close

विपिनबारे भ्रम फैलाउँदै टिकटकर सजन धिताल, अन्त्येष्‍टि भइसकेका व्यक्तिलाई ‘फर्किए’ भन्दै झुटो प्रचार

टेकपाना टेकपाना

बैशाख १०, २०८३ ८:५२

विपिनबारे भ्रम फैलाउँदै टिकटकर सजन धिताल, अन्त्येष्‍टि भइसकेका व्यक्तिलाई ‘फर्किए’ भन्दै झुटो प्रचार

 

काठमाडौँ । हमासको नियन्त्रणमा रहेकै अवस्थामा ज्यान गुमाएका र नेपाल ल्याएर अन्त्येष्‍टि समेत गरिसकिएका सुदूरपश्चिमका विद्यार्थी विपिन जोशीको बारेमा टिकटकमा भ्रामक प्रचार भइरहेको पाइएको छ । टिकटकमा ‘मिस्टर काभ्रेली सजन धिताल’ नाम गरेका एक प्रयोगकर्ताले जोशीको मृत्यु भइसकेको तथ्यलाई लुकाएर उनी नेपाल फर्किएको र रिहा भएको भन्दै शृङ्खलाबद्ध भिडिओ सार्वजनिक गरिरहेका छन् ।

विगत छ महिनाअघि नै जोशीको शव नेपाल ल्याई कञ्चनपुरको महाकाली किनारमा अन्त्येष्‍टि गरिएको थियो । तर पनि ती टिकटकरले विपिन जीवितै रहेको र नेपाल आइसकेको दाबी गर्दै आम सर्वसाधारणलाई भ्रममा पारिरहेका हुन् । उनले विपिनले बोलेको पुरानो भिडिओको आवाज र तत्कालीन समयमा सञ्चारमाध्यममा आएका सकारात्मक समाचारका अंशलाई जोडेर भ्रामक सामग्री तयार पार्ने गरेका छन् ।

१६ हजारभन्दा बढी फलोअर रहेका यी टिकटकरले आफूलाई स्वर्गीय विपिन जोशीको रूपमा प्रस्तुत गर्दै अहिलेसम्म आधा दर्जनभन्दा बढी यस्ता भिडिओ पोस्ट गरिसकेका छन् । 

ती भिडिओमा भ्युअर्सको आकर्षण समेत देखिएको छ । उनको एउटै भिडिओ २३ लाखभन्दा बढी पटक हेरिएको छ भने त्यसले ५२ हजारभन्दा बढी लाइक पाएको छ । सुरुमा आफ्नै सामान्य भिडिओ राखिरहेका यी प्रयोगकर्ताले भ्युज नपाएपछि त्यसैको लोभमा विपिनबारे भ्रम फैलाउन थालेको देखिन्छ । 

विपिनबारे भ्रम फैलाउन सुरु गरेको पहिलो भिडिओले नै तीन लाख बढी भ्युज पाएपछि उनी हौसिएर थप भ्रामक सामग्री बनाउन थालेका हुन् ।  ती प्रयोगकर्ताले कहिले १६ अप्रिल २०२६, कहिले १७ अप्रिल २०२६ त कहिले २० र २१ अप्रिल २०२६ मा विपिन रिहा हुन लागेको र नेपाल आइसकेको भन्दै फरक-फरक मितिमा झुटो दाबी प्रस्तुत गरेका छन् ।

यसरी हाल सक्रिय रूपमा उनले पछिल्लो समय झुटा दाबी प्रस्तुत गर्दै विपिनको परिवारसँगै आम मानिसको संवेदना र भावनासँग खेलबाड गरिरहेका छन् । यसरी एउटा गम्भीर राष्ट्रिय शोकको विषयलाई ‘भ्युज र लाइक’ कमाउने माध्यम बनाउँदा पीडित परिवार र आम नागरिकमा गलत सन्देश गइरहेको भन्दै केही प्रयोगकर्ताले आलोचना गरेका छन् ।

टिकटकको कमेन्ट बक्समा केही प्रयोगकर्ताले उनलाई गाली गर्दै यस्तो भ्रम नफैलाउन र मानवीय संवेदनाको ख्याल गर्न चेतावनी दिएका छन् । तर, कतिपय झुक्किएका सर्वसाधारणले भने उनको भनाइलाई विश्वास गर्दै खुसी र आश्वासन व्यक्त गरिरहेका देखिन्छन् । 

वास्तवमा इजरायल-हमास युद्धका क्रममा बन्धक बनाइएका विपिन जोशीको हत्या भएको पुष्टि भएपछि डीएनए र विधिविज्ञान परीक्षण गरी उनको शव नेपाल ल्याइएको थियो । इजरायली राजदूत स्मूलिक एरी बास र नेपाल सरकारका प्रतिनिधिको उपस्थितिमा जोशीको शवलाई राजकीय सम्मानका साथ कञ्चनपुरमा दाहसंस्कार गरिएको थियो । इजरायलको विधिविज्ञान परीक्षणले समेत उनको टाउकोमा गोली प्रहार गरी हत्या भएको पुष्टि गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ ८:५२