close

‘अर्जेन्टिना मन पर्दैन’ भनेपछि हितेन्द्र शाक्य भाइरल, के अश्वेतमाथि अमानवीय विभेद भएकै थियो ?

टेकपाना टेकपाना

असार २९, २०८३ २२:५४

‘अर्जेन्टिना मन पर्दैन’ भनेपछि हितेन्द्र शाक्य भाइरल, के अश्वेतमाथि अमानवीय विभेद भएकै थियो ?

काठमाडौं । सामाजिक सञ्जालमा बेलाबखत चर्चा र विवादमा आइरहने नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको एउटा भिडिओ क्लिप यतिबेला भाइरल बनिरहेको छ । भिडिओमा उनले आफू पहिले अर्जेन्टिनाको समर्थक रहेको तर त्यहाँको नश्लील इतिहास थाहा पाएपछि लियोनेल मेस्सी बाहेक अर्जेन्टिनाको फुटबल टोलीलाई समर्थन गर्न छाडेको बताएका छन् ।

उनको यो भनाइ सार्वजनिक भएपछि नेपाली फुटबल प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अर्जेन्टिनाको जातीय इतिहास र त्यहाँ अश्वेतहरूमाथि भएको भनिएको विभेदका बारेमा नयाँ बहस र कौतूहल सिर्जना भएको छ । शाक्यको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ता विभाजित देखिएका छन् । एउटा पक्षले खेलकुदलाई विगतको राजनीति, इतिहास वा जातसँग जोड्न नहुने तर्क गर्दै विशुद्ध मनोरञ्जन र लियोनेल मेस्सी जस्ता खेलाडीहरूको उत्कृष्ट कला हेरेर मात्र अर्जेन्टिनालाई समर्थन गरेको दाबी गरेको छ । 

उनीहरूले शाक्यको सोचलाई सङ्कुचित भनेका छन् र यस्तो क्रूर इतिहास खोतल्ने हो भने संसारको कुनै पनि देश समर्थन योग्य नरहने भन्दै नेपालमै पनि अझै जातीय विभेद र सती प्रथा जस्ता कुप्रथाको कालो इतिहास रहेको औँल्याएका छन् ।

कतिपयले त विद्युत् प्राधिकरणबाट उनी बाहिरिनुको कारण यस्तै वाहियात र अपरिपक्व सोच रहेको भन्दै व्यक्तिगत रूपमा उनको खिल्लीसमेत उडाएका छन् । यस विपरीत, अर्को पक्षले शाक्यको विश्लेषणलाई पूर्ण समर्थन गर्दै नयाँ ऐतिहासिक तथ्यहरू थाहा पाएकोमा उनलाई धन्यवाद दिएको छ । 

उनीहरूले फोकल्याण्ड युद्धमा ब्रिटिश सेनाको तर्फबाट गोर्खा सैनिकहरू लडेका कारण अर्जेन्टिनीहरूले नेपालीहरूलाई चरम घृणा गर्ने, भिसा नदिने र नेपाली झन्डासमेत जलाएका जस्ता दाबी गर्दै यस्तो नस्लवादी मानसिकता बोकेको देशलाई समर्थन गर्नु गलत भएको उल्लेख गरेका छन् । जब कि अर्जेन्टिनीहरूले नेपाली झन्डा जलाएको दाबी मिथ्या हो । अर्जेन्टिनाले नेपाली नागरिकलाई भिसा नदिने भनाईमा समेत सत्यता छैन ।

यो सामग्री तयार पार्दासम्म शाक्यको उक्त भिडिओ क्लिप टिकटकमा करिब ३ लाख ५० हजार, फेसबुकमा ६ लाख २५ हजारभन्दा बढीले हेरिसकेका छन् । आखिर के हो अर्जेन्टिनाको त्यो 'अँध्यारो' इतिहास ? के साँच्चै अर्जेन्टिनामा अश्वेत पहिचानलाई योजनाबद्ध रूपमा नामेट पारिएको हो ?

