close

अनलाइन ठगीबाट बच्न प्रहरीको सन्देश: अमाउन्ट होल्डको बहानामा रित्याउन सक्छन् तपाईंको बैङ्क खाता

टेकपाना टेकपाना

चैत २८, २०८२ १३:४४

अनलाइन ठगीबाट बच्न प्रहरीको सन्देश: अमाउन्ट होल्डको बहानामा रित्याउन सक्छन् तपाईंको बैङ्क खाता

काठमाडौँ । पछिल्लो समय डिजिटल माध्यमबाट हुने ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि नेपाल प्रहरीले एआई भिडिओमार्फत सचेतना सन्देश जारी गरेको छ । सामाजिक सञ्जालमा चर्चामा रहेको एआई भिडिओ ट्रेन्डलाई पछ्याउँदै प्रहरीले विभिन्न शैलीका अनलाइन स्क्याम र त्यसबाट बच्ने उपायबारे जानकारी दिएको हो ।

प्रहरीले विशेषगरी ओटीपीको सुरक्षा, बैङ्कको नाममा आउने फेक कल, टिकटक शपिङ स्क्याम र टेलिग्राममार्फत हुने ठगीलाई भिडिओमा समेटेको छ ।

प्रहरीले सार्वजनिक गरेको एआई भिडिओमा ओटीपीको महत्त्वबारे भनिएको छ, “म ओटीपी हुँ । मलाई कसैलाई नदेऊ । बैङ्कले कहिल्यै फोन गरेर माग्दैन । म दिएपछि तिम्रो पैसा तुरुन्तै हराउँछ ।”

त्यस्तै बैङ्क वा इसेवा र खल्ती जस्ता डिजिटल वालेटको कर्मचारी बनेर ‘केवाईसी अपडेट’ गर्ने वा ‘खाता बन्द हुन लागेको’ डर देखाएर ओटीपी माग्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले सचेत गराएको छ । “म बैङ्क, इसेवा, खल्तीबाट बोल्दै छु भन्ने कुरा धेरैजसो झुट हुन्छ । यो डर देखाएर ओटीपी लिने चाल हो,” प्रहरीको सन्देशमा उल्लेख छ ।

पछिल्लो समय टिकटक जस्ता प्लेटफर्ममा सस्तो सामानको विज्ञापन राखी ह्वाट्सएपमा सम्पर्क गर्न लगाएर ठगी गर्ने नयाँ तरिका (अमाउन्ट होल्ड स्क्याम) मौलाएको छ । ठगहरूले सुरुमा डेलिभरी चार्जको नाममा केही रकम माग्ने र त्यसपछि ‘रकम होल्ड भयो’ भन्दै स्क्रिन शेयर गर्न लगाउँछन् ।

यसरी स्क्रिन शेयरमार्फत पीडितको बैङ्क वा वालेटमा भएको मौज्दात हेरेर विभिन्न कोड वा अङ्क राख्न लगाई खाता नै रित्याउने गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले भनेको छ, “अमाउन्ट होल्ड भनेर पैसा माग्ने ? पहिले पैसा अनि पछि सामान चाहियो ? यो सिधै ठगी हो ।”

प्रहरीले टेलिग्राममा ‘ट्रेडिङ’ बाट छिटो धनी बन्ने प्रलोभन देखाएर गरिने ठगी र फिशिङ वेबसाइटबारे पनि सतर्क गराएको छ । भिडिओमा भनिएको छ, “म टेलिग्राममा देखिएको नाफा होइन, यो त ठगीको जाल हो । छिटो धनी बनाउने कुरा सुन्दा सधैँ सतर्क हुनुपर्छ ।”

यसैगरी सक्कली जस्तै देखिने नक्कली वेबसाइट बनाएर प्रयोगकर्ताको गोप्य जानकारी चोरी हुने गरेको भन्दै त्यस्ता लिङ्कमा क्लिक नगर्न प्रहरीले आग्रह गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै ठगीका नयाँ रूपहरू देखिन थालेकाले आफ्नो वित्तीय र व्यक्तिगत विवरण कसैलाई पनि नबाँड्न नेपाल प्रहरीको सुझाव छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०८२ १३:४५