close

अपार्टमेन्ट भाडामा लिएर अनलाइन सट्टेबाजी धन्दा चलाउने ९ पक्राउ, देखियो ३१ करोड बढीको कारोबार

टेकपाना टेकपाना

चैत २५, २०८२ २२:१२

अपार्टमेन्ट भाडामा लिएर अनलाइन सट्टेबाजी धन्दा चलाउने ९ पक्राउ, देखियो ३१ करोड बढीको कारोबार

काठमाडौँ । ललितपुरको एक अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी खेलाउने गिरोह पक्राउ परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुर महानगरपालिका-२३, हात्तिवनस्थित ‘सिटी स्केप’ अपार्टमेन्टबाट तीन भारतीय र ६ नेपालीसहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने भारतीय नागरिकहरूमा ३५ वर्षीय चेतन यादव, ३३ वर्षीय आशिष शर्मा र २१ वर्षीय रौनक सिंह रहेका छन् । उनीहरू भारतको मध्यप्रदेश र उत्तरप्रदेशका बासिन्दा हुन् ।

यसैगरी, पक्राउ पर्ने नेपालीहरूमा सुजन दवाडी (नवलपरासी), निरोज राना (तनहुँ), आशिष रेग्मी (कास्की), हार्दिक पोखरेल (दाङ), सुरेश पराजुली (लमजुङ) र योगेन्द्र कुँवर (डोटी) रहेका छन् । उनीहरूले सोही अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर लामो समयदेखि अनलाइन सट्टेबाजीको धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।

कार्यालयका एसपी मनोहरप्रसाद भट्टका अनुसार यो गिरोहले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूको साथबाट आठ थान ल्यापटप, २४ थान मोबाइल, ३१ थान भारतीय तथा नेपाली सिमकार्ड र तीन थान क्याल्कुलेटर बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ २२:२४