हितेन्द्र शाक्यको भाइरल दाबी

भाइरल भिडिओमा हितेन्द्र शाक्यले अर्जेन्टिनाको इतिहासप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, "अर्जेन्टिना पहिले त म सपोर्टर नै थिएँ । तर, स्पेसल्ली जब मैले यसको हिस्ट्री हेरेँ नि, त्यसपछि चाहिँ अब चाहिँ म चाहिँ एक्सेप्ट मेसी, अर्जेन्टिना यो ब्लु एन्ड ह्वाइटको चाहिँ म स्ट्रङ सपोर्ट गर्दिनँ ।"

उनले अगाडि अचम्म लाग्दो ऐतिहासिक तथ्य उल्लेख गर्दै दाबी गरेका छन्, "कारण के भने त्यसको जुन रेसियल हिस्ट्री हो नि, १८५० तिर अर्जेन्टिना ५०% ब्ल्याक थियो, होल पपुलेसनमा । तर त्यसबेला के गर्‍यो भने- एउटा मान्छेले, हिटलरले एक पटक ज्युजलाई क्लिन्ज गर्‍यो भन्छ । द्याट वाज वन डिसिजन, वन ए टाइम अफ एरर । अहिले इजरायलले गरिराख्या छ- गाजामा । तर अर्जेन्टिनाले १०० वर्षमा, एउटा जेनेरेसन आफ्टर जेनेरेसनले नोइङ्ली, नट वन एरर अर एउटा लिडरको एरर, एउटा होल जेनेरेसनको एरर चाहिँ एथिनिक क्लिन्सिङ गर्‍यो उसले ।"

शाक्यले अर्जेन्टिनाले आफ्नो देशलाई 'गोराहरूको देश' बनाउनका लागि चालेको ह्वाइटनिङ (श्वेतकरण) प्रक्रियाको चर्को आलोचना गरेका छन् । उनले भनेका छन्, "कालाहरूलाई चाहिँ वारमा पठाउने, त्यसलाई चाहिँ रोग लागेको, महामारी लागेको एरियामा राख्ने गरेर ह्वाइटनिङ भन्थे उनीहरूले त्यसलाई । त्यो ह्वाइटनिङ भनेको एथनिक क्लिन्सिङ, जातिगत नस्लवादी जुन सोच चाहिँ एउटा नेताको मात्र होइन, एउटा होल जेनेरेसन आफ्टर जेनेरेसनको अर्जेन्टिनाको हिस्ट्रीमा इम्बेडेड छ ।"

यो कुरा बुझेपछि आफूलाई अर्जेन्टिनाप्रति रहेको सहानुभूति समाप्त भएको उल्लेख गर्दै उनले थपेका छन्, "अहिले तपाईंको लेस देन १०% छ अर्जेन्टिनामा (अश्वेत) । अर्जेन्टिनाको टिममा कालो कति जना छ ? ब्राजिलमा छ । जब कि १८५० तिर त्यो अफ्रिकन स्लेभहरू लिएर गयो त्यहाँ फार्मिङको लागि, त्यो प्लान्टेसनको लागि, बोथमा बराबर लिएर गयो । तर अर्जेन्टिना इज नाउ कम्प्लिट्ली ह्वाइट, लेस देन १०% । इतिहासले पनि धेरै कुराहरू फरक पार्छ । त्यसको प्रकृति र त्यो नस्लवादी प्रकृतिले त्यसको परिचय दिन्छ ।"

विश्वकपमा अर्जेन्टिनाको टोली र उठ्ने गरेका प्रश्न

हितेन्द्र शाक्यले उठाएको यो प्रश्न विश्वव्यापी खेलकुद जगत्‌मा भने नयाँ होइन । हरेक विश्वकपका क्रममा अर्जेन्टिनाको टोली मैदानमा उत्रिँदा खेलप्रेमीहरूले एउटा साझा प्रश्न सोध्ने गर्छन्: आखिर अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा अश्वेत खेलाडीहरू किन देखिँदैनन् ?

