नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने मानवरहित डुङ्गा, विपद् व्यवस्थापनमा काम लाग्ने
जेठ ९, २०८३ ८:१०
काठमाडौँ । २८ असार २०८१ मा चितवनको सिमलतालमा पहिरो खस्दा दुई ओटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भए, जसमा ६२ जना यात्रु हराएका थिए । कयौँ सातासम्म नदीमा खोजतलास गर्दा पनि धेरै यात्रुहरूको अवस्था अज्ञात रह्यो । उक्त घटनामा खोजी कार्यका लागि भारतबाट गोताखोर र अत्याधुनिक प्रविधिसमेत मगाइएको थियो । सिमलताल दुर्घटना एउटा प्रतिनिधि उदाहरण मात्र हो; नेपालमा हरेक वर्ष वर्षायाममा बाढी र पहिरोका कारण यस्ता थुप्रै विपत्ति निम्तिने गरेका छन् ।
यसैबिच विपद्को पूर्वतयारी गर्न र उद्धार कार्यमा सघाउन पुल्चोक क्याम्पसको मेकानिकल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत चार जना विद्यार्थीले मानवरहित डुङ्गा (अटोनोमस बोट) तयार पारेका छन् । विद्यार्थीहरू सिद्धान्त यादव, रुदिप श्रेष्ठ, हेमकला अवस्थी र रेगल घिमिरेले संयुक्त रूपमा ‘अटोनोमस बाथिमेट्री एन्ड अन्डरवाटर डिटेक्सन अनम्यान्ड वाटर सिस्टम’ निर्माण गरेका हुन् ।
यो डुङ्गाले पानीको गहिराइ नाप्ने, पानीमुनि रहेका वस्तु पत्ता लगाउने र सतहको तथ्याङ्क मानवीय उपस्थिति बिना नै सङ्कलन गर्न सक्ने बताइएको छ । करिब एक वर्षअघि क्याम्पस र सशस्त्र प्रहरी बलबिच विपद् व्यवस्थापनमा सघाउने प्रविधि विकास गर्ने सम्झौता भएपछि विद्यार्थीहरूले यो परियोजना अघि बढाएका थिए ।
पुल्चोक क्याम्पसको मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख डा. सुदीप भट्टराईले यस प्रविधिको सफल परीक्षण भइसकेको जानकारी दिए । उनले टेकपानासँग भने, “सबैभन्दा पहिले यो डुङ्गाको परीक्षण ललितपुरको पिम्बहाल पोखरीमा गरियो । त्यसपछि टौदह तथा कुलेखानीमा पुगेर थप सफल परीक्षणहरू भएका छन् ।” हाल विद्यार्थीहरूले सशस्त्र प्रहरीसँगको समन्वयमा विभिन्न नदीहरूमा यसको परीक्षण कार्यलाई निरन्तरता दिइरहेका छन्।

कसरी गर्छ काम ?
