२०० इलेक्ट्रिक साइकलसहित काठमाडौँ उपत्यकामा सञ्चालनमा आउँदै ‘जुम राइड्स’, कसरी गर्छ काम ?
चैत २९, २०८२ १९:३२
काठमाडौँ । राजधानीको व्यस्त सडक र बढ्दो सवारी चापको बीचमा एउटा नयाँ टेक स्टार्टअप ‘जुम राइड्स प्रालि’ ले सहरको यातायात पद्धतिलाई नै नयाँ मोड दिने तयारी गरेको छ । विगत साढे दुई वर्षदेखि अनुसन्धान तथा प्रविधि विकासमा जुटेको यो टिमले आगामी केही हप्ताभित्रै काठमाडौँमा २०० ओटा स्मार्ट इलेक्ट्रिक साइकल सञ्चालनमा ल्याउँदै छ ।
‘जुम, लेट्स गो’ नाम दिइएको यो प्लेटफर्म ‘साइकल भाडा’मा दिने मात्र नभई पूर्ण रूपमा ‘स्मार्ट प्रविधि’ मा आधारित भएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि भन्छन्, “हामीले यो प्रविधि केवल देखाउनका लागि मात्र होइन, काठमाडौँको वास्तविक आवश्यकता बुझेर शून्यबाट विकास गरेका हौँ । हाम्रो मुख्य सफ्टवेयर र एआई प्रणाली ‘इन-हाउस’ डेभलपमेन्ट हो ।”

यस प्लेटफर्मले मूल्य निर्धारणका लागि पृथक शैली अपनाएको छ । नेपालमा कालो नम्बर प्लेटका सवारीले मात्र किलोमिटरका आधारमा भाडा लिन पाउने नियम भएकाले यस कम्पनीले ‘समय’ र ‘टोकन’ को अवधारणा ल्याएको हो ।
कम्पनीका प्रतिनिधि भन्छन्, “हामीले किलोमिटरमा सेवा बेच्न मिल्दैन, त्यसैले हामी घण्टा वा समय बेचिरहेका छौँ ।” यसका लागि कम्पनीले टोकनलाई आन्तरिक मुद्राका रूपमा प्रयोग गर्नेछ, जहाँ एउटा टोकनको मूल्य १०० रुपैयाँ तय गरिएको छ ।

हाल चक्रपथ (रिङरोड) भित्र बिहान ५ बजेदेखि राति १० बजेसम्म उपलब्ध यस सेवामा प्रयोगकर्ताको सुविधाका लागि विभिन्न दररेटहरू तय गरिएका छन् । २८ दिनको म्याद रहने गरी घण्टाको आधारमा १ घण्टाको १५५ रुपैयाँ, २ घण्टा ३० मिनेटको ३५० रुपैयाँ र ५ घण्टाको ६७० रुपैयाँ तोकिएको छ । त्यस्तै दिनभर प्रयोग गर्न चाहनेले ७९५ रुपैयाँमा 'एक दिने पूर्ण पास' लिन सक्नेछन् ।
नियमित प्रयोगकर्ताका लागि मासिक योजनाअन्तर्गत २,९९५ रुपैयाँमा मा ‘बेसिक’ (२५ घण्टा र १ टोकन), ३,९९५ रुपैयाँमा 'प्रो' (४० घण्टा र ३ टोकन) र ४,९९५ रुपैयाँमा मा ‘अल्ट्रा’ (५५ घण्टा र ६ टोकन) प्याकेज उपलब्ध छन् ।
मासिक प्याकेजमा प्रयोग नभएर बाँकी रहेको समय अर्को महिनामा सार्न मिल्ने सुविधा छ । तर त्यसका लागि सब्सक्रिप्सन निरन्तर हुनुपर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले जुनसुकै बेला सब्सक्रिप्सन रद्द गर्न सक्नेछन्; यसरी रद्द गर्दा बाँकी रहेको समय स्वतः ‘पे एज यू गो’ मा परिणत हुन्छ र उक्त समय २८ दिनसम्म मात्र मान्य रहन्छ ।

