जिमेल, ड्राइभ र क्यालेन्डर सहितका वर्कस्पेस एपको लोगो परिवर्तन गर्दै गुगल
बैशाख १९, २०८३ ११:४६
काठमाडौँ । गुगलले जिमेल, गुगल ड्राइभ, डक्स, क्यालेन्डर सहितका वर्कस्पेस एपको आइकन डिजाइन परिवर्तन गर्ने तयारी गरेको छ । ‘नाइन टु फाइभ गुगल’को रिपोर्ट अनुसार कम्पनीले यी एपको नयाँ डिजाइन परीक्षण गरिरहेको छ ।
केही महिनाअघि म्याप्स र फोटोजको आइकन परिमार्जन गरेको गुगलले अब वर्कस्पेस एपमा ‘ग्रेडियन्ट’ डिजाइन लागू गर्न लागेको हो । सार्वजनिक भएको प्रारम्भिक डिजाइन अनुसार गुगलले हरेक आइकनमा आफ्ना चार ओटै ब्रान्ड कलर प्रयोग गर्ने नीति परिमार्जन गरेको छ ।

हाल चार ओटा कलर रहेको गुगल ड्राइभको आइकनबाट रातो कलर हटाइएको छ र बाँकी तीन कलरलाई मात्र राखिएको छ। गुगल क्यालेन्डरको आइकनलाई पुरानै भर्सनको जस्तै नीलो कलरमा केन्द्रित गरिएको छ ।
यसैगरी जिमेलले आफ्नो ‘M’ आकारको खामको डिजाइन यथावत् राखेर ठोस कलरको सट्टा ग्रेडियन्ट कलर प्रयोग गरेको छ भने गुगल मिटको आइकनमा पहेँलो कलरको मात्रा बढाइएको छ ।
डिजाइनमा गरिएको यो परिवर्तनले गुगल एपमा एआईको इन्टिग्रेसनलाई सङ्केत गरेको रिपोर्टमा उल्लेख छ । कम्पनीले हालसम्म यी नयाँ आइकन प्रयोगकर्ताका लागि आधिकारिक रूपमा उपलब्ध गराइसकेको छैन । आन्तरिक परीक्षण सम्पन्न भएपछि मात्र यो सर्वसाधारणका लागि रोलआउट हुने कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ ११:४८
