विदेशका नेपालीलाई मोबाइलबाट भोट हाल्न दिँदा 'इन्फ्ल्युएन्स' हुने जोखिम रहेछः प्रम बालेन
जेठ १७, २०८३ १४:३१
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले प्रवासमा रहेका नेपाली नागरिकलाई मोबाइलबाट मतदान गर्ने सुविधा दिँदा 'इन्फ्लुयन्स' (प्रभावमा पर्ने) हुने जोखिम रहेको बताएका छन् । आइतबार सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जवाफ दिँदै प्रधामन्त्रीले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकारको विषयमा ध्यानाकर्षण जनाएका हुन् ।
स्वतन्त्र सांसद महावीर पुनको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको मताधिकारका लागि दुई वटा विकल्प रहेको औँल्याए ।
"कि सम्बन्धित देशका राजदूतावासमा गएर मतदान गर्नु पर्यो कि त मोबाइलबाटै मतदानको व्यवस्था मिलाउनु पर्यो," उनले भने, "मोबाइलबाट मतदान गर्न दिँदा इन्ल्युयन्स हुने जोखिम रहेछ । यही कारणले यसअघि अन्तरिम सरकारको पालामा समेत यो विषय अल्झिएको रहेछ ।"
प्रधानमन्त्रीले आगामी चुनावमा यस विषयमा के कसो गर्न सकिन्छ भनेर अध्ययन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १४:३९
