close

नेपालको वित्तीय क्षेत्रको साइबर सुरक्षा सुदृढ गर्न वाईबी सोलुसन्स र सफ्टसिल्डबीच रणनीतिक साझेदारी

टेकपाना टेकपाना

बैशाख ७, २०८३ ८:५९

नेपालको वित्तीय क्षेत्रको साइबर सुरक्षा सुदृढ गर्न वाईबी सोलुसन्स र सफ्टसिल्डबीच रणनीतिक साझेदारी

काठमाडौँ । नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा बढ्दो साइबर जोखिम न्यूनीकरण गर्न ‘वाईबी सोलुसन्स’ र भारतको ‘सफ्टसिल्ड टेक्नोलोजी’बीच रणनीतिक साझेदारी घोषणा भएको छ । काठमाडौँको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौताको घोषणा गरिएको हो ।

यस सम्झौतासँगै अब यी दुई कम्पनीले संयुक्त रूपमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई अत्याधुनिक ‘एसआईईएम’ प्रविधि र ‘सेक्युरिटी अपरेसन्स सेन्टर’ सेवा उपलब्ध गराउनेछन् । सम्झौता अनुसार वाईबी सोलुसन्सले प्रत्यक्ष रूपमा नेपाली ग्राहकलाई सेवा दिनेछ भने सफ्टसिल्डले आवश्यक प्राविधिक क्षमता (ब्याकइन्ड सपोर्ट) प्रदान गर्नेछ । यसबाट नेपाली वित्तीय संस्थाले अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

वाईबी सोलुसन्सले एगिस इन्फिनिटी सोलुसन्स र सफ्टसिल्डसँगको सहकार्यमा आयोजना गरेको ‘नेपालको डिजिटल भविष्यको सुरक्षा’ (Securing Nepal’s Digital Future: Innovation, Data & Trust in BFSI) विषयक कार्यक्रममा उक्त घोषणा गरिएको हो । कार्यक्रममा ‘क’ र ‘ख’ वर्गका बैंक, बीमा कम्पनी, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल), सरकारी निकाय र दूरसञ्चार कम्पनीका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वाईबी सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सलिल भट्टराईले विश्वव्यापी सहकार्यमार्फत नेपालमा सुरक्षित र नवीनतम प्रविधि भित्र्याउन आफ्नो कम्पनी प्रतिबद्ध रहेको बताए ।

यस्तै, थिङ्ससाइबर प्रालिका सीईओ आशिष खनालले सहजीकरण गरेको प्यानल छलफलमा व्यक्तिगत पहिचानयोग्य विवरण (पीआईआई) को सुरक्षा, नियामक निकायको मापदण्ड पालना र संस्थागत डेटा सुरक्षा संस्कृति विकासमा जोड दिइएको थियो । छलफलमा सहभागी विज्ञले साइबर जोखिम पहिचान गर्न एआईको प्रयोग बढाउनुपर्ने र वित्तीय संस्थामा ‘जिरो ट्रस्ट नेटवर्क आर्किटेक्चर’ लागू गर्नु अनिवार्य भइसकेको औँल्याए ।

कार्यक्रममा डेटा लस प्रिभेन्सन, सुरक्षित कनेक्टिभिटीका लागि एसडी-व्यान र डिजिटल पेमेन्टका लागि हार्डवेयर सेक्युरिटी मोड्युल जस्ता प्रविधिबारे प्रस्तुति दिइएको थियो ।

डिजिटल रूपान्तरणमा गइरहेको नेपालको वित्तीय क्षेत्रलाई सुरक्षित राख्न साइबर सुरक्षालाई प्रविधिमा मात्र सीमित नराखी संस्थागत सुशासन, प्रक्रिया र संगठनात्मक चेतनासँग जोडेर समग्र दृष्टिकोणबाट अघि बढाउनुपर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ ८:५९