नेपाल प्रहरीले पहिलो पटक आयोजना गर्ने ह्याकाथनका लागि रजिस्ट्रेसन खुल्यो, यसरी दिनुहोस् आवेदन
जेठ ९, २०८३ १५:१७
काठमाडौँ । नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमा आयोजना गर्न लागेको ह्याकाथनमा सहभागी हुनका लागि रजिस्ट्रेसन लिङ्क सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा आगामी ३० र ३१ जेठमा सञ्चालन गर्न लागेको ३६ घण्टे ‘ह्याक फर सेफ्टी’ कार्यक्रमका लागि अब आधिकारिक रूपमा आवेदन दिन सकिने भएको छ ।
आवेदन दिनका लागि इच्छुक सहभागीले यहाँ क्लिक गरेर फारम भर्न सक्छन् । कार्यक्रम भौतिक रूपमै हुने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रविधिको प्रयोगमार्फत सार्वजनिक सुरक्षा सुदृढ बनाउने र प्रहरी-नागरिकबिचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा देशभरका डेभलपर, प्रोग्रामर र प्रविधिमा रुचि राख्ने जोकोहीले निःशुल्क सहभागिता जनाउन सक्नेछन् ।
प्रहरी निरीक्षक उज्ज्वल खड्काका अनुसार शान्ति-सुरक्षा कायम राख्ने जिम्मेवारीमा नागरिकलाई समेत प्रविधिका माध्यमबाट जोड्ने प्रयास स्वरूप यो कार्यक्रम अघि सारिएको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले तीनदेखि चार जनाको समूह बनाउनुपर्नेछ भने व्यक्तिगत रूपमा दर्ता हुनेका लागि आयोजकले समूह निर्माणमा सहजीकरण गरिदिने व्यवस्था मिलाएको छ ।
सहभागी हुन चाहनेहरूले आगामी २० जेठसम्म आफ्नो एक पृष्ठको प्रस्तावसहित अनलाइनमार्फत दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । प्राप्त आवेदनलाई नवीनता, व्यवहारिकता र प्रहरीका चुनौतीसँगको सान्दर्भिकताका आधारमा मूल्याङ्कन गरिने प्रहरी निरीक्षक खड्काले बताए ।
उनले भने, “हामी छनोटमा परेका उत्कृष्ट २० टोलीलाई इमेलमार्फत औपचारिक निमन्त्रणा पठाउनेछौं । र, उनीहरूले बुटवलमा हुने ३६ घण्टे ‘इनोभेसन स्प्रिन्ट’मा भाग लिन पाउनेछन् । कार्यक्रममा साइबर ब्युरो र प्रहरी प्रधान कार्यालयका विज्ञहरूले मेन्टरको भूमिका निर्वाह गर्नेछन् । जज र मेन्टरशिप घोषणा गर्न बाँकी नै छ ।”
यो कार्यक्रम पूर्ण रूपमा भौतिक उपस्थितिमा सञ्चालन हुनेछ । सहभागीका लागि कार्यस्थल, खाना र खाजाको व्यवस्था आयोजकले गर्नेछ भने सहभागीले आफ्नो ल्यापटप र आवश्यक प्राविधिक उपकरण आफैँले व्यवस्था गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उत्कृष्ट परियोजनालाई लुम्बिनी प्रदेश प्रहरीसँग थप सहकार्य गर्ने अवसरसमेत प्राप्त हुने प्रहरी निरीक्षक खड्काले सुनाए ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ १५:१७
