सरकारले आविष्कार केन्द्र खोल्ने, एआई तथा साइबर सुरक्षामा युवालाई दक्ष बनाउन राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने
बैशाख १, २०८३ १७:२
काठमाडौं । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले नयाँ आविष्कारलाई प्रोत्साहन गर्न आविष्कार केन्द्र खोल्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा आविष्कार केन्द्र खोल्ने र आविष्कारको बजारीकरण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिइने उल्लेख छ ।
युवा जनशक्तिलाई उदीयमान प्रविधिमा दक्ष बनाउँदै डिजिटल उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि अघि सारिएको छ । मस्यौदा अनुसार कृत्रिम बौद्धिकता (एआई), डेटा साइन्स, साइबर सुरक्षा, फिनटेक, बायोटेक र नवीकरणीय ऊर्जा जस्ता उदीयमान प्रविधिमा युवालाई दक्ष बनाउन राष्ट्रिय कार्यक्रम सञ्चालन गरिनेछ ।
“विशेष इन्क्युबेसन केन्द्र स्थापना गरी आईटी पार्कको विकास मार्फत डिजिटल उद्यमशीलता प्रवर्द्धन गरिनेछ,” मस्यौदामा भनिएको छ ।

डिजिटल अर्थतन्त्र र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले ‘इनोभेसन फन्ड’ स्थापना गर्ने भएको छ । यस कोषमार्फत युवा उद्यमीहरूलाई मेन्टरिङ, लगानी सुरक्षा र आवश्यक सहयोग सुनिश्चित गरिने बताइएको छ ।
बालेन नेतृत्वको सरकार गठन भएपछि १३ चैतमा शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरिएको थियो । उक्त कार्यसूचीको बुँदा नम्बर ३ मा निर्वाचनमा सहभागी सबै राजनीतिक दलले निर्वाचनमा गरेको घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतपत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्धता तयार गरी नेपाल सरकारको साझा स्वामित्व लिने विषय उल्लेख थियो । १० वैशाखभित्र राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ १७:४०
