close

प्रोलिंक मोबाइल वाईफाई डिभाइस नेपाली बजारमा, सिम कार्ड राखेर एकसाथ १६ जनासम्मले चलाउन मिल्ने

टेकपाना टेकपाना

बैशाख ७, २०८३ १२:३२

प्रोलिंक मोबाइल वाईफाई डिभाइस नेपाली बजारमा, सिम कार्ड राखेर एकसाथ १६ जनासम्मले चलाउन मिल्ने

काठमाडौँ । प्रोलिंकको नयाँ पोर्टेबल मोबाइल वाईफाई डिभाइस डीएल-७२०३ ई (Prolink DL-7203E) नेपाली बजारमा आएको छ । नेपालका लागि प्रोलिंकको आधिकारिक वितरक कम्पनी म्याक्स इन्टरनेसनलले यसलाई बजारमा उपलब्ध गराएको हो ।

यो पोर्टेबल वाईफाई र पावर बैङ्क दुवै सुविधा उपलब्ध भएको टु-इन-वन डिभाइस हो । जुन लामो यात्रा गर्ने यात्रु तथा दैनिक इन्टरनेट प्रयोगका लागि प्रभावकारी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २.४ गिगाहर्ज फ्रिक्वेन्सीमा वाईफाई सेवा उपलब्ध हुने यो डिभाइसले फोरजी एलटीई सपोर्ट गर्छ । प्रयोगकर्ताले यसमा फोरजी नानो सिम कार्ड प्रयोग गरी सजिलै वाई-फाई डिभाइसको रूपमा प्रयोग गर्न सक्नेछन् ।

एकै पटक १६ वटा डिभाइससम्म कनेक्ट गर्न सकिने यो डिभाइसले अधिकतम ३०० एमबीपीएससम्मको कनेक्टिभिटी प्रदान गर्ने दाबी कम्पनीले गरेको छ । जसले गर्दा ब्राउजिङ, भिडिओ स्ट्रिमिङ तथा भिडिओ कल सहजै गर्न सकिने बताइएको छ ।

डिभाइसमा ६००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले यो डिभाइस करिब २५ घण्टासम्म निरन्तर चल्ने उल्लेख छ । साथै यो पावर बैङ्कका रूपमा पनि प्रयोग गर्न सकिने भएकाले मोबाइल वा अन्य डिभाइस चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

यसमा इन्ट्युटिभ एलईडी डिस्प्ले समेत रहेको छ । जसबाट नेटवर्क स्टाटस, ब्याट्री लेभल लगायतका जानकारी सजिलै हेर्न सकिन्छ । यी सम्पूर्ण फिचर युक्त यो डिभाइसको बजार मूल्य १५ हजार रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १२:३२