close

डेटा सेन्टर, क्लाउड सेवा र साइबर सुरक्षा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

बैशाख २, २०८३ ७:४१

डेटा सेन्टर, क्लाउड सेवा र साइबर सुरक्षा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले डिजिटल अर्थतन्त्र निर्माणका लागि सञ्चार तथा सार्वजनिक पूर्वाधार, डेटा सेन्टर र साइबर सुरक्षाजस्ता क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा यो विषय उल्लेख गरिएको हो । 

सरकारले डिजिटल अर्थतन्त्र निर्माणका लागि सञ्चार तथा सार्वजनिक पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा, साइबर सुरक्षा, वैयक्तिक विवरणको गोपनीयता र सुरक्षा विधि तथा उच्चगतिको कनेक्टिभिटीमा प्राथमिकताका साथ लगानी गर्ने जनाएको छ ।

त्यस्तै स्वदेशी सफ्टवेयरलाई प्रोत्साहन गर्ने जनाइएको छ । “सरकारी र सर्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर नेपालमै विकास गर्न प्रोत्साहन गर्ने गरी सार्वजनिक खरिद नीतिमा सुधार गरिनेछ,” मस्यौदामा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले यो मस्यौदामाथि सरोकारवाला र सर्वसाधारणबाट राय-सुझाव माग गरेको छ । १० वैशाखभित्र प्राप्त सुझावलाई समेटेर अन्तिम रूप दिइने यो योजनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसँग आबद्ध गरी कार्यान्वयनमा लगिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ ७:४२