रास्वपा महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गरिने, प्रवासमा रहेका प्रतिनिधिका लागि के छ व्यवस्था ?
असार ५, २०८३ ७:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मसिन (ईभीएम) प्रयोग गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री र छिटो बनाउन भोटिङ मसिन प्रयोग गर्न लागिएको हो ।
बिहीबार पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले भने, “विद्युतीय भोटिङ मसिनको प्रयोग गर्दा दुई दिन लाग्ने मतदान र मतगणनाको कार्य ६ देखि ७ घण्टाभित्रै सम्पन्न हुने प्रतिवेदन प्राप्त भएको छ । यसका लागि आवश्यक कोटेसन र सम्झौताका प्रक्रियाहरू अगाडि बढिसकेका छन् ।” यो प्रविधि केही महँगो देखिए पनि छिटो हुने भएकाले अधिवेशन व्यवस्थापनका हिसाबले सस्तो पर्ने उनले बताए ।
रास्वपाको पहिलो महाधिवेशन ७ देखि ९ असारसम्म चितवनमा आयोजना हुँदैछ । ६ असार साँझसम्म सम्पूर्ण तयारी पूरा गर्ने गरी पार्टीले उपसमितिहरूलाई निर्देशन दिएको उनले बताए ।
महाधिवेशनमा करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त खर्च प्रतिनिधिहरूको दर्ता शुल्क र पार्टी सदस्य तथा शुभचिन्तकहरूको सहयोगबाट जुटाइने महामन्त्री बुर्लाकोटीले बताए । महाधिवेशनमा देशभरबाट २५ सयदेखि तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान छ ।
यस्तै, प्रवासबाट ३८ भन्दा बढी देशका १७० प्रतिनिधिहरू समेत महाधिवेशनमा सहभागी हुने महामन्त्री बुर्लाकोटीले बताए । प्रवासमा रहेका मध्ये केही चितवनमा भौतिक रूपमा नै उपस्थित हुन लागेका छन् ।
उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि ‘इन्टरनेट भोटिङ’ को व्यवस्था गर्ने विषयमा काम भइरहेको छ । तर उक्त प्रणालीको हालसम्म परीक्षण भइनसकेको बताउँदै उनले भने, “प्राविधिक टोलीले काम गरिरहेको छ । सम्भवत: यसको छिट्टै परीक्षण हुन्छ र ८ र ९ गते हुने भोटिङमा सहभागी हुने अवसर प्रदान हुन्छ ।”
पछिल्लो अध्यावधिक: असार ५, २०८३ ९:३४