ब्राजिल, कोलम्बिया वा इक्वेडर जस्ता अन्य दक्षिण अमेरिकी राष्ट्रहरूको फुटबल टोलीमा अश्वेत खेलाडीहरूको बाहुल्यता देखिँदा अर्जेन्टिनाको टोली भने पूर्ण रूपमा गोरा खेलाडीहरू मात्रै रहेको देखिन्छ । सन् २०१४ को विश्वकप फाइनलका क्रममा समेत जर्मनीको फुटबल टोलीमा कम्तीमा एक जना अश्वेत खेलाडी हुँदा अर्जेन्टिनाको टोलीमा भने एक जना पनि नदेखिएको भन्दै टिप्पणीकारहरूले सामाजिक सञ्जालमा व्यङ्ग्य र प्रश्नहरू तेर्स्याएका थिए ।

सन् २०१० मा अर्जेन्टिना सरकारले जारी गरेको जनगणना अनुसार देशमा केवल १,४९,४९३ जना मात्रै अश्वेत नागरिक थिए, जुन देशको कूल जनसङ्ख्याको एक प्रतिशतभन्दा धेरै कम हो । धेरैका लागि यो सरकारी तथ्याङ्कले अर्जेन्टिना साँच्चै नै एउटा 'गोराहरूको राष्ट्र' हो भन्ने कुरा पुष्टि गरेजस्तो देखिन्थ्यो । तर, इतिहास पल्टाएर हेर्ने हो भने सत्य अर्कै छ ।

औपनिवेशिक कालको अर्जेन्टिना र अश्वेत जनसङ्ख्याको इतिहास

ऐतिहासिक दस्तावेजहरूका अनुसार अर्जेन्टिना सधैँ यस्तो 'गोरो' देश थिएन । औपनिवेशिक कालमा अर्जेन्टिनाको रियो डे ला प्लाटा (Río de la Plata) को किनारमा करिब २,००,००० अफ्रिकी बन्दी वा दासहरूलाई जबरजस्ती ओसारिएको थियो । १८ औँ शताब्दीको अन्त्यसम्म आइपुग्दा अर्जेन्टिनाको कूल जनसङ्ख्याको एक-तिहाइ हिस्सा (करिब ३७ प्रतिशत) अश्वेतहरूको थियो ।

टेक्सस विश्वविद्यालयका इतिहासका सह-प्राध्यापक एरिका डेनिस एडवर्ड्सका अनुसार, सन् १७७८ र १८०० को जनगणनाले अर्जेन्टिनामा अश्वेत जनसङ्ख्या निकै ठुलो रहेको देखाउँछ । त्यसोभए, केही शताब्दीको अन्तरालमै यो विशाल जनसङ्ख्या कसरी एकाएक गायब भयो त ?

यो गायब हुनुका पछाडि अर्जेन्टिनामा केही ऐतिहासिक 'भ्रम' वा दन्त्यकथाहरू लोकप्रिय बनाइएका छन् । जसलाई इतिहासकारहरूले वैज्ञानिक रूपमा खण्डन गर्दै आएका छन् ।

भ्रम १: ‘तोपको आहारा’ र युद्धमा मृत्युको कथा

अर्जेन्टिनामा सबैभन्दा बढी प्रचार गरिएको भ्रम यो हो कि १९ औँ शताब्दीमा भएका विभिन्न युद्धहरूमा अश्वेत पुरुषहरूलाई ‘तोपको आहारा’ (cannon fodder) का रूपमा प्रयोग गरियो, जसका कारण उनीहरूको ठुलो सङ्ख्यामा मृत्यु भयो र जनसङ्ख्या घट्यो । स्पेन विरुद्धको स्वतन्त्रता सङ्ग्राम (१८१०-१८१९) मा क्रान्तिकारी सेनाहरूले दास बनाइएका अश्वेतहरूलाई ५ वर्ष सेवा गरेपछि स्वतन्त्र गरिदिने वाचासहित सेनामा भर्ती गरेका थिए ।

