close

फ्याक्टचेक: गणेश नेपालीको ह*त्यारा हर्क साम्पाङ भन्दै प्रदर्शनकारीले प्लेकार्ड बोकेका होइनन्, भाइरल भिडिओ‌ एआई निर्मित

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

असार ३०, २०८३ १७:१०

फ्याक्टचेक: गणेश नेपालीको ह*त्यारा हर्क साम्पाङ भन्दै प्रदर्शनकारीले प्लेकार्ड बोकेका होइनन्, भाइरल भिडिओ‌ एआई निर्मित

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको मृत्युपछि आन्दोलन उत्रिएका प्रदर्शनकारीको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘गणेश नेपालीको हत्यारा हर्के साम्पाइ हो ।’ लेखिएको प्लेकार्ड प्रदर्शनका क्रममा रहेको एक युवतीले बोकिरहेको भिडिओ भाइरल भएको हो । 

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा भाइरल उक्त प्लेकार्ड एआई निर्मित रहेको पाइएको छ । शुक्रबार माइतीघरमा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार’ भन्दै प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । सोही क्रममा एक युवतीले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लेखिएको प्लेकार्ड बोकेकी थिइन् । तर, सो प्लेकार्डमा लेखिएका कुरालाई एआईबाट परिवर्तन गरेर बालेन सरकारको सट्टामा ‘हर्क साम्पाङ’ जस्तो देखिने गरी राखेर भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको हो । 

दाबी

Joon Rae’ नामको फेसबुक प्रयोगकर्ताले १२ सेकेन्ड लामो एक भिडि‌ओ शेयर गरेका छन् । उक्त भिडि‌‌ओमा गुलाबी रङको प्लेकार्ड लिएर एक युवती उभिएको देखिन्छन् । युवतीले बोकेको प्लेकार्डमा लेखिएको छ, “गणेश नेपालीको हत्यारा हर्के साम्पाइ हो ।” पृष्ठभूमिमा हरियो र रातो रङको झन्डा लिएर अन्य प्रदर्शनकारीसमेत उभिएको देख्न सकिन्छ । 

सो भिडिओमा यो सामग्री तयार पार्दासम्म १२ लाख बढीले हेरिसकेका छन् । उक्त भिडिओमा ३२ हजार ५०० भन्दा धेरैले रियाक्ट, पाँच हजार ५०० बढी कमेन्ट र एक हजार ४०० भन्दा धेरै पटक शेयर गरिएको छ । हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट । 

अनुसन्धान 

सामाजिक सञ्जालमा कयौँ प्रयोगकर्ताले उक्त भिडिओ शेयर गरिरहेको पाइएको छ । ‘Sayukhang Rai’ नामका फेसबुक प्रयोगकर्ताले ‘हर्क साम्पाङले कसरी ज्यान मार्‍यो’ भन्दै आक्रोशित स्टाटस लेख्दै उक्त भिडिओ पोस्ट गरेका छन् । 

उनले लेखेका छन्, “यो को हो ? मानसिक रोगी ? रा.स्व.पा को सरकारले गणेश नेपालीको ज्यान लियो सरकार पनि रा.स्व.पा कै रहेको छ !! अनि हर्क साम्पाङले चाहि कसरि ज्यान मार्यो ? मानसिक रोगी ?” हेर्नुहोस् भिडिओ र स्क्रिनशट । 

१४ जुलाई बिहान ६:४९ मा ‘मूल बाटो’ नामको फेसबुक अकाउन्टबाट पनि ‘गणेश नेपालीको हत्यारा हर्के साम्पाइ हो ।’ लेखिएको प्लेकार्ड बोकेको तस्बिर शेयर गरेको पाइयो । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, ‘गणेश नेपालीको हत्यारा हर्क साम्पाङ हो????’ हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

 

१३ जुलाई २०२६ राति १०:५७ मा फेसबुक प्रयोगकर्ता ‘Santosh Saud’ ले सोही भिडिओ शेयर गरेका छन् । जहाँ उनले आन्दोलनकारीको वास्तविक उद्देश्य के हो भन्दै प्रश्न गरेका छन् । केही समय पहिलासम्म प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, नगरप्रहरीलाई दोष दिएका आन्दोलनकारीले गणेश नेपालीको हत्यारा ‘हर्क साम्पाङ’ भन्न थालेको भन्दै आन्दोलनकारीको वास्तविक उद्देश्यमाथि प्रश्न उठाएका हुन् । 