यो सेवा हाल बजारमा रहेका अन्य राइड शेयरिङ एप भन्दा करिब तीन गुणा सस्तो हुने कम्पनीले दाबी गरेको छ ।
साइकलको सुरक्षा र व्यवस्थापनका लागि कम्पनीले ‘स्मार्ट स्टेसन’ र ‘जियोफेन्सिङ’ प्रविधि प्रयोग गरेको छ । हाललाई यो सेवा चक्रपथ (रिङरोड) भित्र मात्र सीमित रहनेछ । यदि कुनै प्रयोगकर्ताले रिङरोडको सिमाना काट्न खोजेमा साइकलको पावर आफैँ काटिनेछ र प्रयोगकर्तालाई जरिवाना स्वरूप अतिरिक्त टोकन लाग्नेछ ।
“हामीले मान्छेलाई लडाउने वा जोखिममा पार्ने गरी लक गर्दैनौँ, तर पावर काट्छौँ र साइकलमा चेतावनीको आवाज बज्छ,” कम्पनीका प्रतिनिधिले प्रविधिबारे थप प्रस्ट पारे ।
कम्पनीका अनुसार सवारी अन्त्य गर्दा प्रयोगकर्ताले तोकिएको स्टेसनको डकमा साइकल राखेर स्टेसनको चेकआउट बुथमा रहेको क्यूआर स्क्यान गर्नुपर्ने हुन्छ । यसलाई एआई र कन्ट्रोल रुममा बसेका कर्मचारीले तत्काल प्रमाणित गर्नेछन् । ३० सेकेन्डभित्रै प्रयोगकर्ताले आफ्नो राइड सफल भएको जानकारी पाउनेछन् ।

सुरक्षा र दुर्घटनाको सन्दर्भमा पनि कम्पनीले विशेष तयारी गरेको छ । कम्पनीले एपमा ‘एसओएस’ बटनको व्यवस्था गरेको छ । यद्यपि दुर्घटना पत्ता लगाउने अटोमेटिक प्रविधि सधैँ शतप्रतिशत सफल नहुने हुनाले कम्पनीले म्यानुअल रिपोर्टिङ र तत्काल उद्धारलाई प्राथमिकता दिएको छ ।
कम्पनीका प्रतिनिधि भन्छन्, “दुर्घटना भएको खण्डमा पुलिस र इन्स्योरेन्स कम्पनीका लागि हामीले छुट्टै पोर्टल बनाइदिएका छौँ । राइडर र साइकल दुवैको बिमा गरिएको हुन्छ, तर हामीले पहिला मान्छेको सुरक्षालाई हेर्नुपर्छ ।” प्रयोगकर्ताको डेटा सुरक्षाका लागि कम्पनीले युरोपियन मापदण्ड (जीडीपीआर) अनुसार डेटा इन्क्रिप्ट गरी सुरक्षित राख्ने दाबी गरेको छ । तर कानुनी आवश्यकता परेमा सरकारी निकायलाई सहयोग गर्नु आफ्नो दायित्व भएको पनि स्वीकारेको छ ।
वातावरणीय दृष्टिले यो परियोजना निकै महत्वाकांक्षी हुने सञ्चालकको तर्क छ । इन्धन खपत कम गर्ने र हरित ऊर्जालाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक एक हजार किलोमिटर साइकल गुडेपछि एउटा रूख रोप्ने कम्पनीको योजना छ । “साइकल ३०-३५ किलोको मात्र हुन्छ, जसले ७०-८० किलोको मान्छेलाई सजिलै बोक्छ । यसले ट्याक्सी वा गाडीको तुलनामा ऊर्जाको खपत निकै कम गर्छ,” प्रतिनिधि बताउँछन् । उनीहरूका अनुसार यो सेवाले विशेष गरी छोटो दुरीको यात्रालाई सहज बनाउनेछ, जहाँ मान्छेले पार्किङको चिन्ता नगरी पसल वा कार्यालयसम्म पुग्न सक्छन् ।
