close

के तपाईँले साथीभाइ वा परिवारसँग गर्ने कुराकानी तपाईँको फोनले गोप्य रूपमा सुनिरहेको हुन्छ ?

टेकपाना टेकपाना

चैत ३०, २०८२ ११:५९

के तपाईँले साथीभाइ वा परिवारसँग गर्ने कुराकानी तपाईँको फोनले गोप्य रूपमा सुनिरहेको हुन्छ ?

काठमाडौँ । धेरै मोबाइल प्रयोगकर्ताहरूले एउटा निकै 'अनौठो र डरलाग्दो' अनुभव गर्ने गरेका छन् - साथीभाइसँग कुनै खास विषयमा कुराकानी गरेको केही समयमै सामाजिक सञ्जाल खोल्दा ठ्याक्कै त्यही विषयको विज्ञापन देखिनु । यसले आम मानिसमा एउटा ठुलो आशङ्का पैदा गरेको छ: के हाम्रो फोनले हामीले बोलेका कुराहरू लुकेर सुनिरहेको छ ?

धेरै प्रयोगकर्ताहरूले यस्ता अनुभव सुनाउने गरेका छन् । एक महिलाले भनेकी छिन्, "कहिलेकाहीँ म साथीहरूसँग कुनै कुरा गर्छु र त्यसको ३० मिनेटपछि टिकटक हेर्दा त्यही कुराको विज्ञापन आउँछ ।" अर्का एक व्यक्तिले न्युयोर्क भ्रमणको योजनाबारे कुरा गरेपछि उनको इन्स्टाग्राम रिलहरू हप्तौँसम्म न्युयोर्ककै सामग्रीले भरिएको बताए । त्यस्तै अर्की एक महिलाले कुनै विशेष परिकार खानेबारे कुरा गरेको केही बेरमै एप खोल्दा ठ्याक्कै त्यही खानाको विज्ञापन देखिएको अनुभव सुनाइन् ।

के भन्छन् विज्ञ ?

विज्ञापन उद्योगका अनुभवी परामर्शदाता तथा लेखक अरी पापारोका अनुसार फोनले विज्ञापनका लागि मानिसका कुराहरू 'प्यासिभ' रूपमा सुनिरहेको हुँदैन । "म यो ग्यारेन्टीका साथ भन्न सक्छु कि तपाईँको फोनले विज्ञापनका लागि तपाईँका कुरा सुन्दैन," उनले भने । पापारोका अनुसार विश्वभरका अर्बौँ मानिसका कुराकानी सुन्नु, त्यसलाई व्याख्या गर्नु, निश्चित शब्दहरू खोज्नु र त्यसलाई विज्ञापनसँग मिलाउनु प्राविधिक रूपमा असम्भव छ । यद्यपि, उनी भन्छन्, "मलाई थाहा छ, मेरो यो कुरा कसैले पनि पत्याउने छैनन् ।"

त्यसो भए विज्ञापन कसरी आउँछन् त ? फोनले नसुने पनि विज्ञापनदाताहरू तपाईँको रुचिप्रति निकै सटीक हुन्छन् । पापारोका अनुसार यसका मुख्य दुई कारण छन् ।

पहिलो हो, अनुमान र निष्कर्ष (Inference) । विज्ञापनदाताहरूले तपाईँले कुन वेबसाइट हेर्नुभयो, कुन एप प्रयोग गर्नुभयो, तपाईँको उमेर कति हो र तपाईँ कहाँ बस्नुहुन्छ भन्ने विवरणका आधारमा तपाईँको रुचिको अनुमान लगाउँछन् । यो तथ्याङ्कको संयोजन निकै सटीक हुन्छ ।

अर्को भनेको पारिवारिक वातावरण पनि हो । यदि तपाईँको परिवारको कुनै सदस्य वा तपाईँसँगै बस्ने व्यक्तिले इन्टरनेटमा कुनै सामान खोज्यो भने, विज्ञापनदाताले तपाईँलाई पनि सोही विज्ञापन देखाउन सक्छन् । किनभने तपाईँहरू एउटै घरको इन्टरनेट (IP Address) प्रयोग गरिरहनुभएको हुन्छ । उदाहरणका लागि यदि श्रीमतीले 'गाजर ताछ्ने मेसिन' (Carrot peeler) खोजिन् भने श्रीमान्‌को फोनमा पनि त्यसको विज्ञापन आउन सक्छ ।

वैज्ञानिक अध्ययनको नतिजा

नर्थइस्टर्न युनिभर्सिटीका कम्प्युटर विज्ञानका प्रोफेसर डेभिड चोफनेसले हजारौँ एन्ड्रोइड एपहरूमाथि एउटा अध्ययन गरेका थिए । उनले एपहरूले प्रयोगकर्ताको अनुमति बिना अडियो रेकर्ड गरेर कतै पठाउँछन् कि भनेर परीक्षण गरे । चोफनेसले भने, "हामीले गोप्य रूपमा जानकारी रेकर्ड गरिएको कतै भेटेनौँ ।" यद्यपि, यी कम्पनीहरू प्रयोगकर्ताले अनलाइनमा गर्ने हरेक गतिविधिलाई निगरानी गर्न भने निकै खप्पिस रहेको उनले बताए ।

चोफनेसले आफ्नो विज्ञापन सम्बन्धी डेटा रिपोर्ट मगाउँदा ३०० पानाभन्दा लामो प्रतिवेदन प्राप्त गरे । जसमा उनीबारे गरिएका अनेकौँ अनुमानहरू थिए । रोचक कुरा के छ भने, ती अनुमानहरू सधैँ सही हुँदैनन् । उनको रिपोर्टमा उनले 'एक्सबक्स' चलाउने र उनी 'क्रुज' यात्रामा जान निकै इच्छुक रहेको उल्लेख थियो, जबकि चोफनेससँग न त एक्सबक्स छ, न त उनी क्रुज यात्रामा नै जान चाहन्छन् ।

डेटा सुरक्षित राख्ने उपाय

यदि तपाईँ विज्ञापनदाताहरूलाई आफ्नो डेटा कम दिन चाहनुहुन्छ भने केही कदम चाल्न सकिने विज्ञहरूको सुझाव छ ।

अरी पापारोका अनुसार एप्पलको सफारी ब्राउजरले धेरै ट्र्याकिङहरूलाई रोक्ने गर्छ । जुन विज्ञापनदाताहरूलाई मन पर्दैन । चोफनेसका अनुसार उपभोक्ताहरूको हितमा हुने गरी कडा तथ्याङ्क सुरक्षा कानुन निर्माणका लागि नीति निर्माताहरूलाई दबाब दिनु आवश्यक छ । क्यालिफोर्निया जस्ता ठाउँमा डेटा ब्रोकरहरूबाट आफ्नो विवरण हटाउन सकिने नयाँ टुलहरूमा हजारौँ मानिसले साइन-अप गरिसकेका छन् ।

अन्तिममा महत्त्वपूर्ण कुरा, प्राविधिक रूपमा फोनले तपाईँका कुरा नसुने पनि तपाईँले अनलाइनमा छोड्ने डिजिटल पदचिन्हहरू (Digital Footprints) विज्ञापनदाताका लागि तपाईँको कुराकानी सुन्नुभन्दा बढी शक्तिशाली साबित भएका छन् ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १२:१