तर, इतिहासकार जर्ज रिड एन्ड्र्युजका अनुसार युद्धकै कारण अश्वेतहरू सकिएका होइनन् । सेनामा भर्ना गरिएका धेरैजसो अश्वेत पुरुषहरू युद्धको मैदानमा मर्नुको साटो सेना छोडेर भागेका थिए र कहिल्यै आफ्नो जन्मथलो फर्केनन् । उदाहरणका लागि, सन् १८२९ को सैन्य अभिलेख अनुसार फोर्थ काजाडोरेस (Fourth Cazadores) नामक एफ्रो-अर्जेन्टिनी सैन्य इकाईले ३१ जना सिपाहीहरू गुमाएको थियो भने ८०२ जना सिपाहीहरू सेनाबाट भागेका (deserted) थिए । तीमध्ये धेरैजसो पेरुको लिमा जस्ता उत्तरतर्फका क्षेत्रमा पुगेर बसोबास गरे । ब्युनस आयर्सको जनगणना अनुसार सन् १७७८ देखि १८३६ को बीचमा त्यहाँको अफ्रिकी मूलका मानिसहरूको जनसङ्ख्या घट्नुको साटो उल्टै दोब्बरभन्दा बढी भएको थियो ।

भ्रम २: युरोपेलीहरूसँगको सम्मिश्रण (Miscegenation)

अर्को तर्क के दिइन्छ भने युद्धमा अश्वेत पुरुषहरूको मृत्यु भएपछि अश्वेत महिलाहरूले युरोपेली पुरुषहरूसँग सम्बन्ध बनाउन वा विवाह गर्न बाध्य भए । यसरी धेरै पुस्तासम्म चलेको अन्तरजातीय सम्मिश्रण (miscegenation) का कारण अश्वेत जाति विस्तारै शारीरिक रूपमा ‘गोरो’ रङ्गमा परिणत हुँदै विलीन भयो । यस भाष्यले अश्वेत महिलाहरूलाई प्रणालीको फगत पीडितका रूपमा मात्र प्रस्तुत गर्छ ।

तर, हालैका अनुसन्धानहरूले के देखाएका छन् भने कतिपय अश्वेत महिलाहरूले आफ्ना सन्तानलाई गोरा जातिले पाउने कानुनी र सामाजिक सुविधाहरू दिलाउनका लागि सचेत रूपमै आफ्नो पहिचान लुकाएर गोरा वा अमेरिन्डियन (Amerindian) का रूपमा स्थापित गर्ने रणनीतिक निर्णय गरेका थिए । बर्नाबेला एन्टोनिया भिल्लामोन्टे जस्ता अश्वेत महिलाहरू दासत्वमा जन्मिए पनि मृत्युको समयमा कानुनी नीतिहरूको फाइदा उठाउँदै स्वतन्त्र मात्र भएनन्, सरकारी अभिलेखमा ‘गोरी महिला’ का रूपमा आफ्नो नाम दर्ता गराउन सफल भए ।

भ्रम ३: पहेंलो ज्वरो (Yellow Fever) को महामारी

सन् १८७१ मा ब्युनस आयर्समा फैलिएको पहेंलो ज्वरोको महामारीका कारण गरिब क्षेत्रमा बस्ने अश्वेतहरू ठुलो सङ्ख्यामा मरेको दाबी पनि गर्ने गरिन्छ । तर, ऐतिहासिक तथ्याङ्कले के स्पष्ट पार्छ भने यो महामारीले अन्य समुदायको तुलनामा अश्वेतहरूलाई बढी दरमा मारेको थिएन । महामारी सबैका लागि समान रूपमा घातक सावित भएको थियो ।

राज्यको नीति: योजनाबद्ध ‘श्वेतकरण’ र पहिचान मेटाउने खेल

वास्तवमा, अर्जेन्टिनामा अश्वेत जनसङ्ख्या प्राकृतिक रूपमा हराएको नभई राज्यको योजनाबद्ध नीति र सांस्कृतिक उपेक्षाका कारण ओझेलमा पारिएको हो ।

१९ औँ शताब्दीको उत्तरार्धमा अर्जेन्टिनाका शासकहरूले देशलाई ‘आधुनिक र सभ्य’ बनाउनका लागि ‘गोरोपन’ लाई अनिवार्य सर्त माने । अर्जेन्टिनाका भूतपूर्व राष्ट्रपति डोमिन्गो फास्टिनो सार्मिएन्टो (१८६८-१८७४) ले आधुनिकतालाई गोरो छालासँग मात्र तुलना गरे । उनले सन् १८४५ मा लेखेको पुस्तक ‘फाकुन्डो: सिभिलाइजेसन एन्ड बार्बारिजम’ (Facundo: Civilization and Barbarism) मा अर्जेन्टिनाको ‘पछौटेपन’लाई चित्रण गर्दै युरोपेली विरासतलाई मात्र देशको वास्तविक पहिचान मान्नुपर्ने वकालत गरे । इतिहासकारहरूले सार्मिएन्टोको राष्ट्रपतीय कार्यकाललाई अश्वेतहरू विरुद्धको एउटा ‘लुप्त नरसंहार’ (covert genocide) को रूपमा समेत व्याख्या गर्ने गरेका छन् ।

