तपाईंको वालेटमा १५० रुपैयाँ स्क्यामको पैसा आएको रहेछ भन्दै जब नक्कली साइबर प्रहरीको कल आयो…
चैत २८, २०८२ १२:२४
काठमाडौँ । न तपाईंलाई आफूले केही गलत गरेको याद छ, न त तपाईं कुनै गैरकानुनी काममा संलग्न हुनुहुन्छ । तर, एक्कासि साइबर ब्युरोबाट तपाईंको नम्बरमा कल आयो र तपाईंलाई केरकार गर्न थालियो भने के होला ?
हो, राजनधानीकी प्रसंसा नाम गरेकी एक युवतीले पनि यस्तै परिस्थितिको सामना गरिन् । झन्डै १० दिन अगाडि प्रसंसालाई एउटा कल आयो । ट्रुकलरमा उक्त नम्बर साइबर ब्युरोको रहेको देखियो । “साइबर ब्युरोबाट कल आएको भन्ने बित्तिकै मन चसक्क भयो,” प्रसंसा भन्छिन्, “उनीहरूले मलाई कल किन गर्छन् र भन्ने लाग्यो । अनि उठाएँ ।”
कल उठाउनासाथ फोनमा बोल्ने व्यक्तिले आफूलाई साइबर ब्युरोको इन्स्पेक्टर भन्दै चिनाए । “तपाईं स्क्याम गर्नुहुँदो रहेछ । स्क्याम गर्ने अकाउन्टहरूमा तपाईंको यो नम्बर पनि सर्कुलेट भइरहेको छ । तपाईं स्क्यामर हुनुहुँदो रहेछ,” ती व्यक्तिले भने ।
प्रसंसा डराइन् । कहिल्यै त्यसरी केही कारोबार नगरेकी उनलाई यो भनाइले तनाब दिन थाल्यो । “म त त्यस्तो होइन । मैले त्यस्तो स्क्याम गरेको पनि छैन भनेर जवाफ दिएँ,” प्रसंसा भन्छिन्, “तर, साइबर ब्युरोबाटै इन्स्पेक्टरले कल गरेको भनेपछि मनभित्र चाहिं डर थियो । त्यति कुराले मेरो बोली नै काम्ने भइसकेको थियो ।”
ती व्यक्तिले प्रसंसासँग सात मिनेटभन्दा बढी कुरा गरे । त्यस क्रममा ती व्यक्तिले भनेका थिए, “तपाईंको खातामा १२ फेब्रुअरीमा १५० रुपैयाँ आएको छ । रकम हेर्नु त । त्यो स्क्याम गरेर तपाईंले कमाउनु भएको हो । त्यो रकम हेर्नु त ।”
प्रसंसाले स्टेमेन्ट हेर्न खोजिन् । तर, इन्स्पेक्टर भन्दै कल गर्ने व्यक्तिले जुन डर देखाएको थियो, त्यसले प्रसंसालाई झनै अत्यायो । “उसले डर देखाएपछि मेरो दिमागले काम गर्नै छाड्यो,” उनी घटनाको बेलीविस्तार लगाउँदै भन्छिन्, “मैले स्टेटमेन्ट पनि हेर्न सकिनँ । मेरो दिमागले त्यतिबेला केही भेउ नै पाउन सकेन । स्टेटमेन्ट कसरी हेर्ने भन्ने नै बिर्सिएँ, मैले त्यो बेला ।”
