७८% नेपालीसँग छ आफ्नै मोबाइल, ९०% मा नेटवर्क पहुँच पुग्दा ४६% ले मात्रै चलाउँछन् इन्टरनेट
असार १८, २०८३ ६:३७
काठमाडौं । नेपालका ७८ प्रतिशतभन्दा बढी नागरिकको हातमा आफ्नै मोबाइल फोन पुगेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) ले हालै सार्वजनिक गरेको 'आईसीटी डेभलपमेन्ट इन्डेक्स (आईडीआई) २०२६' अनुसार नेपालको ७८.४ प्रतिशत जनसङ्ख्या मोबाइल फोनको पहुँचमा रहेको देखिएको हो ।
आवश्यक तथ्याङ्क उपलब्ध हुन नसक्दा विगत तीन वर्षदेखि विश्वव्यापी सूचकाङ्कको 'वरियता विहीन' सूचीमा रहेको नेपालले यसपटक १०० पूर्णाङ्कमा ६८.१ अंक प्राप्त गरेको छ । प्रतिवेदनअनुसार मोबाइल स्वामित्वको यो दरलाई अन्तर्राष्ट्रिय मापदण्डमा 'नर्मलाइज्ड स्कोर' गर्दा नेपालले १०० मा ८२.५ अंक हासिल गरेको छ ।
आईटीयूले ९५ प्रतिशत नागरिकसँग मोबाइल फोन हुनुलाई उत्कृष्ट अवस्था मानी १०० अंक दिने मापदण्ड तोकेकोमा ७८.४ प्रतिशत पहुँच भएको नेपालले उक्त स्कोर पाएको हो ।
आईटीयूले नेपालको कनेक्टिभिटीलाई दुई मुख्य स्तम्भका आधारमा विश्लेषण गरेको छ । जसमा सेवाको गुणस्तर र नेटवर्क पूर्वाधारलाई समेट्ने 'मिनिङफुल कनेक्टिभिटी' मा नेपालले ८३.७ स्कोर प्राप्त गरेको छ ।
पूर्वाधारतर्फ नेपालको ९० प्रतिशत जनसङ्ख्या थ्रीजी र ८६ प्रतिशत जनसङ्ख्या फोरजी/एलटीई नेटवर्कको पहुँचमा पुगिसकेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्रति १०० जनामा सक्रिय मोबाइल ब्रोडब्यान्ड ग्राहकको सङ्ख्या ९९.६ पुगेको छ ।
यद्यपि, उच्च मोबाइल स्वामित्व र पूर्वाधारको विकासका बाबजुद इन्टरनेटको वास्तविक प्रयोगमा भने अझै ठुलो खाडल देखिएको छ । प्रतिवेदनअनुसार नेपालमा हाल ४६.३ प्रतिशत व्यक्तिले मात्र इन्टरनेट प्रयोग गरिरहेका छन् भने घरधुरीका हिसाबले इन्टरनेटको पहुँच केवल ४०.२ प्रतिशतमा मात्र सीमित छ । यसले पूर्वाधार र उपकरण भए पनि डिजिटल साक्षरता र उपयोगको दर बढाउनु नेपालका लागि मुख्य चुनौती रहेको संकेत गरेको छ ।
सेवाको सुलभताका हिसाबले नेपालको अवस्था निकै सकारात्मक देखिएको छ । मोबाइल डेटा र भ्वाइस बास्केटको सुलभतामा नेपालले ९२.७ अंक र फिक्स्ड ब्रोडब्यान्डको मूल्यमा ८०.८ अंक प्राप्त गरेको छ ।
नेपालले प्राप्त गरेको समग्र ६८.१ अंक विश्वव्यापी औसत ७९ र एसिया–प्रशान्त क्षेत्रको औसत ८० भन्दा केही कम रहे पनि अल्पविकसित देशहरूको औसत स्कोर ५३ भन्दा निकै माथि छ । आईटीयूले सन् २०१७ पछि केही समय रोकिएको र २०२३ बाट नयाँ पद्धतिमा सुरु गरेको यो सूचकाङ्कमा यसपटक देशहरूलाई वरियतामा नराखी स्कोर मात्र प्रदान गरेको छ । सन् २०२७ देखि डिजिटल सीप र अनलाइन सुरक्षालाई पनि इन्डेक्समा थपिने आईटीयूले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८३ ७:५