सन् १८५३ मा देशको अधिकांश भागमा र १८६१ मा ब्युनस आयर्समा दास प्रथा उन्मूलन भएपछि अर्जेन्टिनी नेताहरूले आफ्नो कालो इतिहास मेट्न युरोपेली आप्रवासीहरू भित्र्याउने नीति लिए । राजनीतिक दार्शनिक जुआन बाउटिस्टा अल्बर्डी, जो आफ्नो प्रसिद्ध भनाइ ‘शासन गर्नु भनेको जनसङ्ख्या बढाउनु हो’ (to govern is to populate) का लागि चिनिन्छन्, उनले देशमा गोरा युरोपेलीहरूको आप्रवासनलाई तीव्र पार्ने योजना बनाए ।

तत्कालीन राष्ट्रपति जुस्टो जोसे डे उर्क्विजा (१८५४-१८६०) ले अल्बर्डीको यो विचारलाई देशको पहिलो संविधानमै समेटे । अर्जेन्टिनाको संविधानको संशोधन धारा २५ मा स्पष्ट लेखियो: "सङ्घीय सरकारले युरोपेली आप्रवासनलाई प्रोत्साहन गर्नेछ ।" यो संवैधानिक व्यवस्था आज पनि अर्जेन्टिनाको संविधानमा कायमै छ । 

यस नीतिको परिणाम स्वरूप सन् १८६० देखि १९१४ को बीचमा ४० लाखभन्दा बढी युरोपेली आप्रवासीहरू (विशेष गरी इटाली र स्पेनबाट) अर्जेन्टिना भित्रिए । यो विशाल जनसाङ्ख्यिक बाढीले स्थानीय अश्वेत र आदिवासीहरूलाई अल्पसङ्ख्यकमा परिणत गरिदियो ।

भूतपूर्व राष्ट्रपति सार्मिएन्टोले १९ औँ शताब्दीको अन्त्यतिर गर्वका साथ टिप्पणी गरेका थिए, "अबको बीस वर्षपछि, अश्वेतहरू हेर्नका लागि मानिसहरूले ब्राजिलको यात्रा गर्नुपर्नेछ ।"

सन् १८७५ सम्म आइपुग्दा अर्जेन्टिना सरकारले राष्ट्रिय जनगणनामा अफ्रिकी मूलका मानिसहरूको गणना गर्न नै छाडिदियो । सरकारी अभिलेखबाटै उनीहरूको अस्तित्व मेटाइयो । त्यसपछिका शासकहरूले पनि यही भाष्यलाई निरन्तरता दिए । पूर्व राष्ट्रपति कार्लोस मेनेमले एकपटक सार्वजनिक रूपमै दाबी गरेका थिए, "अर्जेन्टिनामा अश्वेतहरू अस्तित्वमै छैनन्, त्यो त ब्राजिलको समस्या हो ।"

‘विश्वकप औपनिवेशिक साम्राज्यको नक्सा हो, अर्जेन्टिना त्यसको अपवाद’

सामाजिक सञ्जाल टिकटकमा अदिभ नाम गरेका एक क्रियटरको एउटा भिडिओ भाइरल भएको छ, जसमा उनले विश्वकपलाई औपनिवेशिक साम्राज्यको एउटा वास्तविक नक्साको रूपमा व्याख्या गरेका छन् ।

उनले विभिन्न देशको टोलीमा रहेका अश्वेत खेलाडीहरूको विवरण दिँदै भनेका छन्, “फ्रान्सका २६ मध्ये २१ जना, इङ्गल्यान्डका १५ जना, नेदरल्यान्डका १४ जना, बेल्जियम र जर्मनीका ९-९ जना र अमेरिकाका २६ मध्ये १२ जना खेलाडीहरू अफ्रिकी मूलका छन् । यो औपनिवेशिक दास व्यापार र बसाइसराइको परिणाम हो । ब्राजिलको सिंगो टोली नै ऐतिहासिक रूपमा त्यहाँ ओसारिएका ४९ लाख अफ्रिकी दासहरूका सन्तान हुन् ।”