तर, इसेवामा तत्कालै आफैले ३० दिनभन्दा पहिलेको स्टेटमेन्ट हेर्न सकिँदैन । कल गर्ने व्यक्तिले प्रसंसालाई ३० दिनभन्दा अगाडिकै कारोबार शङ्कास्पद भनेका थिए । मार्चभन्दा अगाडिको नदेखिएपछि प्रसंसाले थप झमेला मोल्नुभन्दा उसले भनेको रकम पठाइदिन्छु भन्ने सोचिन् । “मलाई झुक्किएर कसैले पठाइदिएको हुनसक्छ । मैले कसैलाई मेरो क्यूआर दिएको थिएँ र उसले पनि अरू कसैलाई बाँडेको पो थियो कि ! अनि त्यतैबाट रकम आएको थियो कि भन्ने लाग्यो,” उनी भन्छिन्, “सामान्यतः ससाना खर्चहरू कसरी भएको हुन्छ भन्ने नै थाहा हुँदैन । त्यस्तो रकम कसैले पठाएकै रहेछ भने पनि नोटिस हुँदैन । मलाई कतैबाट आएको थियो होला भन्ने लाग्यो ।”
उनले त्यो १५० रुपैयाँ झुक्किएर धेरै पहिला कसैबाट आएको हुन सक्ने ठान्दै फिर्ता गरिदिने बताइन् । जम्मा १५० रुपैयाँका लागि अनावश्यक झमेलामा पर्नु प्रसंसालाई ठिक लागेन । उनले ‘मैले के गर्नुपर्छ अब’ भनिन् । तर, प्रसंसालाई कता कता शङ्का पनि लागेको थियो । खासगरी आफूले कहिल्यै कुनै त्यस्तो शङ्कास्पद कारोबारमा संलग्न नभएकाले अस्वाभाविक रूपमा आफ्नो खातामा रकम आएको त्यो पनि १५० रुपैयाँ भन्नेमा उनी विश्वस्त हुन सकेकी थिइनन् । त्यसपछि उनले तपाईं कहाँबाट बोल्नुभएको भनिन् । जवाफ ‘काठमाडौँ साइबर ब्युरोबाट’ भन्ने आयो ।
प्रसंसालाई डर देखाउन उक्त व्यक्तिले ‘तपाईंको लोकेसन कहाँ हो ?’ भन्दै प्रश्न गर्न थाल्यो । प्रसंसालाई लाग्यो, “उसले मेरो स्टेटमेन्ट त हेर्न सक्यो भने लोकेसन के ठुलो कुरा भयो र ? त्यसैले मैले मेरो लोकेसन धरान हो भनेँ ।” यो जानकारी पाएपछि उक्त व्यक्तिले तपाईं धरानको नजिकको प्रहरी कार्यालयमा जानुपर्ने भयो भन्दै थप डर देखाउन थाल्यो । यो सबै घटना अनुभव गरिरहँदा प्रसंसालाई आफू १५० रुपैयाँका कारण जेल पर्नु पर्ने भयो भन्ने लागेको थियो ।
प्रसंसालाई यो अनावश्यक झमेलामा पर्नु थिएन । त्यसैले उनलाई त्यो १५० रुपैयाँसँगै अरू रकम थपेर तिर्नु नै उपयुक्त लाग्यो । र, भनिन्, “मैले कहाँ कसरी कति रुपैयाँ तिर्नुपर्ने हो भन्नुस् न, म तिर्छु ।” इन्स्पेक्टर भनिएको व्यक्तिले भन्यो, “तपाईंले १५० रुपैयाँ नै तिर्नुपर्छ ।” त्यसपछि प्रसंसाले ती व्यक्तिलाई क्यूआर कोड पठाउन भनिन् । ती व्यक्तिले भने, “तपाईंले मलाई होइन, जो पीडितबाट आएको हो उसैको खातामा फिर्ता गर्नुपर्छ । तपाईं एउटा पीडितबाट १५० रुपैयाँ स्क्याम गरेर के गर्नुहुन्छ ?”
