सूचना प्रविधि मन्त्रालयकै ग्राफिक्स ‘झुर’ र ‘कुरूप’ भएको भन्दै सामाजिक सञ्जालमा ट्रोल
चैत २६, २०८२ १८:१०
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रयोग गर्ने ग्राफिक्स डिजाइन ‘झुर’ र कुरूप भएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । सूचना प्रविधि क्षेत्रकै नेतृत्व गर्ने मन्त्रालयले आफ्ना प्रचार सामग्रीमा न्यूनतम डिजाइनको मापदण्ड समेत पालना नगरेको भन्दै प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका हुन् ।
विवादको सुरुवात ६ अप्रिल २०२६ मा मन्त्रालयको फेसबुक पेजबाट सार्वजनिक भएको सवारी चालक अनुमतिपत्र सम्बन्धी एक पोस्टरबाट भएको थियो । मन्त्री डा. विक्रम तिमिल्सिनाको नामबाट जारी उक्त पोस्टरमा ‘नयाँलाई २४ घण्टामा सवारी लाइसेन्स’ दिने विषय उल्लेख थियो ।
तर, डार्क ह्वाइट ब्याकग्राउन्डमा रातो र तन्काइएको अक्षर, अनलाइनबाट साभार गरी सर्कलमा राखिएको साँचो बोकेकी युवतीको तस्बिर र पछाडिपट्टि अर्थहीन राता ताराको प्रयोगले डिजाइनलाई कुरूप बनाएको थियो ।

त्यस्तै ७ अप्रिलमा नेपाल टेलिकमको डेटा प्याकेज र ८ अप्रिलमा डेटा प्याकेज सुधार सम्बन्धी राखिएका सूचना अझ बढी भद्दा र नमिलेका थिए ।


ती सामग्रीमा मल्टिपल कलर, अलाइन नमिलेको टेक्स्ट, टेक्स्ट ओभरले र नसुहाउने ब्याकग्राउन्डका कारण सूचना नै स्पष्ट नभएको भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्रालयको यस्तो कार्यशैलीलाई लिएर व्यङ्ग्य गरिरहेका छन् । प्रयोगकर्ताहरूले ‘योभन्दा राम्रो त एआईले बनाइदिन्छ, एडिटर फेर्नुस्’ भन्दै एआईबाट बनेका नमुना पोस्टर समेत कमेन्ट गरेका छन् । कतिपयले “५० वर्ष पुराना मान्छेले बनाएको ओल्ड स्कुल डिजाइन” र “सरकारी कर्मचारीहरू आलु जस्तो भएको” भन्दै टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले मन्त्रालयले सूचना नियमित दिनु स्वागतयोग्य भए पनि सञ्चार र प्रविधिकै मन्त्रालयले यति झुर ग्राफिक्स बनाउनु लाजमर्दो भएको बताएका छन् ।

रेडिटमा उनी लेख्छन्, “कतिपय मन्त्रालयको सामाजिक सञ्जालै अपडेट हुँदैन । त्यस्तोमा निरन्तर विभिन्न कामको अपडेट दिइरहने सञ्चार मन्त्रालयको काम स्वागतयोग्य छ । तर, यो मन्त्रालय भनेको सञ्चार तथा प्रविधिकै क्षेत्रमा रहेको मन्त्रालय हो । अरू मन्त्रालयले बेवास्ता गरे पनि सञ्चार मन्त्रालयले ग्राफिक्स डिजाइनिङमा चाहिँ राम्रो गरेको भए हुने थियो ।”
यस विषयमा ग्राफिक्स डिजाइनर आनन्द महर्जनले मन्त्रालयको डिजाइनमा प्राविधिक त्रुटिहरू रहेको औँल्याएका छन् । महर्जनका अनुसार डिजाइनमा अक्षर ओभरल्याप भएका छन्, मार्जिन र प्याडिङको अभाव छ, एलाइनमेन्ट जताततै बिग्रिएको छ र अनावश्यक ग्रेडिएन्ट एवं फाटेका अक्षर प्रयोग गरिएका छन् ।
उनले डिजाइनमा हरियो, पहेँलो, नीलो, गुलाबी र कालो गरी ५-६ ओटा रङको भद्रगोल प्रयोग भएको र कन्ट्रास्ट नमिल्दा आँखालाई बिझाउने खालको कुरूप देखिएको उल्लेख गरेका छन् । महर्जनले भनेका छन्, “यो त मन्त्रालयले आफ्ना छोराछोरीलाई बनाउन दिएको जस्तो देखिन्छ, जुन निकै झुर छ ।”
उनले बेलायत, जर्मनी र अमेरिका जस्ता देशमा सरकारको आफ्नै ‘ब्रान्डिङ गाइडलाइन’ हुने गरेको उदाहरण दिँदै नेपाल सरकारले पनि कुन लोगो, फन्ट र रङ प्रयोग गर्ने भन्ने निश्चित मापदण्ड बनाउनुपर्ने र एउटा दक्ष डिजाइनरको पोस्ट राख्नुपर्ने सुझाव दिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १८:३२
