नेपालमा औपचारिक रूपमै सुरु भयो आईबीएमको स्कुल प्रोगाम, एआई, ब्लकचेन र साइबर सुरक्षा पढाइने
बैशाख ३, २०८३ १३:२८
काठमाडौँ । विद्यालयस्तरका विद्यार्थीका लागि प्रविधि उन्मुख शिक्षा दिने उद्देश्यले नेपालमा आईबीएम स्कुल कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ । एसियन ई-लर्निङ प्रालीले विश्वविख्यात प्रविधि कम्पनी आईबीएम र भारतको बैङ्गलोरस्थित ट्रान्सन्युरोन टेक्नोलोजिजसँगको साझेदारीमा यो कार्यक्रम सुरु गरेको हो ।
सोमबार ललितपुरको गोदावरीस्थित सेन्ट जेभियर स्कुलबाट यो कार्यक्रमको औपचारिक सुरुवात गरिएको एसियन ई-लर्निङ प्रालीका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले बताए । उनका अनुसार आईबीएम स्कुलको कार्यक्रम डेढ वर्ष पहिले नै नेपालमा ल्याउने घोषणा गरिएको थियो । त्यसपछि कर्मचारीहरूलाई आवश्यक तालिम दिने र अन्य प्रक्रियाका कारण हाल आएर औपचारिक रूपमा सुरु गरिएको हो । “शैक्षिक सत्रको सुरुवातदेखि नै यो कोर्स राख्नु पर्ने भएकाले पनि यति समय लागेको हो,” त्रिपाठीले भने । कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा पनि सोही दिनदेखि यो कार्यक्रम सुरु गरेको उनले जानकारी दिए ।
कस्तो छ आईबीएम स्कुल प्रोगाम ?
कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित आईबीएम स्कुल प्रोगाम अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ब्लकचेन र साइबर सुरक्षाका विषयहरू समावेश छन् । हरेक कक्षाका कोर्सहरू ४० देखि ६० घण्टासम्मको हुने उनले जानकारी दिए ।
आईबीएमका कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको छ । जसमा एक्स्प्लोरर, डिस्कभरर र इनोभेटर गरेर तीन तह रहेका छन् । कार्यक्रमको पहिलो चरण अन्तर्गत विद्यार्थीलाई प्रविधिप्रति जिज्ञासु बनाउन सक्ने पाठ्यक्रमहरू समावेश गरिएका छन् । यी कक्षा लिएपछि विद्यार्थीले एआई, ब्लकचेन तथा साइबर सुरक्षाका विषयमा आधारभूत जानकारी पाउनेछन् ।
डिस्कभरर अन्तर्गत विद्यार्थीहरूले प्रविधिका बारेमा थप गहिरिएर बुझ्ने मौका पाउनेछन् । इनोभेटर तहमा पुग्दा उनीहरूले आफ्नै नयाँ नयाँ आइडिया ल्याएर परियोजना तयार पार्न सक्नेछन् ।
त्रिपाठीले भने, “अहिलेको समयमा बाल्यकालदेखि नै प्रविधिको बारेमा जानकारी लिन आवश्यक छ । कक्षा ५ बाट नै यो कार्यक्रममा सहभागी हुने विद्यार्थीले +२ तहमा पुग्दासम्म आफ्नै आईडियाले केही नयाँ इनोभेसन गर्न सकुन् भन्ने यो कार्यक्रमको लक्ष्य हो ।” नेपाली शैक्षिक प्रणाली प्रमाणपत्रमा मात्र केन्द्रित भएको समयमा डिग्री मात्र नभएर सीप र उद्यमशीलता विद्यार्थीलाई प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको उनले बताए ।
यसरी माध्यमिक तहमा नै नयाँ परियोजना तयार पारेर उद्यमी बन्न चाहने विद्यार्थीका लागि लगानी जुटाउन रियालिटी टेलिभिजन शो ‘शार्क ट्याङ्क’ जस्तै ढाँचामा स्कुल शार्क ट्याङ्क समेत ल्याउने योजना रहेको उनले जानकारी दिए । यो कार्यक्रम विद्यालयहरूले अतिरिक्त क्रियाकलापको रूपमा राख्न सक्नेछन् । कार्यक्रमका लागि विद्यालयले हप्ताको एकदेखि डेढ घण्टासम्मको समय छुट्याउनु पर्ने हुन्छ । उनले थपे, “हाम्रो कोर्स कक्षा ५ देखि १२ सम्मका लागि डिजाइन गरिएको हो । त्यसैले विद्यालयले पुरै कोर्स एकै पटक लागु गर्न सक्छ ।”
हालका लागि भने कक्षा ९ र १० मा सिकाइने सामग्री नै कक्षा ११ र १२ मा सिकाइने उनले बताए । “सुरुमै त विद्यार्थीले आधारभुत कुराहरू सिकाउनुपर्ने हुन्छ । त्यही भएर प्लस टु लेभलमा पनि कक्षा ९ र १० को पाठ्यक्रम राख्छौँ । तर आईबीएमका कोर्स तल्लो कक्षाबाट लिँदै आएका विद्यार्थीहरूले प्लस टुमा पढ्ने कोर्स एड्भान्स हुन्छ ।”
यो कार्यक्रम सञ्चालनका लागि विद्यालयकै कम्प्युटर शिक्षकहरूलाई आईबीएमका विज्ञहरूले तालिम दिनेछन् । त्यसपछि तालिम प्राप्त शिक्षकहरूले नै विद्यार्थीहरूलाई पढाउनेछन् । बिच बिचमा भने आईबीएमका विज्ञहरूले ‘रिमोट मेन्टरिङ’ प्रदान गर्ने र उनीहरूले नै अन्तिम मूल्याङ्कन गर्ने बताइएको छ ।
यो कार्यक्रमको शुल्क प्रति विद्यार्थी मासिक ८५० देखि २,१०० रुपैयाँसम्म पर्न सक्ने बताइएको छ । प्रबन्ध निर्देशक त्रिपाठीले भने, “कुनै विशेष तह वा कक्षालाई मात्र पढाउँछौँ भनेर विद्यालयले भन्ने हो भने त्यो पनि हामी उपलब्ध गराउँछौँ । तर त्यसका लागि कम्तीमा १०० जना विद्यार्थी हुनुपर्छ ।”
सामुदायिक विद्यालयमा समेत उक्त कोर्स राख्न सकिने उनले बताए । प्रबन्ध निर्देशक त्रिपाठीले भने, “सामुदायिक विद्यालयमा पनि प्रविधिसँग सम्बन्धित शिक्षाको पहुँच पुर्याउने हाम्रो योजना छ । यस्ता विद्यालयहरूले चासो देखाएमा हामी सहुलियतका लागि आईबीएमसँग छलफल गर्न सक्छौँ ।”
विद्यालय स्तरमा मात्र नभई आईबीएमले स्नातक र स्नातकोत्तर तहमा पनि विभिन्न कोर्सहरू अघि सारेको छ । साथै, प्रविधिसँग सम्बन्धी विषय अध्ययन नगरेका विद्यार्थीहरूका लागि पनि ‘एआई फर मिडिया’, ‘एआई फर डक्टर्स’ जस्ता कोर्सहरू उपलब्ध रहेको उनले बताए ।
आईबीएम विश्वको पहिलो पर्सनल कम्प्युटर बनाउने कम्पनी हो । यो कम्पनीले लाखौँ पेटेन्ट सुरक्षित गरेको छ । वाट्सन सुपरकम्प्युटर बनाएको यो कम्पनीका ६ जना वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले नोबेल पुरस्कार समेत जितेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १३:२८
