close

नेपाल दूरसञ्चार प्राधिकरणमा ४ सदस्य नियुक्त

टेकपाना टेकपाना

असार ३२, २०८३ १९:९

नेपाल दूरसञ्चार प्राधिकरणमा ४ सदस्य नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्रीस्तरको ३२ असारको निर्णयअनुसार प्राधिकरणका विभिन्न विधामा रिक्त रहेका सदस्य पदमा उनीहरूलाई नियुक्त गरिएको हो ।

प्राधिकरणको लेखा तथा लेखापरीक्षण सदस्यमा क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुन सदस्यमा निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ नियुक्त भएका हुन् ।

नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि मन्त्रालयमा निर्देशन दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको विकास, विस्तार र नियमनका लागि प्राधिकरण महत्त्वपूर्ण निकाय भएको बताए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

“तपाईंहरू जुन संस्थाका लागि नियुक्त हुनुभएको छ, त्यहाँ देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला,” मन्त्री तिमिल्सिनाले भने, “तपाईंहरूका निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र नतिजामुखी हुनु आवश्यक छ ।”

मन्त्री तिमिल्सिनाले संस्थाको हितविपरीत हुने कुनै पनि कार्य सरकारका लागि स्वीकार्य नहुने चेतावनी समेत दिए । कार्यसम्पादन सन्तोषजनक नभए सरकारले आवश्यक विकल्प खोज्ने भन्दै उनले भने, “जुन दिन तपाईंहरूबाट काम हुन सकेन भन्ने लाग्छ, सरकारले विकल्प खोज्नेछ ।”

विगतमा नियामक निकायलाई कमजोर बनाइएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अबका दिनमा नियामकीय भूमिकालाई थप सुदृढ बनाउन निर्देशन दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भइसकेका छन् ।

यो पनि: खुला प्रतिस्पर्धा नाम मात्रै ! प्रतिस्पर्धीको अन्तर्वार्ता नहुँदै प्राधिकरण अध्यक्षको नियुक्ति

पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १९:९