काठमाडौँ । सङ्घीय संसद्को आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच भएको घम्साघम्सीले राजनीति मात्र तताएको छैन, सामाजिक सञ्जालमा एमाले सांसद रिंगला यादवलाई एक रातारात भाइरल मिम स्टारको रूपमा स्थापित गरिदिएको छ । संसद् नियमावली पारित गर्ने क्रममा देखिएको उनको आक्रामक शैली अहिले टिकटकदेखि फेसबुकसम्म नयाँ मसला बनेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यादवको तस्बिरलाई विभिन्न सन्दर्भमा जोडेका छन् । कतै उनलाई 'गणित शिक्षक शौचालय गएको बेलाको कक्षाको अवस्था' भन्दै व्यङ्ग्य गरिएको छ भने, कतै उनले मुक्का ताकेको तस्बिरलाई लिएर 'माननीय हो कि हाननीय ?' भन्दै प्रश्न उठाइएको छ । कतिपय मिममा त उनलाई सिधै UFC मा पठाउनुपर्ने सुझाव समेत दिइएको छ भने कतै उनी तेक्वान्डोको ब्ल्याक बेल्ट खेलाडी जस्तै देखिएको भन्दै फोटोशप गरिएका तस्बिरहरू भाइरल बनाइएका छन् ।
यादवले संसद्मा कुर्सी चढ्ने र नाराबाजी गर्ने दृश्यलाई लिएर कतिपयले 'जङ्गलका बाँदर नियन्त्रण गर्नुभन्दा पहिला संसद्का बाँदरहरूलाई तह लगाउनु पर्यो' भन्दै तिखो टिप्पणी गरेका छन् । बाँदरहरूले उनलाई बोकेको र उनलाई नियन्त्रण गर्न गाह्रो भएको भावका कार्टुनहरूले पनि सामाजिक सञ्जाल भरिएको छ ।
रिंगलाको आक्रामक मुद्रालाई घरेलु सन्दर्भसँग जोड्दै 'भर्खरै पोचा लगाएको भुइँमा टेक्दा ममीको रिस' भन्दै ठट्टा गरिएको छ । त्यस्तै, ९५ प्रतिशत अङ्क ल्याएर पनि ग्रेड कम आयो भन्दै गुनासो गर्ने विद्यार्थीसँग शिक्षकको रिसलाई पनि उनको तस्बिरमार्फत प्रस्तुत गरिएको छ ।
संसद्मा मर्यादापालक र अन्य सांसदहरूले उनलाई उचालेको र बचाउ गरेको तस्बिरमाथि पनि निकै व्यङ्ग्य भइरहेको छ । 'यत्तिको सपोर्ट भएपछि त जता पनि पुगिदो रहेछ' भन्दै मानिसहरूले संसद्को 'मर्यादा' माथि प्रश्न उठाएका छन् ।
नवलपरासी पश्चिमबाट समानुपातिक सांसद बनेकी यादवले २२ वर्षदेखि राजनीतिमा सक्रिय रहेको दाबी गर्दै आफ्नो व्यवहारको बचाउ गरेकी छिन् । उनले आफू हातपात गर्न नभई माइक खोस्न गएको र प्रतिपक्षको आवाज नसुनेपछि रिस उठ्नु सामान्य भएको बताएकी छिन् ।
तर, उनको 'हामी राजनीतिक गुण भएका मान्छे हौँ' भन्ने दाबीलाई मिम बनाउनेहरूले विद्रोही र एक्सन सिनहरूसँग जोडेर व्यङ्ग्य गरिरहेका छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा सांसदहरूको व्यवहारलाई लिएर हुने यस्ता मिम अट्याकले नेताहरूलाई मनोरञ्जनको पात्र त बनाएको छ नै, यसले संसदीय मर्यादा र जिम्मेवारीमाथि गम्भीर प्रश्न समेत खडा गरिदिएको छ ।



\
















पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ १९:२
