close

‘रङ नम्बर’मा फोन जाँदा निम्तिएको विवादले उग्र रूप लिएपछि छुरा प्रहारबाट दुई दाजुभाइको हत्या

टेकपाना टेकपाना

चैत २६, २०८२ ११:३९

‘रङ नम्बर’मा फोन जाँदा निम्तिएको विवादले उग्र रूप लिएपछि छुरा प्रहारबाट दुई दाजुभाइको हत्या

काठमाडौँ । पाटन दरबार स्क्वायरमा बुधबार साँझ छुरा प्रहार गरी दुई जना दाजुभाइको हत्या भएको छ । झापा घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सिर्जन नेम्वाङले झुक्किएर अर्कै नम्बरमा फोन गरेपछि सुरु भएको विवादले उग्र रूप लिँदा विभत्स घटना निम्तिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीका अनुसार बुधबार ४ बजेतिर ललितपुरको मङ्गलबजारमा घुम्ने क्रममा सिर्जनले एक साथीलाई फोन गर्दा झुक्किएर पाटन भोलढोका वडा नम्बर ९ निवासी ३२ वर्षिय सञ्जीव नेपालीको नम्बरमा गएको र त्यहीँबाट विवादको सुरुवात भएको थियो ।

फोन रिसिभ गर्ने व्यक्तिले अपशब्द प्रयोग गर्दै गाली गरेपछि दुवै पक्षबिच भनाभन भएको र उनीहरूले मङ्गलबजारमै भेट्ने सहमति गरेको एसएसपी बोगटीले उल्लेख गरे । उनका अनुसार दिउँसोदेखि नै साथीहरूसँग मङ्गलबजारमा रहेका नेम्वाङ दाजुभाइलाई भेट्न अभियुक्त सञ्जीव नेपाली मासु व्यापारी भएकाले मासु काट्ने छुरा बोकेर आएका थिए । “नम्र भएर सिर्जनले माफी माग्छु यतै आउनुस् न भनेका रहेछन्,” एसएसपी बोगटीले भने, “सञ्जीव मासु पसल सञ्चालन गर्दै आएकाले आफ्ना साथीहरूसँगै मासु काट्ने छुरीसहित आएको रहेछ ।”

अभियुक्तले कृष्ण मन्दिर अगाडि पुग्नासाथ कुनै कुराकानी नगरी अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जनाएको छ । एसएसपी बोगटीले भने, “मङ्गलबजारमा भेट्दा अर्को पक्षले मासु काट्ने छुरा बोकेर आएर अन्धाधुन्ध दाजुमाथि प्रहार गर्‍यो । दाजुलाई बचाउन जाँदा भाइमाथि पनि प्रहार भयो । त्यसपछि अभियुक्त त्यहाँबाट भाग्यो ।”

घटनामा संलग्न मुख्य अभियुक्त सञ्जीव नेपाली र उनका सहयोगीलाई प्रहरीले १० मिनेटभित्रै नियन्त्रणमा लिइएको जनाएको छ । साँझ ७:३० बजे छुरा प्रहार भएकोमा ७:४० बजे नै प्रहरीले उनीहरूलाई छुरासहित पक्राउ गरेको एसएसपी बोगटीले बताए । अभियुक्तहरू भाग्ने क्रममा प्रहरीले चारै दिशाबाट घेरा हालेर उनीहरूलाई तत्कालै नियन्त्रणमा लिन सफल भएको प्रहरीको दाबी छ ।

छुरा प्रहारबाट गम्भीर घाइते दुवै दाजुभाइलाई प्रहरीकै गाडीमा राखेर १० मिनेटभित्र बी एण्ड बी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारका क्रममा राति ८:२० बजे चिकित्सकले उनीहरू दुवैलाई मृत घोषणा गरेको एसएसपी बोगटीले जानकारी दिए ।

पक्राउ परेका मुख्य अभियुक्त सञ्जीव नेपाली उग्र स्वभावको रहेको र यसअघि पनि कुटपिटका विभिन्न घटनामा संलग्न हुने गरेको प्रहरीले जनाएको छ । मृतक र अभियुक्तबिच पहिले कुनै चिनजान नभएको र केवल गलत नम्बरमा गएको एउटा फोन कलका कारण उत्पन्न विवादले ज्यान लिने स्थितिसम्म पुर्‍याएको प्रहरीले पुष्टि गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको एसएसपी बोगटीले बताए ।

घटनाको थप विवरण प्राप्त हुनसाथ यही समाचारमा अपडेट गरिनेछ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १३:२४