‘पर्यटकहरूका संवेदनशील विवरण लिक भए अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि के होला ?’
जेठ १२, २०८३ १९:२३
काठमाडौँ । प्रतिनिधि सभा सदस्य बिपिन कुमार आचार्यले नेपालमा आउने पर्यटकहरूको गोपनीयता र डेटा सुरक्षाको विषयमा ध्यान नदिइएको भन्दै प्रश्न उठाएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा पर्यटन विधेयक २०८२ माथि भएको छलफलमा सहभागी हुँदै आचार्यले पर्यटकहरूको पासपोर्ट विवरण र व्यक्तिगत तथ्यांकको सुरक्षामा चासो व्यक्त गरे ।
“पर्यटन क्षेत्रमा, चाहे त्यो जहाजको टिकट बुक गर्ने कुरा होस् वा होटलमा कोठा लिने समयमा, पर्यटकहरूबाट पासपोर्टको प्रतिलिपि लगायतका अति संवेदनशील विवरणहरू लिइन्छ,” उनले भने, “तर, ती डकुमेन्टहरू कत्तिको सुरक्षित छन् भन्ने हामीलाई थाहा छैन ।”
उनले नेपालले वार्षिक लाखौंको संख्यामा पर्यटक भित्र्याउने लक्ष्य राखिरहँँदा यदि ती पर्यटकहरूको डेटा लिक भएमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा कस्तो असर पर्ला भनी प्रश्न गरे ।
विधेयकमाथि आफ्नो धारणा राख्दै आचार्यले पर्यटन उद्योगमा बढ्दो एयरबीएनबी, बुकिङ डटकम, अगोडा जस्ता प्लेटफर्महरूबाट ठुलो संख्यामा पर्यटक आउने गरे तापनि तिनलाई नियमन र दर्ता गर्ने स्पष्ट व्यवस्था नहुँदा राज्यले ठुलो कर गुमाइरहेको उल्लेख गरे ।
त्यस्तै, केही समयअघि नेपालमा चर्चामा आएको हेलिकप्टरको ‘फेक रेस्क्यु’ प्रकरणले नेपालको साख गिराएको भन्दै उनले यस्ता वित्तीय कारोबार र डकुमेन्टेसनलाई ब्लकचेन प्रविधिमा लैजान सुझाव दिए । यसो गर्न सके विवरणहरू फेरबदल गर्न नमिल्ने र पारदर्शी हुने उनको तर्क थियो ।
उनले परम्परागत पर्यटनमा मात्र सीमित नभई अब डिजिटल नोम्याड्स, एस्ट्रो टुरिज्म, ग्ल्याम्पिङ र भोलुन्टर टुरिज्मजस्ता आधुनिक पर्यटकीय अवधारणालाई पनि ऐनले समेट्नुपर्ने सुझाव दिए ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ १९:४८
