डिजिटल भुक्तानीको रिसिप्ट डाउनलोड गर्न आएन ? जान्नुहोस् मोबाइल बैंकिङ र वालेटको प्रक्रिया
बैशाख १८, २०८३ १९:३४
काठमाडौँ । कल्पना गर्नुस्, तपाईंले कुनै पसल वा रेस्टुरेन्टमा सामान खरिद गरेपछि क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्नुभयो । तपाईंको मोबाइलबाट पैसा काटिएको नोटिफिकेसन त आयो, तर पसलेले आफ्नो खातामा पैसा नआएको दाबी गरे ।
यस्तो अवस्थामा यदि तपाईंले भुक्तानीको स्क्रिनशट लिन बिर्सनुभयो वा भुक्तानी लगत्तै एप बन्द गर्नुभयो भने निकै तनाव हुन सक्छ । प्रमाण देखाउनका लागि आफूसँग न त स्क्रिनशट हुन्छ, न त तत्काल के गर्ने भन्ने मेसो पाइन्छ ।
इन्टरनेटको समस्या वा प्राविधिक कारणले कहिलेकाहीँ पैसा काटिने तर अर्को खातामा रकम जम्मा नहुने समस्या भइरहन्छ । यस्तो बेला आफूले गरेको भुक्तानीको आधिकारिक र विस्तृत विवरण (रिसिट अर्थात् चलनचल्तीमा रिसिप्ट) देखाउन सकेमा तत्कालै समस्या समाधान गर्न सहज हुन्छ ।
आज हामी तपाईंको मोबाइल बैंकिङ वा डिजिटल वालेटबाट पुराना कारोबारको विस्तृत विवरण र बिल (पीडीएप रिसिट) कसरी डाउनलोड गर्ने भन्नेबारे जानकारी दिँदैछौँ:
मोबाइल बैंकिङमा कुनै एक कारोबारको पीडीएफ कसरी डाउनलोड गर्ने ?
मोबाइल बैंकिङमा ‘Recent Transaction’, ‘Transcation’, ‘Transcation Details’ लगायत नाम दिइएको फिचरमा पुराना कारोबारको बारेमा हेर्न सकिन्छ । केही बैंकको एपमा त्यही फिचरमा गएर कुनै कारोबारमा ट्याप गरेर सहजै रिसिट डाउनलोड गर्ने सुविधा छन् ।
तर, सबै मोबाइल बैंकिङमा सोझो तरिकाबाट कुनै एक कारोबारको रिसिट डाउनलोड गर्ने सुविधा उपलब्ध नहुन सक्छन् । त्यस्तो अवस्थामा एप लगइन गर्ने बित्तिकै सबैभन्दा अगाडि आउने होम फिडमा रहेका विभिन्न मेन्युमध्ये ‘Payment History’ मा ट्याप गर्नुहोस् ।

त्यसपछि तपाईँका पछिल्ला कारोबारहरूको विवरण खुल्छ । त्यसपछि कारोबारको सबैभन्दा बायाँ रहेको तीन ओटा थोप्ला भएको ठाउँमा ट्याप गर्नुहोस् ।

त्यसपछि ‘View Details’ मार्फत कारोबारको विस्तृत विवरण हेर्न सक्नुहुन्छ । जहाँ भुक्तानीको रिफेरेन्स कोड, भुक्तानीको समय, माध्यम, भुक्तानी गरिएको खाताको विवरण, सेवाको नाम, मूल्य, रिमार्क्स, भुक्तानीको स्थिति लगायतका जानकारी सहितको ‘Transaction Invoice’ हेर्न सक्नुहुन्छ ।
यस्तै ‘Download Reciept’ मा ट्याप गरेर कारोबारको विस्तृत विवरणलाई पीडीएफ फर्म्याटमा डाउनलोड गरेर आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।

केही एपमा भने लगइन गर्ने बित्तिकै ‘Payment History’ को मेन्यु नहुन सक्छन् । त्यस्तो अवस्थामा ‘Edit Menu’ मा ट्याप गर्नुहोस् ।

त्यसपछि स्क्रोल गरेर ‘Payment History’ भएको ठाउँमा जानुहोस् ।

अब ‘Payment History’ लाई ‘Drag’ गर्दै माथितिर लैजानुहोस् । त्यसपछि ‘Payment History’ लाई सुरुवाति मेन्यु भएतिर राख्नुहोस् र ‘Save’ गर्नुहोस् । यति गरेपछि ‘Home’ बारमा सहजै ‘Payment History’ को मेन्यु भेट्न सकिन्छ ।

अब तपाईँले होम पेजमा सहजै ‘Payment History’ फेला पारेर यसबाट भुक्तानीको विवरण डाउनलोड गर्न सक्नुहुनेछ ।

तर कहिलेकाँही ‘Home’ पेजको मेन्यु बार बाहेक अन्य स्थानमा पनि ‘Payment History’ राखिएका हुन सक्छन् । कुनै मोबाइल बैङ्किङले ‘Invoice History’ नामले पनि यसलाई राखि दिएको हुन्छ । यदि मेन्यु बारमा भेटिएन भने ‘More’ पेजमा गएर पनि यो फेला पर्न सक्छ ।

वालेटमा कसरी डाउनलोड गर्ने ?
मोबाइल बैङ्किङमा जस्तै मोबाइल वालेटमा पनि पुराना कारोबारहरूको विस्तृत विवरण डाउनलोड गर्न सकिने सुविधा छन् । तर, वालेटमा झनै सहज तरिकाले डाउनलोड गर्न सकिन्छ । उदाहरणका लागि ‘खल्ती’ वालेटमा कारोबारको विवरण डाउनलोड गर्न ‘transaction’ मा ट्याप गर्नुहोस् ।

‘Transaction’ मा कारोबारको पुराना विवरणहरू हेर्न सकिन्छ । अब आफूलाई विस्तृत विवरण चाहिएको कारोबारमा ट्याप गर्नुहोस् ।

ट्याप गर्ने बित्तिकै कारोबारको विस्तृत विवरण खुल्छ । जहाँ ‘Download Receipt’ को विकल्प समेत उपलब्ध छ । यहाँ ट्याप गरेर तपाईँले कारोबारको पीडीएफ डाउनलोड गर्न सक्नुहुन्छ ।

यस्तै, इसेवामा कारोबारको विवरण डाउनलोड गर्नका लागि सबैभन्दा पहिला एप खोलेर ‘Statement’ मा जानुहोस् ।

त्यहाँ ट्याप गरेपछि पछिल्ला कारोबारको विवरण देख्न सकिन्छ । तीमध्ये कुनै एक कारोबारमा ट्याप गर्नुहोस् । त्यहाँ कारोबारको विस्तृत विवरण खुल्नेछ । कारोबारको विवरणको सबैभन्दा माथि ‘PDF’ देख्न सकिन्छ । त्यस आइकनमा ट्याप गर्नुहोस् ।

त्यहाँबाट तपाईँले कारोबारको पूरा विवरण डाउनलोड गरेर आफ्नो अनुकूलता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १९:३४
