close

नयाँ सरकार आएसँगै धमाधम चल्दै लाइसेन्स छपाई, १० दिनमै प्रिन्ट गरिए १ लाख ६२ हजार थान

टेकपाना टेकपाना

चैत २४, २०८२ ७:४४

नयाँ सरकार आएसँगै धमाधम चल्दै लाइसेन्स छपाई, १० दिनमै प्रिन्ट गरिए १ लाख ६२ हजार थान

 

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले अत्यावश्यक बाहेकका लाइसेन्सको छपाई कार्य समेत धमाधम सुरु गरेको छ ।  बालेन्द्र शाह (बालेन) नेतृत्वमा नयाँ सरकार बनेसँगै केन्द्रले ‘बल्क’ (एकमुस्ट) मा लाइसेन्सको छपाई थालेको हो । 

यातायात व्यवस्था विभागले विभिन्न यातायात कार्यालयका डेटाहरू पठाएपछि सोही अनुसार छाप्न थालिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताए । उनले टेकपानासँग भने, “हामीलाई अहिलेसम्म विभागले लगभग तीन लाख लाइसेन्सको डेटा पठाएको छ । त्यसअन्तर्गत दुई/तीन दिन अघि ९४ हजार लाइसेन्स प्रिन्ट गरेर पठायौँ । आज मङ्गलबार थप ६८ हजार लाइसेन्स पठाउने तयारीमा छौँ ।” 

गत १२ कात्तिकमा ६ महिनाभित्र १२ लाख थान लाइसेन्स उपलब्ध गराउने गरि केन्द्र र विभागबिच सम्झौता भएको थियो । तर, सम्झौता भएको पाँच महिनासम्म अत्यावश्यक बाहेकको लाइसेन्स छपाई भने सुरु हुन सकेको थिएन । 

यातायात व्यवस्था विभागले पुराना ‘ब्याक लग’ लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराउने प्रणाली तयार नभएको कारण देखाउँदै ढिलासुस्ती हुँदै आएको थियो । हाल भने डेटा पठाउन थालेसँगै धमाधम छपाई सुरु भएको हो । 

कार्यकारी निर्देशक ढुङ्गानाले भने, “यसअघि हामीसँग पनि आवश्यक कच्चा पदार्थ थिएन । त्यही भएर अध्ययन तथा वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका अत्यावश्यक लाइसेन्स दैनिक ५०० का दरले मात्र छापेका थियौँ । अहिले भने १२ लाख लाइसेन्स छाप्ने सम्पूर्ण तयारी पुरा भइसक्यो । सम्झौता अनुसार ६ महिनाको समयावधि भित्र १२ लाख लाइसेन्स छापिसक्ने गरि काम भइरहेको छ ।”

बाँकी सबै लाइसेन्स छाप्ने तयारी 

हाल सम्झौता भएको १२ लाख बाहेक विभागमा अझै करिब १७ लाख लाइसेन्स छपाई हुन बाँकी छ । बाँकी लाइसेन्स छपाईका लागि पनि सम्झौता गर्ने तयारी अघि बढिरहेको कार्यकारी निर्देशक ढुङ्गानाले बताए । 

उनले भने, “बाँकी १७ लाख जति लाइसेन्स पनि असार मसान्तसम्म छाप्ने गरि सम्झौता गर्ने कुरा अघि बढेको छ । योजना अनुसार सम्झौता भयो भने असार मसान्तसम्म सबै छपाई गर्न सकिन्छ । त्यसको तयारीमा हामी जुटिसकेका छौँ ।” 

हुलाक मार्फत जिल्ला-जिल्लामा पठाइँदै लाइसेन्स 

हाल यातायात व्यवस्था विभागले विभिन्न यातायात कार्यालय र जिल्लाहरूको डेटा सुरक्षण मुद्रण केन्द्रलाई उपलब्ध गराइरहेको विभागका निर्देशक केशवराज खतिवडाले बताए । उनले भने, “विभागले एकै पटक सबै डेटा दिन मिल्दैन । विभिन्न यातायात कार्यालयहरूको एक लाख, डेढ लाख लाइसेन्सको डेटा मिलाएर केन्द्रलाई दिइरहेका छौँ । त्यही अनुसार लाइसेन्स छापिएर आइरहेको छ ।”

छपाई भइसकेका लाइसेन्स विभागकै कार्यालयबाट र अन्य कार्यालयका लाइसेन्स भएमा हुलाकमार्फत विभिन्न जिल्लामा पुर्‍याउने काम समेत सुरु भइसकेको उनले बताए । निर्देशक खतिवडाले भने, “काभ्रे पूर्वका केही जिल्लाहरूमा हुलाकबाट लाइसेन्स पुर्‍याइ पनि सक्यौँ ।”

यस्तै विभागले छाप्न बाँकी सबै लाइसेन्स छपाईका लागि पनि तयारी गरिरहेको उनले बताए । उनले भने, “बाँकी लाइसेन्स छपाईका लागि बजेट व्यवस्थापन गर्नका लागि हामीले भौतिक तथा यातायात मन्त्रालयमा केही दिन अघि पत्र समेत पठाइसकेका छौँ । सुरक्षण मुद्रण केन्द्रसँग पनि एक हप्ताभित्र बाँकी लाइसेन्स छपाईका लागि सम्झौता गर्दै छौँ ।” यही आर्थिक वर्षको मसान्तसम्म सबै लाइसेन्स छाप्ने तयारी विभागले गरिरहेको उनले जानकारी दिए । 

सोमबार मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले विभागबाट डेटा प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गर्नेगरी आवश्यक तयारी भइरहेको बताएका थिए । 

पछिल्लो अध्यावधिक: चैत २४, २०८२ ७:४४