उनले लेखेका छन्, “हिजो–अस्तिसम्म गणेश नेपालीको आत्मदाहको मुख्य जिम्मेवार प्रधानमन्त्री, बालेन शाह, गृहमन्त्री सुदन गुरुङ र नगर प्रहरी हुन् भन्दै उनीहरूविरुद्ध ‘मुर्दाबाद’का नारा लगाइयो। तर आज फेरि माइतीघरमा उही समूहले “गणेश नेपालीको हत्यारा हर्क साम्पाङ हो” भन्दै हर्क साम्पाङविरुद्ध आन्दोलन गरिरहेको देखिन्छ ।त्यसो भए प्रश्न उठ्छ—यी आन्दोलनकारीहरूको वास्तविक उद्देश्य के हो? के उनीहरू तथ्य र निष्पक्ष अनुसन्धानको पक्षमा उभिएका हुन्, वा एउटालाई जनताको नजरमा गिराएर त्यसपछि अर्को नेतालाई पनि मिडिया ट्रायल गर्ने प्रयास गरिरहेका छन्?” हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

 

सामाजिक सञ्जालमा भाइरल भएको सो तस्बिरमा ‘हर्क साम्पाङ’ बिग्रिएर ‘हर्के साम्पाइ’ भएको छ । त्यसैले एआईबाट छेडछाड गरेको हुन सक्ने अनुमान लगाउँदै भिडिओ डाउनलोड गरेर एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’मा उक्त भिडिओ राखेर एआई प्रयोग भए/नभएको जाँच गर्‍यौँ । 

‘हाइभ मोडेरेसन’ले उक्त भिडिओमा प्रयोग भएको दृश्य ९९.९ प्रतिशत एआई निर्मित रहेको देखायो । तर भिडिओमा प्रयोग भएको आवाजमा भने एआईको प्रयोग भएको देखाएन । हेर्नुहोस् स्क्रिनशट ।

त्यसपछि हामीले गुगल एआईको ‘भेरिफाइ एआई’ टुलबाट उक्त भिडिओको सिन्थ आईडी डिटेक्ट गर्यौँ । ‘भेरिफाई एआई’ ले सो भिडिओमा गुगल एआईकै टुल प्रयोग भएर दृश्य बनाएको पुष्टि गर्‍यो । तर आवाजमा भने एआईको प्रयोग गरेको सङ्केत भेटिएन । 


 

उक्त भिडि‌ओमा एआईको प्रयोग भएको पुष्टि भएपछि हामीले भाइरल भिडिओबाट किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । खोज्ने क्रममा ‘गणेश नेपालीको हत्यारा बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)’ शीर्षकमा ‘देशसञ्चार’ मा सार्वजनिक भएको फोटो फिचर फेला पर्‍यो ।

बर्षा शाहको बाइलाइनमा २६ असार (११ जुलाई) मा उक्त फोटो फिचर सार्वजनिक भएको छ । जहाँ भाइरल भिडिओमा देखिएको युवतीले प्लेकार्ड बोकेको तस्बिर समेत समावेश छ । तर प्लेकार्डमा भने ‘हर्के साम्पाइ’ नभई  ‘बालेन सरकार’ लेखिएको छ । प्लेकार्डमा लेखिएको छ, “गणेश नेपालीको हत्यारा बालेन सरकार हो ।” हेर्नुहोस् समाचार र स्क्रिनशट । 

दाबी 

त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्युको विरोधमा उत्रिएकी एक युवतीले गणेश नेपालीको हत्यारा हर्क साम्पाङ हो लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिन् । 

दाबीकर्ता 

फेसबुक प्रयोगकर्ताहरू ‘Joon Rae’, ‘Sayukhang Rai’ र ‘मूल बाटो’, ‘Santosh Saud’ सहित अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य 

भाइरल बनाइएको भिडिओमा हर्क साम्पाङको नाम समेत बिग्रेर 'हर्के साम्पाइ' देखिएको छ । भिडिओको प्राविधिक जाँच गर्दा उक्त दृश्य गुगल एआईबाट तयार पारेको पुष्टि भएको छ । प्लेकार्डमा लेखिएको अक्षरहरू एआईको प्रयोग गरेर परिवर्तन गरिएको पाइएको हो । 

अनुसन्धानका क्रममा २६ असारमा ‘देशसञ्चार’मा प्रकाशित फोटो फिचरमा सोही युवतीको वास्तविक तस्बिर फेला परेको छ । जहाँ युवतीले बोकेको प्लेकार्डमा “गणेश नेपालीको हत्यारा बालेन सरकार हो” भनेर लेखिएको देख्न सकिन्छ । 

निष्कर्ष 

गणेश नेपालकीको हत्यारा हर्क साम्पाङ भएको भन्दै प्रदर्शनकारीले प्लेकार्ड बोकेको भिडिओ भ्रामक हो । युवतीले  “गणेश नेपालीको हत्यारा बालेन सरकार हो” लेखिएको प्लेकार्ड बोकेकोमा एआईको माध्यमबाट प्लेकार्डमा परिवर्तन गर्दै ‘हर्के साम्पाइ’ लेखेर भ्रम फैलाइएको हो । 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १७:१०