@adivunsolicited You ever notice how black the world cup is? Every country seems to be represented by its best black athletes but not Argentina. The World Cup isn’t just a tournament. If you know how to read the squad lists, it’s a living map of the transatlantic slave trade and global empire.  Look closely at the rosters. From France and England to Brazil, you can reverse engineer the entire history of Western colonialism just by watching who takes the pitch. For most teams, the lineup is a reflection of historical displacement. The lack of Black players on Argentina’s squad isn't a demographic coincidence. It is the calculated result of a 19th-century government campaign designed to systematically erase Black people from the nation all while stealing and sanitizing the culture, like Tango, they left behind. Every other team is evidence of what colonialism did. Argentina is evidence of what colonialism intended. The all-white squad isn't an anomaly. It was the blueprint. #worldcup #argentina #blacktiktok #blackhistory #argentinatiktok ♬ original sound - 𝗖𝗙𝗖𝗥𝗜𝗖𝗞

“तर, यो विश्वव्यापी नक्सामा अर्जेन्टिना मात्र एउटा यस्तो टोली हो जहाँ एक जना पनि अश्वेत खेलाडी छैनन्,” अदिभले भनेका छन्, "अन्य देशका फुटबल टोलीहरूले उपनिवेशवादले के गर्‍यो भन्ने देखाउँछन् भने अर्जेन्टिनाको टोलीले उपनिवेशवादले वास्तवमा के गर्न चाहेको थियो (अर्थात् अश्वेत पहिचानको पूर्ण सफाया) भन्ने कुराको प्रमाण दिन्छ ।"

अर्जेन्टिनी संस्कृतिमा अश्वेतहरूको गुन: 'टाङ्गो' को वास्तविक इतिहास

अर्जेन्टिनाले आफ्नो अश्वेत जनसङ्ख्या र पहिचानलाई नामेट पार्ने प्रयास गरे पनि त्यहाँको पहिचान बनेको संस्कृति भने अश्वेतहरूकै जगमा उभिएको छ । अर्जेन्टिनाको विश्वप्रसिद्ध नृत्य र सङ्गीत टाङ्गो (Tango) को उत्पत्ति वास्तवमा अफ्रो-अर्जेन्टिनी समुदायबाटै भएको हो ।

टाङ्गो शब्द अफ्रिकी भाषा किकोङ्गो (Kikongo) बाट आएको हो, जसको अर्थ ‘समय’ हुन्छ । ब्युनस आयर्सका अफ्रिकी दासहरूले बान्टु शब्द ‘का न्डोम्बेले’ (ka n'dombele - जसको अर्थ देवताहरूको प्रार्थना गर्नु हुन्छ) बाट कान्डोम्बे (candombe) नृत्य विकास गरेका थिए । कला इतिहासकार रोबर्ट फारिस थम्पसनले टाङ्गोको लयलाई किकोङ्गो शब्द न्टान्गु (ntangu) सँग जोड्दै यसको जरा अफ्रिकी संस्कृतिमै रहेको पुष्टि गरेका छन् ।

त्यस्तै, अर्जेन्टिनाको स्वतन्त्रता सङ्ग्राममा वीरगति प्राप्त गरेकी अश्वेत महिला मारिया रेमेडियस डेल भाले (María Remedios del Valle) लाई जनरल म्यानुएल बेलग्रानोको सिफारिसमा सेनाको ‘क्याप्टेन’ पद दिइएको थियो । उनलाई अर्जेन्टिनामा ‘राष्ट्रकी आमा’ (Mother of the Nation) मानिन्छ र उनको तस्बिर हाल अर्जेन्टिनाको १०,००० पेसोको बैंकनोटमा अङ्कित गरिएको छ ।

