'हेर्ने कथा'बाट चर्चित प्रकाशको दुःखेसो: युट्युबरहरूले मलाई बाँच्नै नदिने भए
बैशाख ९, २०८३ ९:५२
काठमाडौँ । 'हेर्ने कथा'को 'हराएका वर्षहरू' एपिसोडमार्फत चर्चामा आएका प्रकाश मोक्तान (काले तामाङ) यतिबेला युट्युबर तथा सामाजिक सञ्जालका कारण अत्यधिक तनावमा देखिएका छन् । लामो समयको बिछोडपछि परिवारसँग मिलन गराइदिएको त्यो भिडिओले धेरैको मन छोएको थियो । जसका कारण उनी एकाएक देशैभर चर्चित बने । तर, अहिले त्यही चर्चा उनका लागि बोझ बन्न थालेको छ ।
प्रकाशका पछिल्लो समयका टिकटक भिडिओले उनी आफ्नो निजी जीवनमा युट्युबरहरूको अनावश्यक प्रवेशबाट वाक्क भएका देखिन्छन् । विशेष गरी उनको विवाह र पछिल्ला व्यक्तिगत सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी हुनुका साथै युट्युबरले पारिवारिक र निजी मामिलाहरू 'कन्टेन्ट'को रूपमा बेचिरहेका छन् । प्रकाशले आक्रोश पोख्दै भनेका छन्, "के मैले बिहे गर्दा पनि पत्रकारहरूलाई नै सोध्नुपर्ने हो ? के मेरो जिन्दगीको सवाल मसँग छैन ?" उनले आफू आफ्नो खुसीले बाँच्न पाउनुपर्ने र अर्काको लहलहैमा लाग्न नसक्ने स्पष्ट पारेका छन् ।
उनले युट्युबरहरूले आफ्नो घरमा गएर आमाबुबालाई 'नानाभाँती' कुरा सोधेर हैरान पारेको आरोप लगाएका छन् । विशेष गरी 'सोल्टी' भनिने युट्युबर विजय साम्पाङले आफ्नो गाउँ खोटाङ पुगेर पारिवारिक विषयमा चासो राखेकोमा उनले कडा आपत्ति जनाएका छन् । उनले प्रश्न गरेका छन्, "मेरो चासो किन चाहियो ? के मेरो जिम्मा त्यो सोल्टीले लिन खोजेको हो ?"
प्रकाशले आफ्नो नाम र भिडिओ प्रयोग गरेर धेरैले पैसा कमाएको तर आफूलाई भने 'काम गर्ने कालु, मकै खाने भालु' जस्तो बनाइएको गुनासो गरेका छन् ।
कतिपय प्रयोगकर्ताहरूले उनलाई 'रिसाउन नजानेको' भन्दै मजाक गरिरहेका छन् भने कतिपयले उनको सुहागरात जस्तो अत्यन्तै निजी विषयमा समेत भद्दा प्रश्नहरू सोधिरहेका छन् । केही शुभचिन्तकहरूले विवाह र व्यक्तिगत जीवन प्राइभेसीको विषय हुने भन्दै पत्रकारहरू (युट्युबर) ले यस्ता कुरामा प्रश्न सोध्नु गलत भएको बताएका छन् । प्रकाश रिसाउनु स्वाभाविक भएको र मिडियाले उनको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नुपर्ने उनीहरूको धारणा छ ।
अर्कोतर्फ कतिपयले उनलाई आजको यो स्थानमा पुर्याउन पत्रकारहरूकै मुख्य भूमिका रहेको दाबी गरेका छन् । "पत्रकारले गर्दा नै हजुरको भविष्य उज्ज्वल भएको हो" भन्दै उनलाई नरिसाउन र जसले यहाँसम्म ल्यायो उसलाई नभुल्न सुझाव दिनेहरूको पनि कमी छैन ।
पछिल्लो समय टिकटकमा उनका भिडिओहरूमा 'अलि रिसाएको जस्तो गर्नु न दाइ' भन्दै उनलाई जिस्क्याउने र उनका हरेक कुरामा चासो राख्ने प्रवृत्ति बढेको छ । कतिपयले त उनले बोलेका कुराहरू समेत कसैले सिकाएको जस्तो सुनिने भन्दै खिल्ली उडाइरहेका छन् ।
लामो समय हराएर फेला परेका प्रकाशका लागि यो नयाँ संसार र यसको चमकधमक जति सुखद थियो, युट्युबरहरूको भीड र गोपनीयतामाथिको हस्तक्षेपले उनलाई उत्तिकै सास्ती दिएको देखिन्छ । आफ्नो हराएको जीवन फिर्ता पाएका प्रकाश अहिले 'बाँच्नै नदिने' गरी पछ्याउने क्यामेराहरू र सामाजिक सञ्जालको अनावश्यक दबाबबाट जोगिन सङ्घर्ष गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ ९:५२