यो तयारीका बाबजुद सरकारी नीति र नियमनको पाटो भने अझै चुनौतीपूर्ण छ । विगतमा केही राइड शेयरिङ प्लेटफर्मले भोगेका कानुनी समस्या यस स्टार्टअपका लागि पनि टाउको दुखाइको विषय बन्न सक्छन् । “हाम्रो लागि सबैभन्दा ठुलो चुनौती भनेकै सरकारले काम गर्न दिन्छ कि दिँदैन भन्ने हो । हामी सबै कम्प्लायन्स पालना गर्न तयार छौँ, मात्र काम गर्ने वातावरण र स्पष्ट नियमनको खाँचो छ,” संस्थापकहरूको साझा धारणा छ ।
हाल २०० ओटा साइकलबाट सुरु हुन लागेको यो सेवालाई बिस्तारै पाँच हजार साइकलसम्म पुर्याउने र काठमाडौँको ट्राफिक जामलाई केही हदसम्म कम गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य छ । अबको केही साताभित्र साइकल काठमाडौँ आइपुग्ने हुनाले यो ‘स्मार्ट’ यात्रा चाँडै सर्वसाधारणका लागि खुल्ला हुने अपेक्षा गरिएको छ ।
कसरी गर्छ काम ?
कम्पनीले सुरुवाती चरणमा चक्रपथ क्षेत्रका विभिन्न ठाउँ खासगरी होटेल, मल लगायतमा विभिन्न स्टेसन बनाउनेछ जहाँ साइकल पार्क गरेर राखिनेछ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुपर्छ । एप डाउनलोड गरिसकेपछि त्यहाँ लगइन गर्ने सेक्सन देखिन्छ । तपाईंले ‘रजिस्टर न्यु अकाउन्ट’को अप्सन ट्याप गर्नुपर्ने हुन्छ ।
त्यसपछि आफ्नो नाम, नम्बर, ईमेल एड्रेस र पासवर्ड राखेर टर्म्स एन्ड कन्डिसन एग्री गर्नुपर्छ । र, रजिस्टरको बटन ट्याप गर्नुपर्छ । यति गरेपछि तपाईंको इमेलमा कन्फमेसन लिङ्क आउँछ । उक्त लिङ्कमा क्लिक गरेपछि अकाउन्ट बनाउन सकिन्छ ।
अकाउन्ट बनाएर एप खोलिसकेपछि त्यहाँ ब्यालेन्स, टोकन, साइकलको जानकारी, दुरी, औसत स्पिड, औसत समय जस्ता जानकारी देखिन्छन् । तर, ती सबै ब्ल्याङ्क हुन्छ । तपाईंले ब्यालेन्स लोड गर्नका लागि आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने हुन्छ ।
“हामीले यति ‘महँगो’ साइकल कसैलाई जिम्मा लगाउँदै छौं । कसले चलाइरहेको छ भन्ने त जानकारी हुनुपर्यो । त्यसैले हामी केवाईसी भेरिफाई गर्छौं,” कम्पनीका प्रतिनिधि भन्छन् ।
केवाईसी प्रमाणित गर्नका लागि व्यक्ति पहिचान हुने कागजात जस्तै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र प्रयोग गर्न सकिन्छ । त्यसबाहेक लाइभ फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । यसरी सबै विवरण उपलब्ध गराइसकेपछि कम्पनीका कर्मचारीले म्यानुअल्ली भेरिफाई गर्छन् । र, भेरिफाई भइसकेपछि रकम लोड गर्न सकिन्छ । वा, यस प्लेटफर्मको वेबसाइटमा गई क्वीक केवाईसीमा ट्याप गरेर आएको क्यूआर कोडलाई नागरिक एपबाट स्क्यान गर्दा पनि भेरिफाई गर्न सकिन्छ ।
