close

पठाओ नेपालका एमडी असिममानसिँह बस्न्यातले पाए जम्मा ५० भोट

टेकपाना टेकपाना

फागुन २५, २०८२ २३:४७

पठाओ नेपालका एमडी असिममानसिँह बस्न्यातले पाए जम्मा ५० भोट

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातको जमानत जफत भएको छ । ‘म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ’ भन्दै चुनावी मैदानमा होमिएका उनले जम्मा ५० मत मात्र प्राप्त गरेका छन् ।

यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निर्वाचन परिणाम अनुसार दोस्रो स्थानमा रहेका नेपाली काङ्ग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले तीन हजार ९७२ मतसहित तेस्रो र नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत ल्याई चौथो स्थान हासिल गरेका छन् ।

काठमाडौँ-१ मा कूल २९ हजार ८२ सदर मत खसेको थियो । निर्वाचन कानुन अनुसार जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत अर्थात् दुई हजार ९०८ मत ल्याउनुपर्ने हुन्छ । तर, निकै कम मत पाएपछि बस्न्यातसहित २६ जना उम्मेदवारको जमानत जफत भएको छ । बस्न्यातभन्दा बढी मत ल्याउने उम्मेदवारको सङ्ख्या नै १० जना छ । उता, नेपाल जनसेवा पार्टीका उम्मेदवार अर्जुनबहादुर शाहीले भने शून्य मत पाएका छन् ।

उम्मेदवारी घोषणापछि स्वतन्त्र रूपमा ‘त्रिभुज’ चुनाव चिह्न पाएका बस्न्यातले आफ्नो प्रचारप्रसारमा निकै पृथक शैली अपनाएका थिए । नयाँ पुस्तालाई प्रभावित गर्न उनले चर्चित वेब सिरिज ‘स्क्विड गेम’ का पात्रहरूले लगाउने जस्तै त्रिभुज अङ्कित लुगा लगाएका व्यक्तिलाई आफ्नो प्रचारमा खटाएका थिए । तर, उनको यो फरक शैलीको प्रचारप्रसारले मतदातालाई आकर्षित गर्न सकेन ।

२१ फागुनमा सम्पन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दा बस्न्यातले सुरुमा कुन पार्टी वा स्वतन्त्र रूपमा लड्ने खुलाएका थिएनन् । पछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने प्रयास, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारीलाई नजिकबाट अनुभूति गरेकाले आफू राजनीतिमा आएको उनले बताएका थिए । क्षमता हुँदाहुँदै पनि व्यवस्था सहज नहुँदा भविष्य अनिश्चित बन्ने यथार्थले आफूलाई जिम्मेवारी लिन प्रेरित गरेको उनको भनाइ थियो ।

चुनावी अभियानका क्रममा उनले उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन, जवाफदेहिता र पारदर्शिता तथा अनुभव र नयाँ सोचलाई जोड्ने विषयलाई मुख्य एजेन्डा बनाएका थिए । युवाले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्ने उनको प्राथमिकता थियो । “काम गर्नेले जवाफ दिनुपर्ने र निर्णयकर्ताले जिम्मेवारी लिनुपर्ने संस्कार स्थापित गर्नु नै सुशासनको आधार हो,” उनले भनेका थिए । यो परिवर्तनको लडाइँ एक्लै सम्भव नहुने भन्दै उनले आम नागरिकको साथ मागेका थिए ।

बस्न्यात तिनै व्यक्ति हुन् जसले राइड शेयरिङ प्लेटफर्म ‘पठाओ’ लाई नेपालमा भित्र्याएर ‘गिग इकोनोमी’ मार्फत सामाजिक-आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । पठाओ नेपालमा भित्रिएको दिनदेखि हालसम्म उनी नै यसको नेतृत्वमा छन् । तालिम प्राप्त तथा भेरिफाइड राइडर सिस्टम, १० लाख रुपैयाँसम्मको बीमा सुविधा र २४सै घण्टा सञ्चालनमा रहने कल सेन्टर जस्ता विशेषताका कारण उनको नेतृत्वमा पठाओ राइड शेयरिङ सेवाको पर्याय बनेको छ ।

तर, कर्पोरेट र स्टार्टअप क्षेत्रमा आफूलाई सफल प्रमाणित गरेका बस्न्यातको राजनीतिक यात्राको पहिलो परीक्षण भने निकै कमजोर सावित भएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०८२ २३:५०