मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ
असार १८, २०८३ ७:५७
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोबाइल चोरीको आरोपमा चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा चार जना महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यही १६ असार बिहान करिब ९:०० बजे जीतपुरसिमरा–१६, टाँगिया बस्तीमा यो घटना भएको हो । स्थानीय सार्वजनिक चौतारामा रहेको बरको रुखको फेदमा बालबालिकालाई डोरीले बाँधेर निर्घात कुटपिट गरिएको थियो ।
बालबालिकाले मोबाइल चोरी गरेको भन्दै उनीहरूलाई अमानवीय व्यवहार गरिएको सार्वजनिक भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले टाँगिया बस्ती बस्ने ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवालाई पक्राउ गरेको छ ।
पक्राउ परेका चारैविरुद्ध ‘बालबालिका विरुद्धको कसुर’ मा जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८३ ७:५७
