close

अब नेपाली एप ‘ट्रिप टर्बो’ बाट विश्वका १९० बढी देशका होटल बुक गर्न सकिने

टेकपाना टेकपाना

जेठ ८, २०८३ १९:५

अब नेपाली एप ‘ट्रिप टर्बो’ बाट विश्वका १९० बढी देशका होटल बुक गर्न सकिने

काठमाडौँ । नेपाली ट्राभल एप ‘ट्रिप टर्बो’ ले आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै विश्वका १९० भन्दा बढी मुलुकमा होटल बुकिङ सुविधा सुरु गरेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले अन्तर्राष्ट्रिय डिजिटल ट्राभल प्लेटफ ‘अगोडा’ (Agoda) सँग औपचारिक साझेदारीको घोषणा गरेको हो ।

होटल, सवारी साधन र विभिन्न पर्यटकीय गतिविधि बुकिङका लागि अगोडा चर्चित प्लेटफर्म मानिन्छ । यस साझेदारीसँगै अब नेपाली प्रयोगकर्ताले ‘ट्रिप टर्बो’ एपमार्फत नै अगोडाका होटल बुकिङ सम्बन्धी सेवामा पहुँच पाउनेछन् ।

यो साझेदारीसँगै नेपाली यात्रुले विदेश भ्रमणका क्रममा होटल बुकिङका लागि बाह्य वेबसाइट वा एपमा भर पर्नुपर्ने बाध्यता अन्त्य भएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले नेपाली यात्रुहरूले अन्तर्राष्ट्रिय होटल बुकिङ गर्दा भोग्नुपर्ने भुक्तानीको जटिलतालाई यो सेवाले पूर्ण रूपमा समाधान गर्ने बताए ।

“हामीले यात्रालाई सरल र सहज बनाउने लक्ष्य लिएका छौँ । विदेश भ्रमणका बेला होटल बुकिङमा कुनै समस्या आए वा रिजर्भेसन परिवर्तन गर्नुपरेमा अब नेपाली ग्राहकले सिधै हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ । यसले ग्राहकलाई थप सुरक्षा र ‘पिस अफ माइन्ड’ प्रदान गर्नेछ,” उनले भने ।

तस्बिरः ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईं (बायाँ) र अगोडाका चिफ कमर्सियल अफिसर डेमियन फिर्श (दायाँ)

त्यस्तै, कम्पनीका मार्केटिङ अफिसर प्रनिश खड्गीले नेपाली ट्राभल इकोसिस्टमलाई एकै ठाउँमा समेट्ने प्रयासस्वरूप यो सेवा थपिएको बताए । उनले भने, “हामीले स्वदेशी तथा अन्तर्राष्ट्रिय उडान र बस टिकटपछि अब विभिन्न देशका होटल बुकिङलाई पनि एउटै प्लेटफर्ममा जोडेका छौँ । यो सेवा यात्रुको यात्रा व्यवस्थापनमा एउटा महत्त्वपूर्ण फड्को हुनेछ ।”

यस प्लेटफर्ममार्फत अब नेपाली यात्रुले एउटै एपबाट फ्लाइट, होटल, बस र अन्य यात्रा गतिविधि सहजै व्यवस्थापन गर्न सक्ने कम्पनीले जनाएको छ ।

ट्रिप टर्बोसँग सहकार्य गरेको ‘अगोडा’ विश्वको अग्रणी ट्राभल कम्पनी ‘बुकिङ होल्डिङ्स इन्क’ अन्तर्गतको एक संस्था हो । बुकिङ होल्डिङ्सले नै बुकिङ डटकम, प्राइसललाइन डटकम, चिपफ्लाइट्स र ओपन टेबल जस्ता कम्पनी सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ १९:२६