‘इसेवाको कर्मचारी हुँ’ भन्दै लाखौँ ठगी गर्ने रौतहटका २२ वर्षीय शुभम साह पक्राउ
असार ३, २०८३ १९:४६
सांकेतिक तस्बिर
काठमाडौं । इसेवाको कर्मचारी भएको बहाना गरी सर्वसाधारणलाई ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नं. २ का २२ वर्षीय शुभम साह रहेका छन् । ब्युरोले उनलाई मंगलबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको छ ।
प्रहरीका अनुसार साहले मोबाइल नम्बर ९७६३५७८१९२ बाट ‘याक एण्ड कम्पनी इन्टरप्राइजेज’ को मोबाइल नम्बरमा पटक-पटक फोन गरी आफू इसेवाको कर्मचारी भएको बताएका थिए ।
उनले ‘तपाईँको इसेवामा धेरै रिवार्ड पोइन्ट रहेको र किन प्रयोग नगरेको’ भनी झुक्याउँदै इसेवा खाता चेक गर्ने बहानामा ओटिपी प्राप्त गरी खातामा अनधिकृत प्रवेश गरेका थिए ।
त्यसपश्चात उनले पीडितको खाताबाट एक लाख ९८ हजार ४९९ रुपैयाँ ‘इभोलुसन ट्रेडिङ प्रा.लि.’ को इसेवा आईडीमा ट्रान्सफर गरेको र सोही रकमबाट आईफोन १७ मोबाइल समेत खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका साहको साथबाट प्रहरीले ठगी कार्यमा प्रयोग गरिएका चारवटा मोबाइल फोन र चारवटा सिमकार्ड बरामद गरेको छ । साथै, उनको साथबाट थप ठगी गर्ने प्रयोजनका लागि नामावली लेखिएका १५३ जना व्यक्तिहरूको इसेवा आईडी र मोबाइल नम्बरहरू भएको सूची समेत बरामद गरिएको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
अनुसन्धानका क्रममा साह यसअघि पनि दुई पटक यस्तै प्रकृतिको ठगी मुद्दामा पक्राउ परी अदालतबाट धरौटीमा रिहा भएको पाइएको छ ।
प्रहरीले पछिल्लो समय यस्ता ठगीका घटना बढ्दै गएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । यदि कोही व्यक्ति यस प्रकारको ठगीमा परेको भए वा यस्तो गतिविधिबारे जानकारी भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोको ईमेल [email protected] मा उजुरी गर्न ब्युरोले अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८३ १९:४६