फुटबल मैदानभित्रको आधुनिक रङ्गभेद: एन्जो फर्नान्डेज काण्ड

अर्जेन्टिनाको यो ऐतिहासिक रङ्गभेद र मानसिकता आजको आधुनिक फुटबलमा पनि बेलाबेला प्रकट हुने गरेको छ । सन् २०२४ को कोपा अमेरिका उपाधि जितेपछि अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज र टोलीका अन्य खेलाडीहरूले फ्रान्सेली टोलीका अश्वेत खेलाडीहरूलाई लक्षित गर्दै गाएको रंगभेदी गीतले खेल जगत्‌लाई नै स्तब्ध बनाएको थियो ।

उनीहरूले गाएको गीतको बोल यस्तो थियो: "उनीहरू फ्रान्सका लागि खेल्छन्, तर उनीहरूका आमाबुबा अङ्गोलाका हुन् । उनीहरूको आमा क्यामरुनकी हुन् भने बुबा नाइजेरियाका हुन् । तर उनीहरूको पासपोर्टले फ्रान्सेली भन्छ ।"

भिडिओको अन्त्यमा एक खेलाडीले स्पेनिस भाषामा ‘कोर्टा एल भिभो’ (लाइभ स्ट्रिम बन्द गर) भनेको सुनिन्छ । पत्रकार निक मिलरका अनुसार, उनीहरूलाई आफूले बोलिरहेको कुरा कति आपत्तिजनक र रङ्गभेदी छ भन्ने राम्रोसँग थाहा थियो र बाहिरी संसारले यो थाहा पाउँदा के हुन्छ भन्ने पनि उनीहरू बुझ्दथे ।

यस घटनाको फ्रान्सेली डिफेन्डर वेस्ली फोफानाले कडा आलोचना गर्दै यसलाई ‘उन्मुक्त रङ्गभेद’ (uninhibited racism) को संज्ञा दिएका थिए । चेल्सीका आइभोरी कोस्टका स्ट्राइकर डेविड डाट्रो फोफानाले पनि खेलकुदमा रङ्गभेद विरुद्ध कठोर कदम चाल्न माग गरेका थिए । तर, यस काण्डमा धेरैजसो गोरा खेलाडी र क्लबहरूले देखाएको मौनताले फुटबल जगत्‌मा अझै पनि रङ्गभेदप्रति कति फितलो दृष्टिकोण छ भन्ने कुरा उजागर गरेको छ ।

'मोरोचो' र म्याराडोनाको सत्यता

अर्जेन्टिनाले आफूलाई गोराहरूको राष्ट्रका रूपमा चिनाउन चाहे पनि त्यहाँ पूर्ण रूपमा गोरा नभएका गहुँगोरो वा कालो-खैरो छाला भएका मानिसहरूलाई मोरोचो (morocho) भन्ने गरिन्छ । यो शब्द अर्जेन्टिनामा गैर-गोरा मानिसहरूलाई छुट्ट्याउने एउटा ‘हानी नपुर्‍याउने’ (inoffensive) सम्बोधनका रूपमा प्रयोग हुन्छ ।

अर्जेन्टिनाका सर्वकालीन महान् फुटबल खेलाडी डिएगो म्याराडोना पनि एक 'मोरोचो' नै थिए । जो १९८० र ९० को दशकमा चर्चाको शिखरमा पुगेका थिए । नोभेम्बर २०२० मा उनको निधन हुँदा अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो । यी गैर-गोरा लेजेन्ड अर्जेन्टिनी फुटबलको पहिचान बने र विडम्बनापूर्ण रूपमा एउटा ‘गोराहरूको राष्ट्र’को अनुहार बन्न पुगे ।

युरोपेली गोरा छाला नभएका म्याराडोना नै अर्जेन्टिनी फुटबलको वास्तविक अनुहार र राष्ट्रिय नायक बने, जसले अर्जेन्टिना गोराहरूको मात्र देश हो भन्ने भाष्यलाई सधैँ चुनौती दिइरह्यो । आजको अर्जेन्टिनाको राष्ट्रिय टोलीमा रहेका कतिपय खेलाडीहरू पनि वास्तवमा यही 'मोरोचो' वर्गमै पर्छन् ।

पछिल्लो अध्यावधिक: असार २९, २०८३ २३:२३