गेमिङ फोन बजारमा ४ वर्षपछि पुनरागमन गर्दै लेनोभो, आउँदो महिनामा सार्वजनिक हुने
बैशाख १, २०८३ ११:४८
काठमाडौँ । लेनोभोले चार वर्षको लामो अन्तरालपछि पुनः गेमिङ स्मार्टफोनको क्षेत्रमा फड्को मार्ने तयारी गरेको छ । कम्पनीले आफ्नो 'लिजन वाई७०' (Legion Y70) सिरिजको नयाँ पुस्ताको फोन बजारमा ल्याउन लागेको आधिकारिक घोषणा गरेको हो ।
लेनोभोले सन् २०२२ पछि पहिलो पटक लिजन ब्रान्डको फोन ल्याउन लागेको हो । रोचक कुरा के छ भने गेमिङ फोन बजारको प्रमुख खेलाडी एसुस (ASUS) यस क्षेत्रबाट पछि हटिरहेका बेला लेनोभोले पुन: प्रवेश गर्ने निर्णय गरेको छ । कम्पनीले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म 'वेइबो' (Weibo) मार्फत नयाँ लिजन वाई-७० को बारेमा जानकारी शेयर गरेको छ । उक्त पोस्टमा कम्पनीले 'एआई गेमिङको युग' (era of AI gaming) को चर्चा गर्दै 'सम्पूर्ण लेनोभो लिजन इकोसिस्टम तयार भइसकेको र युद्धमा सहभागी हुन तयार रहन' आह्वान गरेको छ ।
हार्डवेयरको कुरा गर्दा वेइबोमा एक प्रयोगकर्ताले यस फोनमा 'स्न्यापड्रयागन ८ इलाइट जेन ५' प्रोसेसर हुनेछ कि भनेर सोधेका थिए । लेनोभोले यसको स्पष्ट पुष्टि वा खण्डन नगरे पनि, फोन 'प्रयोगकर्ताको अपेक्षा अनुसारकै हुने' जवाफ दिएको छ । यदि यो शक्तिशाली चिप प्रयोग गरिएमा यसले रेडम्याजिक ११ प्रो र रग फोन ९ जस्ता प्रतिस्पर्धीहरूसँग कडा प्रतिस्पर्धा गर्ने निश्चित छ ।
यद्यपि नयाँ लिजन फोनको बारेमा धेरै विस्तृत विवरणहरू अझै सार्वजनिक भइसकेका छैनन् । तर यसका लागि धेरै पर्खनु नपर्ने देखिएको छ । लेनोभोको सन्देशमा 'मे महिनामा भेटौँला' (See you in May) भनिएको छ । जसले फोनको आधिकारिक सार्वजनिक कार्यक्रम वा थप जानकारी अबको केही समयमै बाहिर आउने सङ्केत गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ ११:४८
