आफ्नो नाममा एकपछि अर्को फेक स्क्रिनशट भाइरल बनेपछि तनावमा सांसद महावीर पुन
बैशाख २, २०८३ २३:२१
काठमाडौँ । सांसद महावीर पुनले आफ्नो नाममा नक्कली स्क्रिनशट भाइरल बनेपछि चिन्ता प्रकट गरेका छन् । बुधबार सामाजिक सञ्जनलमा एक पोस्ट शेयर गर्दै उनले यस्ता फेक स्क्रिनशट प्रति सचेत रहन अनुरोध गरेका हुन् । "सावधान हुन अनुरोध - फेसबुकमा समाजका केही कुतत्वहरूले मैले भन्दै नभनेको कुरा मेरो फेसबुक आईडीको नक्कल गरेर त्यसैमा नानाभाँती कुराहरू पोस्ट गरिरहेका छन्," उनले भनेका छन् ।
पुनले त्यस खाले केही फेक स्क्रिनशटका उदाहरण समेत उल्लेख गरेका छन् । केही दिनदेखि नेपालले ऋण लिएको विषयमा सांसद पुनको एक नक्कली पोस्ट निकै भाइरल बनिरहेको छ । जसमा भनिएको छ, "नेपालले ऋण लियो भनेर टाउको दुखाउनु पर्दैन लाटाहरु, एकजना सांसद एउटा नेपालीको टाउकोमा ९२ हजार ऋण छ भनेर उफ्रेको देखें । विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकाको जनताको टाउकोमा १ करोड भन्दा बढी ऋण छ,, अब के अमेरिकाले ढुङ्गा बोक्न जानु त । सही परियोजनामा खर्च गर्न सकियो भने देश उभो लाग्छ,। ढुकुटी रित्याउने लाई प्रश्न गर्नु छैन ।"

त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राखिएको पुनको अर्को फेक पोस्ट पनि भाइरल बनेको छ । जसमा भनिएको छ, "ए ज्ञानेन्द्र भाई उप-सभामुख नपाएको झोकमा सरकार नै विदेशी हो चाहिँ नभनौँ न । म नि लोकतन्त्रलाई मान्ने मान्छे हो । अब म नि विदेशी दलाल भए त त्यसो भए ? कि त राष्ट्रवादी हुनलाई राप्रपामै आउनु पर्ने हो ?”

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको फोटो सहित राखिएको अर्को फेक पोस्ट पनि सामाजिक सञ्जालमा फैलिरहेको छ । "संसदमा २ मिनेट ढिलो आउने मान्छेलाई प्रश्न गर्ने व्यक्ति आफै संसदको २ बैठकमा सहभागी नभएको देख्छु त बाबै । अब त्यो मान्छेलाई प्रश्न गर्ने होला कि नहोला ? कि त उहाँले जितेको ठाउँका जनताको समस्या नै छैन ? के गर्न जिताएर पठाएछन् कुन्नि ?,” उक्त पोस्टमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ २३:२१
