close

गुगल क्रोमको गोप्य पीडीएफ टुल, डकुमेन्टमा सामान्य एडिट, हाइलाइट र हस्ताक्षर गर्न सहज हुने

टेकपाना टेकपाना

बैशाख ८, २०८३ १६:५१

गुगल क्रोमको गोप्य पीडीएफ टुल, डकुमेन्टमा सामान्य एडिट, हाइलाइट र हस्ताक्षर गर्न सहज हुने

काठमाडौँ । गुगलको क्रोम ब्राउजरले एउटा यस्तो गोप्य पीडीएफ टुल लुकाएर राखेको छ, जुन प्रत्येक प्रयोगकर्ताका लागि निकै उपयोगी साबित हुन सक्छ । धेरै प्रयोगकर्ताहरू क्रोममा भित्रै निर्मित (built-in) पीडीएफ भ्युअर रहेको कुराबाट अनभिज्ञ हुन सक्छन्, तर यो केवल फाइल हेर्नका लागि मात्र नभई डकुमेन्टहरूमा एनोटेसन र हस्ताक्षर गर्न समेत सक्षम छ ।

यो लुकेको एभिटर सोचेभन्दा धेरै राम्रो छ । यो टुलको प्रयोग गरेर तपाईं डकुमेन्टका विशिष्ट अंशहरूलाई हाइलाइट गर्न सक्नुहुन्छ र हातको प्रयोग गरी आफ्नो हस्ताक्षर समेत थप्न सक्नुहुन्छ ।

कसरी काम गर्छ ?

यो एनोटेसन फिचर क्रोमको भर्सन १४५ सँगै आएको हो । त्यसैले यो सुविधा प्रयोग गर्नुअघि तपाईंको ब्राउजर पूर्ण रूपमा अपडेट भएको सुनिश्चित गर्नुपर्छ । यसले सुरक्षाका नयाँ सुधारहरू पनि उपलब्ध गराउँछ ।

सबैभन्दा पहिला आफूले एडिट गर्न चाहेको पीडीएफ फाइललाई आफ्नो कम्प्युटरबाट सिधै क्रोम ब्राउजरको नयाँ ट्याबमा तानेर ल्याउनुहोस् (Drag and Drop) । क्रोमको पीडीएफ भ्युअरमा आफ्नै टास्कबार हुन्छ । त्यहाँ रहेको 'ड्र' (Draw) आइकन (जुन केरमेट गरेको जस्तो देखिन्छ) मा क्लिक गरेपछि ब्राउजरको दायाँ तर्फ विभिन्न विकल्पहरू भएको साइडबार खुल्नेछ । अब साइडबारको माथिल्लो भागबाट तपाईंले पेन, हाइलाइटर वा इरेजर मध्ये कुनै एक विकल्प छान्न सक्नुहुन्छ ।

पेन वा हाइलाइटर चयन गरिसकेपछि तपाईंले त्यसको साइज र रङ पनि आफ्नो इच्छाअनुसार बदल्न सक्नुहुन्छ । त्यसपछि माउस वा ट्र्याकप्याडको सहायताले पीडीएफमा कोर्न वा हाइलाइट गर्न सकिन्छ । यदि केही गल्ती भएमा इरेजर बटन प्रयोग गरेर हटाउन सकिन्छ ।

साथै, त्यहाँ 'अनडु' (undo) र 'रिडु' (redo) बटनहरू पनि उपलब्ध छन् । एडिटिङको कार्य सकिएपछि डाउनलोड आइकनमा क्लिक गरेर तपाईंले उक्त पीडीएफलाई आवश्यक परिवर्तनसहित वा बिना परिवर्तन सेभ गर्न सक्नुहुन्छ । यसका साथै फाइललाई सिधै गुगल ड्राइभमा सेभ गर्ने विकल्प पनि उपलब्ध छ ।

यदि तपाईंलाई यो टूल भन्दा थप एड्भान्स सुविधाहरू आवश्यक छन् भने अन्य उत्कृष्ट पीडीएफ एडिटरहरू पनि बजारमा उपलब्ध छन् । तर सामान्य काम र छिटो सम्पादनका लागि क्रोमको यो गोप्य टुल निकै प्रभावकारी देखिएको छ ।

गुगलले क्रोममा अन्य परिवर्तनहरू पनि गरिरहेको छ । यसमा नयाँ स्प्लिट भ्यु फिचर, एआई क्षमता बढाउनका लागि क्रोम स्किल्स (Chrome Skills) र प्रोडक्टिभिटी बढाउने नयाँ एआई मोड जस्ता फिचरहरू समावेश भइसकेका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ १६:५१