close

नेभिगेसन बारबाट किन ‘सब्स्क्रिप्सन’ ट्याब हटाउँदै छ युट्युब ?

टेकपाना टेकपाना

जेठ ५, २०८३ १४:५५

नेभिगेसन बारबाट किन ‘सब्स्क्रिप्सन’ ट्याब हटाउँदै छ युट्युब ?

काठमाडौँ । युट्युबले आफ्नो मोबाइल एपको तल्लो नेभिगेसन बारबाट ‘सब्स्क्रिप्सन’ ट्याब हटाउने भएको छ । प्रयोगकर्ताले उपयुक्त कन्टेन्ट सजिलै फेला पार्न सकून् भन्ने उद्देश्यले कम्पनीले यस्तो परिवर्तनको परीक्षण थालेको हो ।

हालै मात्र आफ्नो सपोर्ट पेजमा एक पोस्ट राख्दै युट्युबले नेभिगेसन बारमा परिवर्तन ल्याउने आधिकारिक जानकारी दिएको छ । कम्पनीले भनेको छ, “हामी युट्युब मोबाइल एपमा विभिन्न फिड नेभिगेट गर्ने नयाँ तरिकाको परीक्षण गरिरहेका छौँ जसको मुख्य उद्देश्य तपाईँलाई मनपर्ने कन्टेन्ट खोज्न अझ सहज बनाउनु हो ।”

हाल युट्युबको मोबाइल एप खोल्दा तलपट्टि पाँच ओटा ट्याब देखिन्छन्, जसमा होम, शर्ट्स, क्रिएट (प्लस आइकन), सब्स्क्रिप्सन र प्रोफाइल रहेका छन् । तर, परीक्षणका क्रममा रहेको नयाँ डिजाइनमा भने तलपट्टि चार ओटा ट्याब मात्र देखिएका छन् । अर्थात् त्यहाँबाट ‘सब्स्क्रिप्सन’ ट्याबलाई हटाइएको छ ।

नयाँ परीक्षण अन्तर्गत तल्लो बारबाट हटाइएको सब्स्क्रिप्सन फिडलाई अब स्क्रिनको माथिल्लो भागमा सारिनेछ । जहाँ प्रयोगकर्ताले ‘होम’ र ‘सब्स्क्रिप्सन’ ट्याबलाई दायाँ-बायाँ स्वाइप गरेर चलाउन सक्नेछन् ।

सशुल्क कन्टेन्ट एकै ठाउँमा फेला पार्न सहज होस् भनेर ‘मुभिज एन्ड टिभी’ जस्ता अन्य फिडलाई पनि सोही माथिल्लो नेभिगेसन एरियामा राख्ने परीक्षण भइरहेको कम्पनीले जनाएको छ । त्यस्तै नयाँ लेआउटमा स्क्रिनलाई तल तानेर रिफ्रेस गर्दा वा माथि स्क्रोल गर्दा मात्र ‘एक्सप्लोर’ मेन्यु देखिने व्यवस्था मिलाइएको युट्युबको भनाइ छ ।

यो अपडेट अहिले एन्ड्रोइड र आईओएसका सीमित प्रयोगकर्तामाझ मात्र परीक्षणको रूपमा उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १२:२१