डरै डरले भए पनि आफूमा विश्वस्त रहेकी प्रसंसाले प्रतिप्रश्न गरिन्, “तपाईं नै मलाई स्क्याम गर्दै हुनुहुन्छ कि ? तपाईं स्क्यामर होइन भनेर मैले कसरी विश्वास गर्ने ?” ती व्यक्तिले भने, “म तपाईंलाई मेरो कार्डहरू पठाइदिन्छु ।” तर, प्रसंसालाई नक्कली कार्ड त जसले पनि बनाएर पठाइदिन सक्छ नि भन्ने लाग्यो । उनी भित्रभित्रै डराइरहेकी पनि थिइन् । उनले क्यूआर कोड पठाइदिन भनिन् ।
त्यसपछि कल राखिन् । र, आमालाई यो सबै सुनाइन् । उनकी आमाले भने रकम नपठाउन सुझाव दिइन् । रकम कोबाट, कहिले र किन आएको, आएको छ वा छैन केही नबुझी नपठाउनु नै उपयुक्त हुने बताइन् । त्यसपछि प्रसंसाले आफ्ना श्रीमानलाई पनि यो सबै घटना सुनाइन् । उनका श्रीमानले उक्त नम्बरमा फोन गर्न खोजे । तर, फोन उठेन । अनेक नम्बरबाट प्रयास गर्दा पनि ती व्यक्तिले फोन उठाएनन् ।
प्रसंसाले आफूलाई प्रहरी भनेर कल गर्ने व्यक्तिको नम्बर पछिबाट हेरिन् । नम्बर एनसेलको थियो । उनलाई लाग्यो, “प्रहरी नै भए त आधिकारिक नम्बरबाट फोन आउनु पर्ने, टेलिफोनबाट फोन आउनु पर्ने । यो एनसेलको नम्बरबाट कुनै सरकारी कार्यालयका कर्मचारीले किन फोन गर्छन् ?” त्यसपछि उनले आफू ठगिमा पर्न लागेको चाल पाइन् र, कल गर्ने मनसाय बनाइन्, तर गरिनन् ।
त्यसपछि पनि उनलाई अर्को नम्बरबाट त्यसरी नै इन्स्पेक्टरको भन्दै कल आयो । तर, त्यसबेला ट्रुकलरमा उक्त नम्बरको नाम नै ‘फेक साइबर ब्युरो’ राखिएको थियो । यसबाट नै प्रसंसाले यो स्क्यामरको कल हो भन्ने थाहा पाइन् । कल उठाइन्, तर कोही बोलेन । त्यसपछि प्रसंसाले नै पटक पटक कल गरिन् । उसले एक पटक कल उठायो । र, प्रसंसा विश्वस्त भएर कुरा गर्न थालिन् । उनी निर्धक्क बोलिरहेकी थिइन् । त्यही बेला प्रसंसालाई कल रेकर्ड गर्नुपर्छ भन्ने लाग्यो । र, उनले कल रेकर्ड गर्न थालिन् । सम्भवतः कल रेकर्ड गर्न लागेको सूचना स्क्यामरले पाएको हुनुपर्छ उसले फोन काट्यो । र, त्यसपछि फोन लाग्न छाड्यो ।
सुरुवातमा १५० रुपैयाँको कुरा गरे पनि यति मात्र रकमका लागि स्क्यामरले यो स्तरको चलाखी गरेको पक्कै होइन । एकपटक डरमा पारेर विश्वस्त बनाउन सकिए अनेक बहानामा रकम लुट्ने उसको दाउ हुन सक्छ । तर, प्रसंसाले समयमै थाहा पाइन् । आफ्नो परिवारसँग सल्लाह गरिन् ।
यहाँ बुझ्नुपर्ने कुरा- ट्रुकलरमा जे देखिन्छ, त्यो नै सही हुन्छ भन्ने हुँदैन । ट्रुकलरले कसरी काम गर्छ, फोन नम्बरसँगै नाम देखिने कसरी हुन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । वास्तवमा ट्रुकलरले विभिन्न तरिकाले नाम र नम्बर लिस्टिङ गरेको हुन्छ । प्रयोगकर्ताको कन्ट्याक्टबाट एक्सेस पाएर त्यसमा जुन नामले सेभ गरिएको छ, त्यही नाम देखाउन सक्छ । त्यस्तै ट्रुकलर अकाउन्ट बनाउँदा जुन नाम राखिएको हुन्छ, कल जाँदा त्यही नम्बर देखिन्छ । त्यसैले ट्रुकलरलाई शत प्रतिशत विश्वास गर्नु हुँदैन । कसैले पनि रकम आएको छ भनेर डर देखाएको छ भने पहिले प्रहरीमा गएर कुरा राख्नुपर्छ । आएकै रहेछ भने पनि सोझै उसले भनेको अकाउन्टमा पठाइदिनु जोखिमपूर्ण हुन सक्छ ।
घटनाको वास्तविक भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: चैत २८, २०८२ १२:२८
