माइक्रोसफ्ट कोपाइलट एआई मनोरञ्जनका लागि मात्र ! कम्पनीले किन भन्यो यस्तो ?
चैत २४, २०८२ ११:४
काठमाडौँ । माइक्रोसफ्टले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल 'कोपाइलट' लाई कार्यस्थलको उत्पादकत्व बढाउने भविष्यको महत्वपूर्ण औजारका रूपमा विश्वभर आक्रामक रूपमा प्रचार गरिरहेको छ । विन्डोज ११, एज ब्राउजर र माइक्रोसफ्ट-३६५ (वर्ड, एक्सेल, आउटलुक) जस्ता सफ्टवेयरहरूमा यसलाई अनिवार्य जस्तै गरी एकीकृत गरिएको छ ।
तर कम्पनीको आफ्नै आधिकारिक 'प्रयोगका सर्त' (Terms of Use) भित्र लुकेको एउटा प्रावधानले भने सबैलाई चकित बनाएको छ । माइक्रोसफ्टको कानुनी दस्तावेजले कोपाइलटलाई 'केवल मनोरञ्जनका लागि मात्र' (for entertainment purposes only) भएको बताएको छ ।
माइक्रोसफ्टको अपडेट गरिएको उपभोक्ता निर्देशिकामा स्पष्ट शब्दमा लेखिएको छ, "कोपाइलट केवल मनोरञ्जनका लागि मात्र हो । यसले गल्तीहरू गर्न सक्छ र यसले सोचेजस्तो काम नगर्न सक्छ । महत्त्वपूर्ण सल्लाहका लागि कोपाइलटमा भर नपर्नुहोस् । कोपाइलटको प्रयोग आफ्नै जोखिममा गर्नुहोस् ।"

यो चेतावनीले गम्भीर प्रश्नहरू उब्जाएको छ । यदि कुनै प्रयोगकर्ताले कोपाइलटको सल्लाहमा आधारित भएर वित्तीय, कानुनी वा चिकित्सा सम्बन्धी निर्णय लिन्छ भने त्यसबाट हुने कुनै पनि क्षतिको जिम्मेवारी माइक्रोसफ्टले लिने छैन । कम्पनीले कोपाइलटले दिने प्रतिक्रियाको शुद्धता वा वैधानिकताको कुनै वारेन्टी नदिने बताएको छ । कोपाइलटले सिर्जना गरेका सामग्रीहरूले कसैको प्रतिलिपि अधिकार (कपीराइट) उल्लङ्घन गर्न सक्छन् वा कसैको मानहानि समेत गर्न सक्छन्, जसको पूर्ण कानुनी जिम्मेवारी प्रयोगकर्ताले नै बोक्नुपर्ने भनिएको छ ।
प्रविधि विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले माइक्रोसफ्टको यस किसिमको दोहोरो चरित्रको चर्को आलोचना गरेका छन् । एकातिर माइक्रोसफ्टले कोपाइलटलाई व्यावसायिक सफलताको सूत्र र 'भविष्यको उत्पादकत्व साथी' भनेर बेचिरहेको छ भने अर्कोतिर कानुनी झमेलाबाट बच्न यसलाई 'मनोरञ्जन' को श्रेणीमा राखेको छ । केही प्रयोगकर्ताहरूले त यसलाई टेलिभिजनमा आउने 'ज्योतिषी' वा 'भूत-प्रेतका कार्यक्रम' सुरु हुनुअघि बज्ने चेतावनीसँग तुलना गरेका छन् । यदि कम्पनी आफैँले आफ्नो उत्पादनमा विश्वास गर्दैन भने प्रयोगकर्ताले किन गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ ।
माइक्रोसफ्टको बचाउ: 'यो पुरानो भाषा हो'
विवादका बीच माइक्रोसफ्टका प्रवक्ताले आफ्नो स्पष्टीकरण दिएका छन् । कम्पनीका अनुसार 'मनोरञ्जनका लागि मात्र' भन्ने शब्दावली एउटा 'लिगेसी ल्याङ्ग्वेज' (Legacy Language) अर्थात् पुरानो भाषा हो । यो भाषा त्यो समयको हो, जब कोपाइलट सुरुमा बिङ सर्चको एउटा सानो सहायकको रूपमा मात्र ल्याइएको थियो । उत्पादन अहिले निकै विकसित भइसकेको र हालको प्रयोगलाई यसले सही रूपमा प्रतिनिधित्व नगर्ने भन्दै कम्पनीले आगामी अपडेटमा यो भाषा परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ ।
एआई क्षेत्रको साझा समस्या
यस्तो चेतावनी दिने माइक्रोसफ्ट एक मात्र कम्पनी भने होइन । ओपनएआई, गुगल र एन्थ्रोपिक जस्ता कम्पनीहरूले पनि आफ्ना एआई मोडेलहरूले 'भ्रमपूर्ण जानकारी' (Hallucinations) दिन सक्ने भन्दै प्रयोगकर्तालाई सचेत गराउने गर्छन् । एआई प्रविधि अझै पनि पूर्ण नभएकाले कानुनी जोखिमबाट बच्न ठुला कम्पनीहरूले यस्ता सुरक्षात्मक भाषाहरू प्रयोग गर्ने गरेका छन् ।
यही विरोधाभासका बीच माइक्रोसफ्टले कोपाइलटको शुद्धता र विश्वसनीयता सुधार्न केही नयाँ सुविधाहरू पनि ल्याएको छ । यसमा क्रिटिक (Critique) नामक फिचर छ । जस अन्तर्गत एउटा एआई मोडेलले दिएको उत्तरलाई अर्को मोडेलले समीक्षा गर्छ ताकि गल्तीहरू कम होउन् ।
त्यस्तै काउन्सिल (Council) ले प्रयोगकर्तालाई विभिन्न एआई मोडेलहरूका जवाफहरू एकैसाथ तुलना गर्ने सुविधा दिन्छ । जसले गर्दा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।
यसैगरी कोपाइलट कोवर्क (Copilot Cowork) नामक नयाँ फिचरले कार्यस्थलमा एउटा अटोनोमस एजेन्टको रूपमा जटिल कामहरू सम्हाल्न सक्छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८२ ११:४