त्यसपछि साइकल हुने स्टेसनमा गएपछि (यद्यपि हाल परीक्षणका लागि ५० साइकल कम्पनीको कार्यालय डिल्लिबजारमा छन् ।) साइकलको पछाडि रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । कोड स्क्यान गर्नासाथ साइकल अनलक हुन्छ । त्यसपछि एपमा साइकलको सम्पूर्ण विवरण देखिन्छ । साइकल अनलक भएपछि समय जोडिन थाल्छ । त्यसपछि तपाईंले चलाउनु भयो भने पनि वा चलाउनु भएन भने पनि समय जोडिरहन्छ । चलाइरहँदा साइकल बिग्रिएको खण्डमा भने कम्पनीलाई सम्पर्क गर्न सकिन्छ । यसरी राइड पूरा भइसकेपछि स्टेसन फेला पारेर साइकल पार्क गर्नुपर्छ । र, स्टेसनमा भएको क्यूआर स्क्यान गरेपछि राइड इन्ड हुन्छ ।
कम्पनीका प्रतिनिधि भन्छन्, “स्टेसन बाहिरका सुरक्षित पार्किङ स्थलमा साइकल रोकी १ टोकन तिरेर राइड अन्त्य गर्न सकिनेछ । यसका लागि राइड अन्त्य गर्दा पार्किङ गरेको स्पष्ट फोटो खिच्नुपर्ने हुन्छ । यदि साइकल सही ठाउँमा पार्किङ गरिएको छ भने हामी ३० सेकेन्डभित्रै ‘अप्रुभ’ गर्नेछौँ । पार्किङ गर्ने ठाउँ उपयुक्त नभएमा ‘रिजेक्ट’ हुनेछ र तपाईंको टोकन काटिने छैन ।
कस्तो छ साइकल, के के छन् विशेषता ?
कम्पनीका अनुसार यस साइटकको अगाडिपट्टि स्पिड, ब्याट्रीको अवस्था (इन्डिकेटर) लगायतका जानकारी देखाउने डिजिटल डिस्प्ले राखिएको छ ।

कम्पनीले जनाए अनुसार पूर्ण रूपमा वाटरप्रुफ यस साइकलमा सुरक्षा र सुविधाका लागि विभिन्न फिचरहरू समावेश गरिएका छन् । यसमा चार ओटा ल्याम्प भएको एलईडी हेडलाइट, विद्युतीय हर्न, डुअल डिस्क ब्रेक र अगाडिपट्टि सामान राख्न मिल्ने बास्केट जडान गरिएको छ ।

त्यस्तै, सजिलो यात्राका लागि क्रुज मोड र पेडल असिस्ट सुविधा पनि यसमा उपलब्ध छ । यस साइकलमा सजिलै फेर्न मिल्ने ब्याट्री प्रयोग गरिएको छ, जुन पार्किङ स्टेसनमा राख्नासाथ आफैं चार्ज (अटो चार्जिङ) हुन्छ । यसका साथै, प्रयोगकर्ताले मोबाइल एपमार्फत नै साइकललाई लक र अनलक गर्न सक्ने व्यवस्था पनि यसमा मिलाइएको छ ।
यो साइकल बढीमा २५ किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्न सक्छ । यदि पाइडल मार्ने हो भने स्पिड ३० किलोमिटर प्रति घण्टासम्म बढाउन सकिन्छ । निरन्तर १५ किलोमिटरसम्मको दुरी पार गर्दा साइलकमा रहेको क्रुज कन्ट्रोल फिचर प्रयोग गर्न सकिन्छ । यसले साइकललाई एक्सिलेटर नबेटारिकनै २५ किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्न मद्दत गर्छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १०:५५