यस डुङ्गामा न त मानिस बस्नु पर्छ, न त यसलाई चलाउन रिमोट बोकेर बस्नु नै आवश्यक छ । कम्प्युटरमार्फत पहिल्यै रुट तय गरिदिएपछि यो डुङ्गा पानीमा आफैँ स्वचालित रूपमा गुड्छ । कुन-कुन बिन्दुमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने भन्ने कुरा पहिल्यै प्रोग्राम गरिने भएकाले योजना अनुसार कार्य सम्पन्न गरी यो सुरक्षित रूपमा फर्किन सक्छ ।
यसमा सोनार र लाइडार (LiDAR) प्रविधि प्रयोग गरिएको छ । डुङ्गाको तल्लो भागमा जडान गरिएको सोनारले पानीमुनि ध्वनि तरङ्गहरू पठाउने गर्दछ । ती तरङ्गहरू पानीको पिँध वा मुनि रहेका वस्तुमा ठोक्किएर फर्किएपछि पानीको गहिराइ र संरचनाबारे डिजिटल नक्सा तयार हुन्छ, जसलाई ‘बाथिमेट्री’ भनिन्छ । यस्तै, पानीमाथिको भौगोलिक अवस्थाको अध्ययनका लागि लाइडार प्रयोग गरिएको छ, जसले खोला, पोखरी वा हिमताल वरिपरिको विस्तृत नक्सा तयार पार्छ। त्यसपछि सोनार र लाइडारबाट प्राप्त तथ्याङ्कलाई एकीकृत गरी पानीमुनि र माथिको थ्रीडी तस्बिर तयार गरिन्छ ।
यो डुङ्गाका लागि अमेरिकी कम्पनी ‘ब्लु रोबोटिक्स’ले सोनार प्रविधि उपलब्ध गराएको थियो भने विद्यार्थीहरूले आफ्नै कन्ट्रोल सिस्टम विकास गरी त्यसलाई प्रयोगमा ल्याएका हुन् ।
विपद् व्यवस्थापनदेखि जलविद्युत् आयोजनासम्म उपयोगी
नदीको बहाव उच्च भएको अवस्थामा हुने दुर्घटनामा सवारीसाधन वा अन्य ठुला वस्तुहरू हराएमा यस डुङ्गाले सहजै पहिचान गर्नसकने डा. भट्टराईको दाबी छ । “खोजी कार्यका लागि धेरै जना गोताखोर नदीमा पस्दा उनीहरूको ज्यानको जोखिम हुन्छ, तर यो प्रविधि मानवरहित भएकाले त्यस्तो मानवीय क्षति हुने जोखिम हुँदैन,” उनले भने ।
यसलाई व्यावसायिक रूपमा उत्पादन गरी सुरक्षा निकायलाई तालिम दिने हो भने विपद् व्यवस्थापन कार्य निकै सस्तो र जोखिमरहित बन्ने उनको आँकलन छ ।
साथै, जलविद्युत् आयोजनाका जलाशयको गहिराइ र पानीको आयतन मापन गर्न पनि यो प्रविधि उपयोगी हुने उनले बताए । कुलेखानीको उदाहरण दिँदै उनले थपे, “त्यहाँ पानीको सतह नाप्न अहिले पनि मानिसहरू डुङ्गा चढेर घण्टौँ खटिनुपर्ने अवस्था छ, तर यो स्वचालित डुङ्गाले सोही कार्य निकै छिटो र भरपर्दो ढङ्गले गर्न सक्छ ।”
नेपालका जोखिमपूर्ण हिमतालहरूको अवस्था अध्ययन गर्न पनि यो प्रविधि उपयुक्त हुने सम्भावना उनले औँल्याए । “हिमतालको अवस्था समयमै मापन गरी विस्फोटको जोखिम पूर्वानुमान गर्न सकिएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न मद्दत पुग्छ,” उनले भने ।
पुल निर्माण गर्नुअघि वा नदीजन्य पदार्थ उत्खनन गर्नुअघि नदीको पिँधको अवस्था बुझ्न यसले ठुलो मद्दत पुर्याउने उनले उनले दाबी गरे । उनका अनुसार यसले नदीको सतहको विस्तृत थ्रीडी नक्सा तयार पार्ने भएकाले वर्षायाममा बाढीले कुन बस्तीमा कति क्षति पुर्याउन सक्छ भन्ने वैज्ञानिक पूर्वानुमान गर्न समेत सकिन्छ ।
यो प्रविधि सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरण, निजी जलविद्युत् आयोजना र जल तथा मौसम विज्ञान विभाग जस्ता निकायका लागि अत्यन्तै उपयोगी हुने डा. भट्टराईको भनाइ छ । सरोकारवाला निकायहरूसँग सहकार्य गरी यो प्रविधिको थप विकास र प्रवर्द्धन गर्न आफूहरू तयार रहेको उनले बताए ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ ९:९
