१५औं महाधिवेशन पेपरलेस बनाउने कांग्रेसको योजना, विद्युतीय भोटिङ मसिन प्रयोग हुने
असार २१, २०८३ २२:६
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो आगामी १५औं महाधिवेशनलाई प्रविधिमैत्री बनाउँदै निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन गर्ने निर्णय गरेको छ । ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले परम्परागत मतपत्रको साटो विद्युतीय भोटिङ मसिन (ईभीएम) वा पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ ।
समितिका सदस्यसचिव राजु कटुवालका अनुसार निर्वाचन प्रक्रिया सुरु भएलगत्तै निर्वाचन सम्बन्धी आचारसंहिता लागु हुने भएकाले त्यसको पूर्ण पालनाका लागि केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आग्रह गरिएको छ । विधानमा अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन अवधिभर आचारसंहिता पालना गर्नु सबैको दायित्व हुने समितिले जनाएको छ ।
यसपटकको निर्वाचनमा कांग्रेसले काठमाडौं उपत्यकाभित्र विशेष व्यवस्था समेत गरेको छ। काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका १५ वटै निर्वाचन क्षेत्रका साथै महानगरपालिका र नगरपालिकाहरूमा महिला कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ परिचालन गरिने निर्णय भएको छ ।
यसैगरी, निर्वाचन कार्यलाई थप व्यवस्थित र जनशक्ति सम्पन्न बनाउन कानुन व्यवसायी तथा अन्य पेशागत समूहहरूलाई स्वयंसेवकको रूपमा आह्वान गरी एउटा रोस्टर तयार गरिनेछ ।
उक्त रोस्टरमा सूचीकृत व्यक्तिहरूलाई आवश्यक अभिमुखीकरण प्रदान गरेर निर्वाचन अधिकृतको जिम्मेवारी दिइने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८३ २२:२२
