सडकमा कहाँ पहिरो र जोखिम छ ‘रियल टाइम’ मा सूचित गर्ने प्रणाली लागु गर्न सांसद बुढाथोकीको माग
असार ३०, २०८३ १५:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य कृष्णहरि बुढाथोकीले देशमा भइरहेका सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ‘रोड इन्फर्मेसन एन्ड अपडेट सिस्टम’ सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बुढाथोकीले सडकको अवस्था र सम्भावित जोखिमका बारेमा नागरिकलाई तत्कालै जानकारी दिने संयन्त्र नहुँदा दैनिकजसो सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको धारणा राखे ।
सडक सुरक्षाको संवेदनशीलतामाथि जोड दिँदै उनले भने, “प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सडक पूर्वाधार कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह सहितको सहकार्यबाट उच्च जोखिमयुक्त सडकहरूको आधिकारिक अभिलेख तयार गरी नियमित रूपमा अद्यावधिक गर्ने र सडक एपबाट सर्वसाधारणलाई सोको जानकारी गराउने व्यवस्था लागु गरौं ।”
तत्काल सम्भव भएसम्म तीनवटै सरकारको समन्वयमा सडक पूर्वाधार सुरक्षित बनाउन विशेष कार्ययोजना सहित द्रुत कार्य सम्पन्न गर्न उनले आग्रह गरे ।
प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सडक पूर्वाधार कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह सहितको सहकार्यबाट उच्च जोखिमयुक्त सडकहरूको आधिकारिक अभिलेख तयार गरी नियमित रूपमा अद्यावधिक गर्ने र सडक एपबाट सर्वसाधारणलाई सोको जानकारी गराउने व्यवस्था लागु गर्नुपर्नेमा उनले जोड दिए ।
जोखिमयुक्त सडक खण्डहरूमा एम्बुलेन्स, उद्धार टोली, सुरक्षा निकाय तथा आवश्यक परे हवाई उद्धार समेत तत्काल परिचालन गर्न सकिने एकीकृत आपतकालीन उद्धार प्रणालीको विकास गर्ने एकीकृत आपतकालीन उद्धार सञ्जाल स्थापना गर्नुपर्ने माग समेत उनले राखे ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १५:२०
