close

विद्यालय वा कलेजमा दुर्व्यवहार भोग्नुभएको छ ? शिक्षा मन्त्रालयमा अनलाइनबाट यसरी दिनुहोस् उजुरी

टेकपाना टेकपाना

चैत २५, २०८२ २२:५६

विद्यालय वा कलेजमा दुर्व्यवहार भोग्नुभएको छ ? शिक्षा मन्त्रालयमा अनलाइनबाट यसरी दिनुहोस् उजुरी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल सुरु गरेको छ । मन्त्री सस्मित पोखरेलले बुधबार एक सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुर्व्यवहार भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत विद्यालय तह र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै आफूमाथि भएको वा भइरहेको दुर्व्यवहारबारे जानकारी दिन अनुरोध गरे । सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले प्राप्त गुनासोहरूमाथि तत्काल अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।

शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध मन्त्रालयले शून्य सहनशीलताको नीति अङ्गीकार गरेको मन्त्री पोखरेलको भनाइ छ ।

उनले लेखेका छन्, “मन्त्रालयले विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ ।”

मन्त्रालयलाई गुनासो गर्ने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता समेत उनले जनाएका छन् । यहाँ क्लिक गरेर मन्त्रालयमा विद्यार्थीहरूले गुनासो दर्ता गर्न सकिने छ । 

उक्त फारममा विद्यार्थीले आफू अध्ययनरत शैक्षिक संस्थाको नाम, दुर्व्यवहारको प्रकृति र घटनाको विस्तृत विवरण उल्लेख गर्नुपर्ने छ । फारममा जातीय तथा लैङ्गिक भेदभाव, शाब्दिक वा भौतिक दुर्व्यवहार, यौनजन्य हिंसा, मनोवैज्ञानिक दबाब, बुलिङ र अनलाइन दुर्व्यवहार लगायतका विभिन्न शीर्षकमा उजुरी दिन सकिने विकल्पहरू राखिएको छ ।




 

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ २२:५६