नानो बनाना एआईमा आधारित गुगलको नयाँ वर्कस्पेस टुल ‘पिक्स’ सार्वजनिक, क्यान्भालाई चुनौती दिने
जेठ ६, २०८३ १४:५६
काठमाडौँ । गुगलले मङ्गलबारदेखि सुरु भएको आफ्नो वार्षिक डेभलपर सम्मेलन 'गुगल आई/ओ २०२६' मा नयाँ वर्कस्पेस टुल ‘गुगल पिक्स’ सार्वजनिक गरेको छ । गुगल पिक्स फोटो सम्पादन, नयाँ तस्विर सिर्जना गर्ने तथा फ्लायर, ग्राफिक्सलगायत डिजाइन गर्ने प्लेटफर्म भएको गुगलले जानकारी गराएको छ ।
गुगलको पछिल्लो ‘नानोबनाना’ एआई मोडलमा आधारित यो टुलले प्रयोगकर्ताहरूलाई एआई इमेजहरूमा अझ बढी नियन्त्रण प्रदान गर्ने उद्देश्य राखेको छ । यसले एआई इमेज सिर्जना गर्दा एउटा सानो परिवर्तन गर्न पनि सुरुदेखि नै नयाँ फोटो बनाउनुपर्ने झन्झटलाई अन्त्य गर्ने दाबी गरिएको छ ।
गुगल पिक्सले परम्परागत ग्राफिक डिजाइन र एआई इमेज जेनेरेसनबिचको दुरी मेटाउने गुगलको दाबी छ । यो टुललाई विशेषगरी सामाजिक सञ्जालका सामग्री, इभेन्ट फ्लायर र डिजिटल इलुस्ट्रेसनहरू डिजाइन गर्न सजिलो हुनेगरी तयार पारिएको छ ।
यस टुलमार्फत प्रयोगकर्ताहरूले तस्विर भित्रका कुनै निश्चित वस्तु वा तत्वलाई मात्र छानेर सम्पादन गर्न, सार्न, वा आकार बदल्न सक्नेछन् । साथै, तस्विर भित्र रहेको टेक्स्ट (अक्षर) लाई सोही डिजाइन र फन्ट स्टाइलमा सिधै परिवर्तन गर्न वा अन्य भाषामा अनुवाद गर्न सकिनेछ । यो टुललाई सिधै गुगल वर्कस्पेस एप्लिकेसनहरूमा एकीकृत गरिने छ ।
पिक्समा सेयर गर्न मिल्ने क्यानभास उपलब्ध हुने र यसको मद्दतले धेरै जना मिलेर एउटै तस्विरमा एकैसाथ काम वा सम्पादन गर्न सक्ने गुगलले जनाएको छ । यी सबै सुविधाहरू हेर्दा गुगल पिक्स फोटो सम्पादन र ग्राफिक्स बनाउन मिल्ने निःशुल्क तथा सशुल्क सुविधा भएको अनलाइन ग्राफिक डिजाइन टुल क्यान्भा जस्तै देखिन्छ । त्यसैले यसलाई क्यान्भाको प्रतिस्पर्धीको रुपमा पनि हेरिएको छ ।
'गुगल आई/ओ २०२६' मा गुगल पिक्स सार्वजनिक भएपनि हाल परीक्षण चरणमै रहेको र यसलाई केही महिनापछि गुगल एआई प्रो र अल्ट्राका सब्स्क्राइबरहरूका लागि उपलब्ध गराउने गुगलको योजना छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ १५:५३
