृपया यति कष्ट गरिदिने पो हो कि ? यस बिषयमा म दिल निसानि मगर भाईको धारणाप्रति सहमत छु।”
नायिका स्वस्तिमा खड्काले पीडितले मौनता तोड्नुलाई साहसको रूपमा लिनुपर्ने बताएकी छिन् । खड्काले लेखेकी छिन्, “हामी कति सजिलै प्रश्न गर्छौँ, “एक वर्षसम्म किन नबोलेको ? यतिका समय किन चुप बसेको?” तर हामी यो सोच्दैनौँ कि त्यो मौनता तोडेर हिम्मत जुटाउन उनलाई कति ठूलो मानसिक सङ्घर्ष गर्नुपर्यो होला।
हिंसा विरुद्ध आवाज उठाउनु कमजोरी होइन, बरु डर र सामाजिक त्रासलाई जितेर निकालिएको साहसको गर्जन हो। त्यसैले, आज जसले आफूमाथि भएको अन्याय विरुद्ध बोलिरहेका छन्, उनीहरूलाई प्रश्नले थिच्नुको साटो आड र भरोसा दिने बानी बसालौँ। हामीले जस्तो समाज बनाउँछौँ, भोलि हामी आफैँले त्यही समाजमा बाँच्नुपर्छ। भोलि यस्तै विपत्ति हाम्रै परिवारभित्र आइपर्दा हामीलाई कस्तो महसुस होला? यो कुरा मनन गरौँ पीडितलाई थप पीडा दिने होइन, न्यायको लागि दह्रो साथ दिने प्रण गरौँ। र रह्यो कुरा न्यायको त्यो त कानूनले हेर्छ, तर मानवता हामीले देखाउनुपर्छ।”
पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १८:४२
