'ये इन्डिया नही हे भाइ...' भन्दै थुकेको गुट्का सफा गर्न लगाएको भिडिओ भाइरल, भारतीय मिडियाले के लेखे ?
चैत २६, २०८२ ९:२५
काठमाडौँ । गुट्का खाएर सडकमा थुक्ने भारतीय पर्यटकलाई एक नेपाली युवकले रोकेर सडक सफा गर्न लगाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटनाले विशेष गरी भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ठुलो बहस र आत्ममन्थन सिर्जना गरेको छ ।
भिडिओमा देखिए अनुसार दुई जना भारतीय पर्यटकले सडकमा गुट्का थुकेपछि राजु लामिछाने नामका एक स्थानीय नेपाली उनीहरूलाई बीच सडकमै रोक्छन् । लामिछानेले निकै दृढताका साथ हिन्दीमा भन्छन्, "यो इन्डिया होइन भाइ, नेपाल हो । यहाँ फोहोर नगर, त्यहाँ पानी हाल ।" उनले ती पर्यटकहरूलाई माफी मागेर मात्र उम्कन नदिई आफूले गरेको फोहोर आफैँ सफा गर्न बाध्य पार्छन् ।
नेपाली युवकले ती पर्यटकलाई सम्झाउँदै थप भन्छन्, "तपाईंहरू भारत जस्तो यति ठुलो देशबाट आउनुहुन्छ र यहाँ आएर यस्तो फोहोर फैलाउनुहुन्छ । माफी माग्नु अघि नै सोच्नुपर्ने थियो नि ।" भिडिओमा भारतीय पर्यटकहरू निकै लज्जित देखिन्छन् र बारम्बार "सरी, सरी" भन्दै पानीको बोतलले सडकमा लागेको गुट्काको रातो दाग पखाल्न थाल्छन् ।
इन्स्टाग्राममा राजु लामिछानेको अकाउन्टबाट अपलोड गरिएको यो भिडिओलाई ५९ लाखभन्दा बढी पटक हेरिएको छ भने २.५ लाखभन्दा बढीले लाइक गरेका छन् । यो भिडिओ निखिल सैनीले एक्स (ट्वीटर) मा शेयर गरेका छन् । भिडिओ भाइरल भएपछि यसले विश्वभरका भारतीयहरूको ध्यान खिचेको छ ।
सैनीले भिडिओ शेयर गर्दै लेखेका छन्, "यी गुट्का प्रेमीहरूले विश्वभरका भारतीयहरूको बेइज्जत गरेका छन् । यदि सरकारले यसरी थुक्ने बानीलाई प्रतिबन्ध लगाउने हो भने भारतको आधा सरसफाइको समस्या आफैँ समाधान हुने थियो ।"
भारतीय मिडियाहरूले यस घटनालाई 'विश्वव्यापी लज्जा' (Global Embarrassment) को रूपमा उच्च प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
द प्रिन्टले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उद्धृत गर्दै यस्ता पर्यटकहरूलाई 'अजय देवगन स्क्वाड' को संज्ञा दिएको छ । किनकि बलिउड अभिनेता अजय देवगन गुट्काको विज्ञापनका लागि परिचित छन् ।
त्यस्तै इन्डिया टुडे र हिन्दुस्तान टाइम्सले नेपाली युवकको कदमलाई 'नागरिक चेतनाको पाठ' भनेका छन् । धेरै भारतीय प्रयोगकर्ताले नेपाली युवकको प्रशंसा गर्दै "यस्ता मानिसहरूलाई यसरी नै ठेगान लगाउनुपर्छ" भनी कमेन्ट गरेका छन् ।
एबीपी लाइभले निकै कडा शीर्षक राख्दै लेखेको छ- "भारतीयहरूले जताततै नाक कटाइरहेका छन् ! नेपालमा थुकेका थिए गुट्का, पछि आफैँले गर्नुपर्यो सफाइ ।" उसले यो घटनालाई भारतीय नागरिकहरूका लागि एउटा ठुलो पाठको रूपमा व्याख्या गरेको छ ।
रिपब्लिक वर्ल्डले "'इन्डिया नही है भाइ...': नेपाली व्यक्तिले सडकमा गुट्का थुक्ने भारतीय पर्यटकलाई सफा गर्न लगाए" भन्ने शीर्षकमा समाचार प्रकाशित गर्दै विदेशमा भारतीयहरूको व्यवहारमाथि प्रश्न उठाएको छ ।
रेडिटमा यो भिडिओलाई 'Culture & Heritage' (संस्कृति र सम्पदा) को लेबलमा राखेर व्यङ्ग्य गरिएको छ । जसमा प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन् ।
कतिपयले राहदानी (पासपोर्ट) जारी गर्दा व्यक्तिको 'सिभिक सेन्स स्कोर' (नागरिक चेतनाको अङ्क) हेर्नुपर्ने र अङ्क कम हुनेलाई विदेश जान रोक लगाउनुपर्ने माग गरेका छन् ।
धेरैले नेपाली युवकको साहसको प्रशंसा गर्दै भनेका छन्, "यस्ता मानिसहरूलाई यसरी नै ठेगान लगाउनुपर्छ, नत्र उनीहरूले कहिल्यै सिक्दैनन् ।"
केही प्रयोगकर्ताले भने भारतमा फितलो कानुन र कमजोर कार्यान्वयनका कारण मानिसहरूमा जताततै थुक्ने बानी बसेको र त्यही बानी विदेशमा पनि देखाएको गुनासो गरेका छन् ।
यो घटनाले भारतमा फितलो कानुन र नागरिक अनुशासनको कमीका कारण सार्वजनिक स्थानमा थुक्ने प्रवृत्ति बढेको र त्यही खराब बानी विदेशमा पनि प्रदर्शन गर्दा देशको छवि खराब भएको विषयमा ठुलो बहस छेडेको छ ।
सामाजिक सञ्जालमा धेरैले कडा प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, "म छुट्टै अतिरिक्त कर तिर्न तयार छु, तर सरकारले यस्ता व्यक्तिहरूलाई कडा सजाय देओस् ।"
कतिपयले यसलाई "बिहार वा उत्तर भारतका पर्यटक" भन्दै क्षेत्रीयतावादको बहस पनि निकालेका छन् भने कसैले भिडिओ खिचेर सार्वजनिक गर्नु अलि बढी भएको तर्क गरेका छन् । तर, अधिकांशले भने यो घटनालाई भारतीयहरूका लागि एक गम्भीर पाठ र आफ्नो व्यवहार सुधार्ने अवसरको रूपमा लिएका छन् ।
नेपालको यो घटनाले सार्वजनिक स्थानमा स्वच्छता कायम राख्नु र छिमेकी देशको नियमको सम्मान गर्नु हरेक पर्यटकको आधारभूत कर्तव्य भएको सन्देश दिएको भारतीय मिडियाहरूको ठहर छ ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८२ ९:२५
