close

रिहा भए भनिएका अमृत झा इरानकै जेलमा, भ्रामक सूचनाबारे मन्त्रालयले माफी माग्दा मन्त्रीको पोस्ट अझै हटेन

टेकपाना टेकपाना

जेठ ४, २०८३ १७:२२

रिहा भए भनिएका अमृत झा इरानकै जेलमा, भ्रामक सूचनाबारे मन्त्रालयले माफी माग्दा मन्त्रीको पोस्ट अझै हटेन

काठमाडौँ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइबारे भ्रामक सूचना सार्वजनिक भएको भन्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाबाट सिर्जना भएको अन्योल र असुविधाप्रति क्षमा मागेको हो ।

इरानको केसम टापुमा अवैध सामान ओसारपसारको आरोपमा पक्राउ परेका झा हाल बन्दर अब्बासको जेलमा पुर्पक्षका लागि थुनामा छन् । मन्त्रालयका अनुसार गत १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियाईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको भन्दै सन्देश पठाएको थियो । सोही गलत सूचनाका आधारमा मन्त्रालयले उनी रिहा भएको भन्दै विज्ञप्ति निकालेको जिकिर गरेको छ ।

मन्त्रालयको सोही सूचनालाई आधार मान्दै परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मा झा रिहा भएको जानकारी गराउँदै उनको सकुशल उद्धारको प्रयास भइरहेको दाबी गरेका थिए । मन्त्री खनालको उक्त पोस्ट अहिले पनि यथावत् छ । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ लिङ्क

मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरे अनुसार पछि प्राप्त जानकारीमा झा रिहा नभएको र उनको मुद्दामा अदालतले ‘एक्सपर्ट रिपोर्ट’ (विशेषज्ञ प्रतिवेदन) तयार गर्न आदेश दिएको खुलेको थियो । त्यसपछि मन्त्रालयले झाका परिवारलाई भेटेर यथार्थ जानकारी गराइसकेको जनाएको छ ।

मन्त्रालयले भनेको छ, “इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योलप्रति मन्त्रालय क्षमा प्रार्थी छ ।”


मन्त्रालयका अनुसार झाको मुद्दाका लागि गठित विज्ञ टोलीले प्रतिवेदन अदालतमा बुझाउने तयारी गरिरहेको छ । इरानको कानुन अनुसार उक्त मुद्दाको निरूपण हुने भएकाले निज झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी राखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ १८:३४