‘१० प्रतिशत दूरसञ्चार सेवा दस्तुर २५ गतेभित्रै जम्मा गर्नू, प्राधिकरणलाई विवरण बुझाउनू’
बैशाख ५, २०८३ १९:६
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई ग्राहकबाट असुल गरिएको १० प्रतिशत दूरसञ्चार सेवा दस्तुर (टीएससी) राजस्व खातामा दाखिला गरी सोको जानकारी अनिवार्य रूपमा प्राधिकरणलाई गराउन निर्देशन दिएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
आर्थिक ऐन, २०८२ को व्यवस्थाअनुसार टेलिफोन, मोबाइल र इन्टरनेट जस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १० प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुल गर्नुपर्ने प्रावधान छ । उक्त ऐनको दफा १४ को उपदफा ५ ले दूरसञ्चार सेवा दस्तुरको प्रशासन प्राधिकरणले निर्धारण गरे बमोजिम हुने व्यवस्था गरेको छ ।
प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले प्रत्येक महिना ग्राहकबाट असुल गरेको दस्तुर अर्को महिनाको २५ गतेभित्र अनिवार्य रूपमा राजस्व खातामा जम्मा गरिसक्नुपर्नेछ । तर, कतिपय सेवा प्रदायकले राजस्व दाखिला गरे पनि सोको विवरण र कागजात प्राधिकरणलाई जानकारी नगराएको पाइएकाले प्राधिकरणले यस्तो ताकेता गरेको हो ।
प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सबै कम्पनीहरूले अबदेखि नियमित रूपमा राजस्व दाखिला गरी सोको नियमानुसारको विवरण र सम्बन्धित कागजातहरू प्रत्येक महिना प्राधिकरणमा बुझाउनुपर्नेछ ।
यसअघि आर्थिक ऐन, २०८१ मा यस्तो दस्तुरको प्रशासन आन्तरिक राजस्व विभागले गर्ने व्यवस्था रहेकोमा नयाँ आर्थिक ऐनले यो जिम्मेवारी दूरसञ्चार प्राधिकरणलाई तोकेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ २०:२
