डेटा सेन्टरलाई आवश्यक सस्तो बिजुली र पानीको उपलब्धता स्पेसएक्सको आईपीओको मुख्य 'रिस्क फ्याक्टर'
जेठ १९, २०८३ ९:०
काठमाडौँ । स्पेसएक्सले आफ्नो आईपीओ दर्ताका लागि पेस गरेको प्रतिवेदनमा नयाँ बुँदाहरू थप गर्दै सम्भावित लगानीकर्ताहरूलाई पानीको पहुँच एउटा गम्भीर जोखिम हुन सक्ने चेतावनी दिएको छ । एलोन मस्कको एआई कम्पनी एक्सएआई समेत सम्मिलित कम्पनीले संशोधित फाइलिङमा डेटा सेन्टरहरूलाई चिस्यान (cooling) प्रदान गर्न पानीको उपलब्धता, बिजुली र प्रोसेसर जस्तै महत्त्वपूर्ण रहेको उल्लेख गरेको छ ।
यसअघि स्पेसएक्सले मुख्यतया सस्तो मूल्यमा बिजुलीको उपलब्धता, निर्माणमा लाग्ने समय र सामग्रीको अभावलाई मात्र चुनौतीका रूपमा प्रस्तुत गरेको थियो । तर, पछिल्लो संशोधनमा कम्पनीले डेटा सेन्टरहरूको विस्तार 'सस्तो मूल्यमा बिजुली र पानीको उपलब्धता' मा निर्भर रहने स्पष्ट पारेको हो ।
ठुला डेटा सेन्टरहरू सञ्चालन गर्न ठुलो मात्रामा जलस्रोत आवश्यक पर्ने भएकाले अब स्थान छनोट र विकासका लागि पानी एउटा निर्णायक पक्ष बनेको छ । कम्पनीले पानीको अभाव, खडेरी, स्थानीय स्तरमा पानीका लागि हुने प्रतिस्पर्धा वा कानुनी प्रतिबन्धहरूले पर्याप्त पानी प्राप्त गर्ने क्षमतालाई सीमित गर्न सक्ने बताएको छ ।
यसले गर्दा डेटा सेन्टरको लागत बढ्ने, विस्तारमा ढिलाइ हुने वा कम्पनीले महँगो वैकल्पिक प्रविधिहरू प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । यो परिवर्तन सम्भवतः अमेरिकी धितोपत्र र विनिमय आयोग (SEC) ले मागेको थप स्पष्टीकरणका कारण गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
यसका साथै स्पेसएक्सले आफ्नो आईपीओमा ५ प्रतिशत शेयर कर्मचारी र कार्यकारीहरूका साथीहरूका लागि सुरक्षित राखेको जानकारी दिएको छ । साथै भविष्यमा टेस्लासँगको सम्भावित मर्जरका कारण ठुलो सङ्ख्यामा थप शेयरहरू जारी हुन सक्ने र त्यसले हालका सेयरधनीहरूको हिस्सा कम (dilution) गराउन सक्ने चेतावनी समेत कम्पनीले दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ ९:०
