close

प्रविधि सार्वभौम बन्न युरोपकाे 'ओपन सोर्स' रणनीति, गुगलको सट्टा फ्रन्सेली सर्च इन्जिन प्रयोग सुरु

टेकपाना टेकपाना

जेठ २४, २०८३ १३:३८

प्रविधि सार्वभौम बन्न युरोपकाे 'ओपन सोर्स' रणनीति, गुगलको सट्टा फ्रन्सेली सर्च इन्जिन प्रयोग सुरु

काठमाडौँ । युरोपले प्रविधिमा सार्वभौम बन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ । युरोपेली आयोगले गत साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सेमिकन्डक्टर, क्लाउड कम्प्युटिङ र ओपन सोर्स प्रविधिमा युरोपको क्षमता बढाउने उद्देश्यसहित ‘युरोपियन टेक्नोलोजिकल सोभरन्टी प्याकेज’ सार्वजनिक गरेको हो । यो कदमलाई युरोपको डिजिटल आत्मनिर्भरता र प्रविधिगत सुरक्षा मजबुत बनाउने महत्त्वपूर्ण रणनीतिक पहलका रूपमा हेरिएको छ ।

आयोगले सार्वजनिक गरेको प्याकेजमा २ वटा नयाँ कानुनी प्रस्ताव र २ वटा महत्त्वपूर्ण रणनीतिहरू रहेका छन् । विशेष गरी, यो प्याकेजअन्तर्गत सार्वजनिक गरिएको ‘ओपन सोर्स स्ट्राटेजी’ लाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ । यससँगै पहिलो पटक ओपन सोर्सलाई युरोपेली सङ्घ (ईयू) को डिजिटल नीति निर्माणको केन्द्रमा राखिएको छ । 

आयोगका अनुसार ओपन सोर्स सफ्टवेयर, डिजिटल पूर्वाधार, सार्वजनिक सेवा तथा नवप्रवर्तनलाई सुदृढ बनाउन यो रणनीति महत्वपूर्ण हुनेछ । यसलाई युरोप मात्र नभई विश्वव्यापी ओपन सोर्स इकोसिस्टमका लागि पनि एक ‘ल्यान्डमार्क मोमेन्ट’ अर्थात् कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । कतिपयले ओपन सोर्सलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गरे पनि ईयूको रणनीतिले भने यसको विपरीतको दृष्टिकोण प्रस्तुत गरेको छ ।

ओपन सोर्सलाई पारदर्शिता र लेखापरीक्षण (अडिट) सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ । यसले साइबर सुरक्षालाई मजबुत बनाउनुका साथै महत्वपूर्ण प्रणालीहरू सञ्चालन गर्ने कोडको सार्वजनिक निरीक्षण गर्न सकिने वातावरण सिर्जना गर्ने उल्लेख गरिएको छ । यस दृष्टिकोणले ओपन सोर्सलाई सुरक्षाका लागि जोखिम नभई सम्पत्ति (एसेट) का रूपमा हेर्नुपर्ने सन्देश दिएको छ ।

प्रविधिमा सार्वभौम बन्न युरोपेली आयोगले ओपन सोर्स रणनीतिसँगै ऊर्जा क्षेत्रमा डिजिटल रूपान्तरण र एआई सम्बन्धी रणनीतिक मार्गचित्र पनि सार्वजनिक गरेको छ । साथै, युरोपले एआईलाई गति दिने अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा उत्पादन क्षमता विस्तार गर्न नयाँ चिप ऐन र आगामी ५ देखि ७ वर्षभित्र युरोपमा डेटा सेन्टर क्षमता ३ गुणाले वृद्धि गर्न क्लाउड तथा एआई विकास ऐन पनि ल्याएको छ ।

यता विदेशी प्रविधि, विशेष गरी अमेरिकी प्रविधिमाथिको निर्भरता घटाउन युरोपले स्थानीय तथा युरोपेली विकल्पलाई प्रथमिकता दिने भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युरोपेली संसदले अब गुगलको सट्टा फ्रान्सेली सर्च इन्जिन ‘क्वान्ट (Qwant)’ को प्रयोग गर्न थालेको छ । ४ जुन देखि नै युरोपेली संसदका 'माइक्रोसफ्ट एज' र 'मोजिला फायरफक्स' ब्राउजरहरूमा क्वान्टलाई डिफल्ट सर्च इन्जिन बनाइएको हो । यस्तै, युरोपली संस्थाहरुले ओपन सोर्स अपरेटिङ सिस्टम लिनक्सको प्रयोगलाई पनि तीब्र बनाएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ १४:७